वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार अस्पतालमा सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. ८५ (घ) अनुसार सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यक्रम कार्यान्वयन गर्दै नारायणी अस्पतालले यो सेवा सञ्चालनमा ल्याएको हो । मन्त्रालयका अनुसार सुलभ फार्मेसीमार्फत अस्पतालमा उपचारका लागि आउने बिरामीले आवश्यक औषधि बजार मूल्यभन्दा सहुलियत दरमा अस्पतालबाटै सहज रूपमा प्राप्त गर्न सक्नेछन् । यसबाट उपचार खर्च घट्नुका साथै गुणस्तरीय औषधिमा सर्वसाधारणको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । यसैबीच, नारायणी अस्पतालमा क्याथ ल्याब मेसिन जडान कार्य पनि सुरु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले शासकीय सुधार कार्यसूचीअनुसार देशभरिका सरकारी अस्पतालमा चरणबद्ध रूपमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यलाई अघि बढाइरहेको जनाएको छ ।
सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई
काठमाडौं । निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ । शुक्रबार (आज) देखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई सञ्चालनमा आएको हो । निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो । मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो । निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न मन्त्रालयमै स्वास्थ्य सेवा इकाई राखिएको मन्त्रालयले जनाएको छ । उक्त सेवा निजामती कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायतका स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछ ।
स्वास्थ्य बीमा बोर्डले भन्यो : अनावश्यक स्वास्थ्य परीक्षण नगराउनू
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमित अनावश्यक स्वास्थ्य परीक्षण नगर्न आग्रह गरेको छ । बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । बोर्डले बीमित नागरिकलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन पनि अनुरोध गरेको हो । । बोर्डले सीमित स्रोतसाधन तथा संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक हजारौं बीमित नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिरहेको जनाएको छ । साथै, उपचारका क्रममा नागरिकले आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने खर्च न्यूनीकरण गर्दै वित्तीय जोखिमबाट संरक्षण गर्न स्वास्थ्य बीमा कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याइरहेको उल्लेख गरेको छ । बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रमको दिगो वित्तीय स्रोत तथा संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी समयमै गर्न कठिनाइ भएको छ । यसबाट सेवा प्रदायक संस्था र बीमित सेवाग्राही दुवै प्रभावित भएको विषयमा बोर्ड जानकार रहेको जनाएको छ । विज्ञप्तिअनुसार चालु आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४८ करोड २१ लाख ८८ हजार १६ रुपैयाँ भुक्तानी गरिसकिएको छ । साथै, २०८२ साल मंसिर मसान्तसम्म स्वास्थ्य बीमा बोर्डमा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी फछ्र्योट भइसकेको बोर्डले जनाएको छ । बोर्डले २०८२ मंसिरपछि परेको दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय र पहल भइरहेको पनि जनाएको छ । यसैबीच, बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमित सेवाग्राहीको उपचारमा कुनै पनि प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निर्धारित मापदण्डअनुसार निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको दिगोपन र प्रभावकारिता कायम राख्न सेवा प्रदायक स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा बीमित नागरिक सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको उल्लेख गरेको छ ।