कोरोनाको खोप विक्री वितरण गर्नेलाई कारवाही

काठमाडाैं । कोरोना भाइरसविरुद्धको खोपको विक्री वितरण गर्नेलाई कारवाही हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप किनबेच गरेकाे पाइएमा कारबाही हुने जनाएको हो । सरकारले नै खोपको व्यवस्था गर्न लागेको भन्दै खोपको बिक्री वितरण गर्ने तयारी गरेको भन्दैअवैध रूपमा बेच्ने र किनेर लगाइएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोरोनाविरुद्धको खोप कहीँ कतै बेचबिखन भइरहेको थाहा पाएको खण्डमा स्थानीय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा खबर गर्न समेत सबैमा मन्त्रालयले आग्रह गरेको छ ।

खाेप खरिदकाे लागि अर्थ मन्त्रालयले दियाे ५ अर्ब रुपैंया निकासाको स्विकृति

काठमाडाैं । नवनियुक्त अर्थमन्त्री जनारदन शर्माले खाेप खरिदकाे लागि ५ अर्ब रुपैंया निकासाको स्विकृति दिएका छन् । मन्त्री शर्माले बुधबार पदबहाली पछि खाेप खरिदकाे लागि स्विकृति दिएका हुन् । शर्माले सरकारकाे प्राथमितकता खाेपमा रहेकाे बताएका छन् । मंगलबार उनी अर्थमन्त्री पदमा नियुक्त भएका हुन् । शर्मालाई देउवाले अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । सर्वोच्च अदालतले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र विघटटित प्रतिनिधिसभालाई पुनःस्थापित गर्न परमादेश जारी गरेको थियो ।

भक्तपुरमा भाेली र पर्सी खाेप लगाइने

काठमाडौं । भक्तपुर नगरपालिकामा भोलि र पर्सि (असार ३० र ३१) कोभिड विरुद्धको खोप लगाइने भएको छ । नगरपालिकाकी उपप्रमुख रजीना जोशीले भक्तपुरमा असार ३० र ३१ गते खोप लगाइने जानकारी दिएकी हुन् । उनका अनुसार भेरोसेल खाेप ५५ वर्ष र सो माथिका उमेर समूहका सबै नागरिकलाई लगाइने छ । नगरपालिकाले खाेप केन्द्रकाे लागि सबैलाई नजिकैकाे वडा कार्यलयमा सम्पर्क गर्नको लागि आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार भेरोसेल खाेप विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने छ । खोप लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र सो नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ । यस्तै सार्वजनिक यातायातका चालक तथा सहचालकहरूको हकमा आधिकारिक परिचयपत्र र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीका आधारमा खोप प्रदान गरिनेछ ।