आजदेखि खाेप अभियान सुरु: ५० वर्ष र सो माथिका उमेर समूहलाई लगाइने

काठमाडौं । सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट आएको भेरोसेल र सोमबार अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि ७७ वटै जिल्लामा लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए । विभागले भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपको लक्षित समूह छुट्याएको छ । उनका अनुसार भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका कोभिडविरुद्ध सबै नागरिकलाई लगाइने छ । यस्तै भेरोसेल विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने छ । नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाइने छ । यसैगरी १५ लाख जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक र हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई लगाइने छ । जोनसन खोपको मात्रा एकपटक मात्र दिएपछि पुग्दछ । मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी र यसअघिको अभियानहरुमा खोप लगाउन छुट भएका सबै जनालाई खोप लगाउने भएको उनले बताए । खोप लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र सो नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ । यस्तै सार्वजनिक यातायातका चालक तथा सहचालकहरुको हकमा आधिकारिक परिचयपत्र र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीका आधारमा खोप प्रदान गरिनेछ । विश्वविद्यालय र विद्यालयका शिक्षक एवं कर्मचारीहरुको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचयपत्रका आधारमा, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकको हकमा पासपोर्ट र भिसाका आधारमा तथा पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिकको हकमा नेपाल सरकारले जारी गरेको प्रमाणपत्रका आधारमा खोप प्रदान गरिने मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कूल जनसङ्ख्याको ८.८ प्रतिशत जनसङ्ख्या अर्थात् २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा र ३।५ प्रतिशत अर्थात् १० लाख ४१ हजार ३६६ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् ।

भरतपुरमा भेटियो डेल्टा भेरियन्ट, बढी सङ्क्रामक रहेको पुष्टि, सतर्कता अपनाउन आग्रह

चितवन । भरतपुरमा कोरोना भाइरस-१९ को ‘डेल्टा भेरियन्ट’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएकामध्ये दुई नमूनामा नयाँ भरियन्ट पत्ता लागेको हो । सो अस्पतालका प्रयोगशालामा पोजेटिभ देखिएका पाँच नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो । अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गरी यसरी पठाइएका नमूना मध्ये दुई नमूनामा डेल्टा प्रमाणित भएको जनाएको छ । अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा यसरी पठाइएका नमूना भरतपुर महानगरपालिकाभित्रका भएको जनाइएको छ । कोरोनाको पहिलो लहरको अल्फा भेरियन्टभन्दा कोरोनाको डेल्टा भेरियन्ट बढी सङ्क्रामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको वरिष्ठ कन्सल्टेन्ट फिजिसियनसमेत रहेका उनले जानकारी दिए । डेल्टा भेरियन्टले बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका व्यक्तिलाई उच्च सङ्क्रमण गर्ने र फोक्सोमा बढी असर पार्नसक्ने क्षमता भएको विज्ञले बताएका छन् । विज्ञप्तिमा सम्पूर्ण नागरिकलाई त्रसित नभई उच्च सतर्कताका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिलसमेत गरिएको छ ।

भेरोसेल र जोनसन खोप भोलिबाट लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीन तथा अमेरिकाबाट ल्याइएको कोरोना विरुद्धको खोप भोलिबाट लगाइने बताएकाे छ । मन्त्रालयले कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको १५ लाख डोज खोप र चीनबाट ल्याइएको ८ लाख डोज खोप भोलीबाट लगाइने बताएको हो । मन्त्रालयले खोप अभियानका नै सञ्चालन गर्ने भन्दै लक्षित उमेर समूहसमेत तोकेको छ । खोप अभियान ७७ वटै जिल्लामा सञ्चालन गरिने भएको छ ।