नर्भिककाे अध्यक्षमा सिंह र सीइओमा मिश्र नियुक्त

राजेन्द्रबहादुर सिंह, अजयकुमार मिश्र काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ । अस्पतालको संचालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षमा नियुक्त सिंह यसअघि नर्भिक अस्पतालको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । उनलाई बढुवा गरी संचालक समितिको अध्यक्ष बनाइएको हो । अध्यक्षमा नियुक्त सिंह विगत एक दशकभन्दा लामो समयदेखि नर्भिकमा आवद्ध छन् । उनी नर्भिकमा आउनुअघि नेपाल प्रहरीको एआइजीबाट अवकाश प्राप्त व्यक्ति हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए, अमेरिकाको भर्जिनियास्थित एफबीआई अकाडेमीबाट ग्राजुएसन, क्रिमिनल जस्टिस एण्ड पोलिस म्यानेजमेन्ट विषयमा यूकेबाट पोस्ट ग्राजुएट सर्टिफिकेट लेभलको अध्ययन पूरा गरेका छन् । यसैगरी, नर्भिक अस्पतालको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा नियुक्त अजय मिश्र कुशल बैंकर तथा व्यवस्थापकको परिचय बनाएका व्यक्ति हुन् । उनी एक कुशल विश्लेषक तथा बैंकहरुको मर्जर विज्ञ समेत हुन् । उनी यसअघि यूनाइटेड फाइनान्सको सीइओको रुपमा कार्यरत थिए । यूनाइटेड फाइनान्सलाई नबिल बैंकमा सफल रुपमा मर्ज गराएर एकीकृत कारोबारसँगै उनले करिअरको १६ वर्ष समय बिताएको बैंकिङ्ग सेक्टरबाट अवकाशको घोषणा गरेका थिए । मिश्रसँग गोर्खा फाइनान्स, सिद्धार्थ डेभलपमेन्ट बैंक, जनता बैंक लगायतका आधा दर्जन बित्तीय संस्थामा काम गरेको अनुभव छ। बैंकिङमा आउनुअघि मिश्रले नेपाल सरकार, यूएनडिपी, प्लान इन्टरनेशनल, नेपाल टेलिभिजन लगायतमा काम गरेका थिए । यी संस्थाहरुमा उनको नन्बैंकिङ करिअरको १६ वर्ष व्यतित भएको थियो । मिश्रले काठमाडाैं युनिभरसिटीबाट विजिनेश एडमिनिस्ट्रेसनमा एमफिल(प्राचार्य)सम्मको अध्ययन पूरा गरेका छन् । नर्भिकको नेतृत्व परिवर्तन भए पनि मुख्य लगानी भने बिएलसी होल्डिङ्सकै कायम रहने अस्पतालले जनाएकाे छ ।

चितवन मेडिकल कलेजमा दाेस्राे कलेजो प्रत्यारोपण पनि सफल

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सफलतापूर्वक भएको छ । जाजरकोट जिल्ला कुशे गाउँपालिका–९ का ४७ वर्षीय भरतविक्रम शाहीको कलेजका चिकित्सकले अठार घण्टा लगाएर शाहीलाई कलेजो प्रत्यारोपण गरिएको हो । कलेजद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कलेजका कार्यकारी निर्देशक प्रताप देवकोटाले शाहीलाई उनीकी धर्मपत्नी कमलादेवीले ६० प्रतिशत कलेजो प्रदान गरेका थिए । अस्पतालका विषेशज्ञ चिकित्सक सर्जन डा सञ्जयकुमार यादव, डा एकानन्द सिंह, डा जयन्तकुमार शाह, हेपाटोलोजी डा सागर पौडेल, डा वरुण श्रेष्ठ, एनेस्थेसिया डा किरण अधिकारी, डा नवीन यादव, डा सुरेश गौतम, डा वीरेन्द्र राउत, रेडियोलोजिष्ट डा दीपक अधिकारी, डा सुवास ओझासहितका टोली प्रत्यारोपणमा सहभागी थिए । प्रत्यारोपणमा भारतको एपोलो अस्पतालका विषेशज्ञ चिकित्सकको सहभागिता रहेको थियो । कार्यकारी निर्देशक देवकोटाका अनुसार सिरोसिस् अफ लिभरको सी चरणमा पुगेका बिरामीलाई कलेजो प्रत्यारोपण गरिएको हो । काठमाडौंमा कलेजोको जाँच तथा उपचार गराउँदै आएका शाही दुई साताअघि मात्रै चितवन मेडिकल कलेज आएकी जनाइएको छ । सिरोसिस् अफ लिभरको ‘ए’ ‘बि’ ‘सि’ चरणमध्ये शाही ‘सी’ चरणमा पुगेको जनाउँदै डा यादवले भने, ‘गत फागुनमा ‘सि’ चरणमा पुगेका शाहीलाई प्रत्यारोपण नगराएको भए थप जीवन रहन मुस्किलपर्ने अवस्था थियो ।’ शाहीका पेटमा पानी भरिएको र ठूलो भएको थियो । उनले भने, ‘अल्कोहलका कारण कलेजो बिग्रिएको त थियो नै, हेपाटाइटिस ‘बि’ पनि बिरामीमा थियो ।’ कलेजलो दाता कमलादेवीको स्वास्थ्यमा सुधारपछि उनीलाई यही असार २७ गते नै अस्पतालबाट घर पठाइएको छ । शाहीको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको चिकित्सक यादवको भनाइ छ । उनले भने, ‘अहिलेकै गतिमा सुधार भए आगामी साता उहाँलाई समेत घर पठाउन सकिने अवस्था छ ।’ उनले अगाडि भने, ‘दुई देखि तीन महिनामा दुबै जनामा कलेजोको अवस्थामा वृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाएर आउछ । उनीहरू दुवै जना सामान्य जीवन बिताउन सक्नुहुन्छ ।’ पत्रकार सम्मेलनमा हेपाटोलोजी डा. पौडेलले प्रत्यारोपणका क्रममा झण्डैं १३ युनिट रगत खर्च भएको जानकारी दिए । सो कलेजले दोस्रो प्रत्यारोपण सफल गरेको हो । उनले अघिल्लो प्रत्यारोपणमा एक/दुई युनिट रगतले नै पुगेको बताए । बिरामी शाहीको कलेजोमा रगत जानै नसक्ने ‘ब्लकेज’ अवस्थामा रहेको जनाउँदै उनले भने, ‘सिरोसिस् भएका १० देखि १५ प्रतिशत बिरामिमा यस्तो समस्या हुन्छ ।’ कलेजोको अन्य समस्या भएपछि गरिने प्रत्यारोपणमा भन्दा यस्तो समस्यामा प्रत्यारोपण गराउनु निकै जटिल भएको उनको भनाइ छ । यस अस्पतालमा हाल दैनिक १५ कलेजोका बिरामी उपचारका लागि आउने गरेको सो अवसरमा जानकारी गराइयो । तीमध्ये १० देखि २० प्रतिशत बिरामीको कलेजो प्रत्यारोपण गर्नुपर्ने देखिने गरेको छ । कलेजले यसअघि काठमाडौँकी धनकुमारी तामाङ्को कलेजो प्रत्यारोपण गरेको थियो । रासस

‘कोरोना गार्ड’ प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना गार्ड’ प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने जनाउँदै बिक्रीमा ल्याइएको कोरोना गार्ड नकिन्न आग्रह गरेको हो । मन्त्रालया सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना गार्डले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा कुनै काम नगर्ने भएकाले त्यस्ता भ्रमपूर्ण गार्ड नकिन्न आग्रह गरेका हुन् । ‘विज्ञापनमा गरिए जस्तो यस्तो यन्त्रले कोभिड–१९ भाइरसलाई निष्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउनु नपर्ने भन्ने कुरा भ्रामक र तथ्यहीन छ,’ उनले भन], ‘अहिलेसम्म कोभिड–१९ लाई यसरी नियन्त्रण गर्ने कुनै प्रविधिको विकास भएको छैन ।’ गत वर्ष पनि कोरोनाको भाइरसबाट जोगाउनको लागि ‘भाइरस रिमुभिङ कार्ड’ प्रयोग गरिएकोमा मन्त्रालयले उक्त कार्ड प्रयोग नगर्न आग्रह गरेको थियो । उक्त कार्डले कोरोना भाइरस सङ्क्रमणबाट नजोगाउने उल्टै मुटु, फोक्सोलगायतमा गम्भीर असर पार्नसक्ने बताइएको थियो । मन्त्रालयले कोरोना भाइरसबाट बच्नका लागि एकमात्र उपाय खोप लगाउने, मास्कको सधैँ प्रयोग गर्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड लागू गर्ने बताएको छ । यस्तै मन्त्रालयले निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमणको जोखिम बढेकोले स्वास्थ्यका मापदण्ड प्रयोग गर्न सबैलाई आग्रह गरेको छ । मन्त्रालयले सङ्क्रमणबाट बच्न सुरक्षाका सबै उपाय अपनाई व्यापार गर्न समेत आग्रह गरेको छ ।