चीनबाट साउन १५ गतेभित्र ३२ लाख खोप ल्याइने, कोभिशिल्डको दोस्रो मात्रा पनि चाँडै

काठमाडाैं । सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र ल्याउन लागिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चीनबाट खरिद गरिएको खोप निगमको जहाजबाट नियमित ल्याउन थालिएको जानकारी दिए । गत असार २५ गतेदेखि चीनबाट खरिद भएको खोप ल्याउन शुरु गरिएकामा पुनः आगामी बुधबार (यही ६ गते साउन) जहाज चीनतर्फ जाने भएको उहनमित खोप ल्याउने छ । उनका अनुसार चीनसँग खरिद गरिएको खोप लिन यही साउन ७ गते पौनै ६ः०० बजे गएर अर्काे दिन अर्थात् साउन ७ गते बिहान खोप लिएर जहाज नेपाल आउने छ । यस्तै साउन ७ गते पुनः जहाज गएर ८ गते र ९ गते १० गते खोप नेपाल ल्याइने छ । यसअघि असार २५ गते आठ लाख खोप चीनबाट आएको थियो । छिट्टै कोभिशिल्डको दोस्रो मात्रा यस्तै मन्त्रालयले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राको खोप दिने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा छिट्टै दिइने बताए । उनले खोप केही दिनमा नै प्राप्त हुने जनाउँदै खोपको प्रतिक्षा गरिरहेका सबै ज्येष्ठ नागरिकलाई दोस्रो खोप दिइने बताए । उनले कोभिशिल्डको दोस्रो मात्राका रूपमा जापान सरकारले उपलब्ध गराउने एस्ट्राजेनिका खोप लगाइने बताए । जापान सरकारले नेपाललाई कोभ्याक्समार्फत १६ लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गरेको छ । भारतको सिरम इन्स्टिच्युट कम्पनीले सरकारले खरिद गरेको कोभिशिल्ड खोप उपलब्ध नगराएपछि ज्येष्ठ नागरिकले खोप लगाउन नपाएका हुन् । गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्षमाथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाइएको थियो । मन्त्रालयले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी तथा एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने बताए । कोभ्याक्समार्फत नेपालले कहाँ–कहाँबाट खोप पायाे ? नेपालका ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सोहीअनुसार अहिले विभिन्न देशले कोभ्याक्समार्फत नेपाललाई खोप उपलब्ध गराइरहेका छन् । अहिलेसम्म भारत, चीन, अमेरिका, जापानलगायत देशले कोभ्याक्समार्फत नेपाललाई खोप उपलब्ध गराइसकेका छन् । नेपालले असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग प्राप्त गरेको हो । यसअघि कोभ्याक्स सुविधामार्फत भारतबाट कोभिशिल्ड खोप तीन लाख ४८ हजार मात्रा खोप प्राप्त भएको थियो । यस्तै जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । यसैगरी स्वास्थ्य सेवा विभागका खोप तथा बाल स्वास्थ्य शाखाका प्रमुख डा झलक शर्मा गौतमले कोभ्याक्समार्फत थप खोप आउन थालेको जानकारी दिए । कोभ्याक्समार्फत तीन लाख ५० हजार खोप आउन थालेको हो । मन्त्रालयले चीन र अमेरिकाले उपलब्ध गराएको खोप प्राथमिकताका आधारमा लगाएको छ । चीन र अमेरिकाबाट प्राप्त भएको खोप असार २९ देखि साउन १ गतेसम्म लगाइएको थियो । भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूह तथा जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई लगाइएको छ । नेपालमा अहिलेसम्म पहिलो मात्रा २७ लाख ६५ हजार ७०९ र दोस्रो मात्रा ११ लाख २० हजार २८२ व्यक्तिले लगाइसकेका छन् । सरकारले १८ वर्षभन्दा माथिका कूल दुई करोड २० लाख जनसङ्ख्यालाई निःशुल्क खोप लगाउने लक्ष्य लिएको छ ।

आज र भाेलि ललितपुरमा ५५ वर्ष माथिकालाई खोप लगाइने

काठमाडौं । आजदेखि ललितपुर महानगरपालिकामा ५५ वर्षदेखि माथिका उमेरलाई खोप लगाउन शुरु गरिएको छ । महानगरका जनस्वास्थ्य प्रमुख खगराज गलालले साउन २ र ३ गते ललितपुर जिल्लामा ५५ वर्षदेखि माथिकालाई खोप लगाउने जानकारी दिएका हुन् । गलालको अनुसार ५५ वर्ष र सो माथिका उमेर समूहलाई कोभिडविरुद्धकाे भेरोसेल खाेप लगाउने प्रावधान रहेको छ । खोप लगाउने स्थान हरेक वडामा रहेका उनले बताए ।

थप १ हजार ७७५ जना संक्रमणमुक्त, थपिए २ हजार ९३६ जना

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७७५ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार उक्त संख्यामा संक्रमणमुक्त भएका हुन । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार १८२ नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा संक्रमण पुष्टि भएको हो । देशभर हालसम्म २६ हजार ८२७ जना सक्रिय संक्रमित छन् भने शुक्रबार ४३ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा ५४१ जना संक्रमति थपिएका छन् । जसमध्ये काठमाडौंका ३४३, भक्तपुरमा ६२ र ललितपुरमा १३६ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।