अस्पतालदेखि विद्यालयसम्म मुक्तिनाथ विकास बैंकको सामाजिक सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सामुदायिक कल्याणमा टेवा पुर्याउने उद्देश्यले विभिन्न स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा स्थानीय तहलाई स्वास्थ्य तथा खानेपानीसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ ।

बैंकले सामाजिक तथा सरकारी अस्पताल, स्वास्थ्य चौकी र स्थानीय तहमार्फत २६ वटा व्हीलचेयर वितरण गरेको जनाएको छ । यसअन्तर्गत सल्यान जिल्ला अस्पताललाई १० वटा, सल्यानकै त्रिवेणी गाउँपालिकास्थित त्रिवेणी स्वास्थ्य चौकीलाई ३ वटा, मोरङको रंगेली अस्पताललाई १० वटा तथा रुपन्देहीको ओमसतिया गाउँपालिका–१ वडा कार्यालयमार्फत शारीरिक रूपमा फरक क्षमता भएका तथा आवश्यकतामा रहेका व्यक्तिका लागि ३ वटा व्हीलचेयर उपलब्ध गराइएको छ ।

त्यसैगरी, बैंकले मोरङको पथरी नगर अस्पताललाई चार थान तीन–सिटे कुर्सी, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई तीन वटा विद्युतीय पानी डिस्पेन्सर र सल्यानस्थित श्री जनकल्याण आधारभूत विद्यालयलाई चार वटा वाटर प्युरिफायर हस्तान्तरण गरेको छ ।

बैंकले स्वास्थ्य सेवा, शिक्षा र सामाजिक समावेशितालाई प्राथमिकतामा राख्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ । आगामी दिनमा पनि समुदायको दिगो विकास र जनकल्याणमा योगदान पुर्याउने यस्ता कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइने बैंकको भनाइ छ ।

Share News