आईतबार १५ सय बढीले जिते कोरोना, संक्रमणदर अझै उच्च

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालभर थप १ हजार ५३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार सार्वजनिक गरेको तथ्यांक अनुसार १ हजार ५३३ जना निकाे भएका हुन् । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २१८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ८३१ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयको तथ्यांक अनुसार ५ हजार ५३५ जना पिअिसार परीक्षण गर्दा १ हजार २३७ र ३ हजार ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा ५९४ जनामा संक्रमण पुष्टि भएको हो । यसरी पछिल्लाे २४ घण्टाकाे परीक्षण नतिजा हेर्दा संक्रमणदर २२.३ प्रतिशत रहेकाे मन्धालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ।

छाउनी अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरु

काठमाडौं । वीरेन्द्र अस्पताल छाउनीमा काठमाडौं महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा उक्त सेवा सुरु भएको हो । उक्त सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, ८ ओटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गर्न महानगरले अस्पताललाई ३ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ । यससम्बन्धि सहकार्यका लागि महानगरपालिका र अस्पतालबिच वि. सं. ०७६ पुस २ गते सम्झौता गरेको थियो । सम्झौता ५ वर्षका लागि गरिएको थियो । सम्झौता अनुसार जडान गरिएका ८ वटा हेमोडायलाइसिस मेसिनबाट रहेक हप्ता दुई सिफ्टमा सेवा सञ्चालन गर्न सकिन्छ । तत्कालका लागि ४८ जना विरामीलाई साताको २ पटक सेवा प्रदान सकिन्छ । अस्पतालका प्रमुख सहायक रथी डाक्टर अरुण शर्माका अनुसार अस्पतालमा उक्त सेवा लिन आउने विरामीले महानगरले दिएको शिफारिसका साथ आउनुपर्छ । सेवा विपन्न र सेरोनेगेटिभ दीर्घ चरणको मृगौला रोगी, क्रोनिक किड्नी डिजिज स्टेज –५ पुगिसकेकाहरुका लागि हो । मिर्गौलाले काम नगरेको अवस्थामा शरीरमा जम्मा भएको दुषित पदार्थहरु सरीरबाट बाहिर निकालेर स्वस्थ बनाउने विधि डायलाईसिस हो । ‘काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै अस्पताल सञ्चालन गर्ने उल्लेख गरेको छ । ‘तर, तत्कालका लागि त्यो सम्भव नभएपछि हामीले जोसँग विशेषज्ञ सेवा छ, उसैसँग सहकार्य गरेर महानगरवासीलाई स्वास्थ्य सेवा दिने प्रयास गरेका हौँ ।’ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘ हामीले यस अघि पनि नेपाली सेनासँगको सहकार्यमा सरसफाइ, वृक्षारोपणलगायतका काम गरेका छौँ । अहिले सञ्चालन गरेको यो सेवासँगै अस्पतालबाट महानगरवासीले हेमोडाइलाइसिसको सहज र स्तरीय सेवा प्राप्त गर्नेछन् भन्नेमा विश्वस्त छु ।’ प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाले मिर्गौला सम्बन्धी रोग लाग्नु भन्दा अगावै त्यसलाई रोक्न वा रोग लागिसकेको भए थप बिग्रन नदिन यसै वर्षदेखि ‘स्वस्थ मिर्गौला–स्वस्थ काठमाडौं’ कार्यक्रम सुरु भइसकेको बताए । उनका अनुसार मिर्गौला बचाउ अभियान नामक संस्थासँग सहकार्य गरी महानगरपालिकाका ३२ वटै वडाहरूमा उक्त कार्यक्रम सञ्चालन गरिएको छ । महानगरले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, त्रि.वि. शिक्षण अस्पताललाई १०, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५, छत्रपाटी निःशुल्क चिकित्सालयलाई ४, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ३, महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २, हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताललाई २, जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौं मोडल अस्पताललाई २ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २ थान भेन्टिलेटर सहयोग गरिसकेको छ । यस्तै महानगरपालिकाले खर्च व्यहोर्ने गरी छत्रपाटीस्थित निःशुल्क चिकित्सालयलाई ३५ शैयाको विशेष कोभिड अस्पताल बनाइएको छ । एक सय वर्ष भन्दा पनि पुरानो अस्पताल नरदेवी आयुर्वेदिक अस्पताललाई पनि आइसोलेसन सेन्टरका रुपमा विकास गरिएको छ । हाल देशभरिका ६५ वटा अस्पतालहरूमा चालु रहेका ४ सय ९८ वटा डायलासिस मेसिनबाट ३ हजार ५ सय १६ जना विपन्न वर्गका विरामीहरूले निःशुल्क हेमोडायलाइसिस सेवा प्राप्त गरिरहेको तथ्याङ्क छ । निःशुल्क डायलाइसिस गर्दा राज्यले प्रति विरामी वार्षिक २ लाख ६० हजार रुपैयाँ खर्च व्यहोरिरहेको छ । नेपालमा हरेक वर्ष २ हजार ६ सय जना मिर्गौलाका नयाँ विरामीहरू थपिरहेको सरकारी तथ्यांक छ ।

वार्षिक २ खर्ब १७ अर्ब डलरको कोभिड खोप बजार, नेपाल नै ७३ अर्ब ७८ करोड रुपैयाँको

काठमाडौं । सन २०१९ को अन्तिम महिनादेखि देखापरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप तयार भइसकेको छ । खोप निर्माणमा विश्वका महाशक्ति देश अमेरिकादेखि बेलायत, रसिया, भारत, चीन, दक्षिण कोरिया जस्ता देशहरु खोप निर्माण गरिरहेका छन् । भारत र कोरियाले अक्सफोर्ड विश्वविद्यालयको एस्ट्रेजेनेकाको खोप उत्पादन गरिरहेका छन् भने अन्य देशले आफ्नै खोप बनाइरहेका छन् । अहिले विश्वभर फाइजर बायोटेक, मोडेर्ना, एस्ट्रेजेनका (कोभिशिल्ड लगायत), जोन्सन एण्ड जोन्सन, स्पुतनिक–५, सिनोभ्याक्स (भेरोसेल), नोभाभ्याक्स र भारत बायोटेकका खोप प्रयोगमा छन् । कोभिड महामारीले विश्वमा ठूलो परिमाणको जनधनको क्षति पुर्याइसकेको छ । कोभिड महामारीबाट मुक्ति पाउने एकमात्र उपाय यस विरुद्धको खोप हो भन्नेमा अब दुईमत छैन । तर, खोप खरिदका लागि ठूलो परिमाणको धनराशी खर्च गर्नुपर्ने बाध्यता पनि आइलागेको छ । खोप उत्पादक कम्पनीहरुमध्ये केहीले अझै पनि खोपको मूल्य सार्वजनिक गरिरहेका छैनन् । संसारभरकै सरकारहरु खोप किनेर आफ्ना नागरिकलाई लगाउन हतारिएका भएपनि खोपको उपलब्धता र मूल्यमा पारदर्शिता नभएको कारण अन्योलको अवस्था कायमै छ । कोभिड विरुद्धको खोपमध्ये केहीको दुई मात्रा र केहीको एक मात्रा लगाए पुग्ने बताइएको छ । एक पटक मात्रा पुर्याएर खोप लगाएपछि फेरि कति समयपछि खोप लगाउनु पर्छ वा दोहोर्याउनै पर्दैन भन्ने बारेमा पनि यकिन भइसकेको छैन । विश्व बजार २ खर्ब १७ अर्ब डलरको पपुलेसन म्याटर्स डट ओआर्जीका अनुसार अहिले विश्वको जनसंख्या ७ अर्ब ८८ करोड ४९ लाख भन्दा बढी छ । यस्तै, स्टाटिस्टा डटकमका अनुसार १४ वर्षभन्दा कम उमेरको जनसंख्या १ अर्ब २ करोडको हाराहारीमा छ । कोभिड विरुद्धको खोप १२ वर्षभन्दा कम उमेरका व्यक्तिहरुलाई मात्रै लगाइएको छैन । यो तथ्यांकलाई हेदा विश्वको करिब ७ अर्ब मानिसलाई कोभिड विरुद्धको खोप लगाउनु पर्ने देखिन्छ । बायोस्पेस डटकमले अहिले लगाइरहेको कोभिड विरुद्धका खोपको मूल्य उल्लेख गरेको छ । बायोस्पेस डटकमका अनुसार फाइजरको मूल्य प्रतिडोज १९.५ अमेरिकी डलर, मोडेर्नाको प्रतिडोज २५ देखि ३८ (औसतमा ३१) डलर, एस्ट्रेजेनेकाको प्रतिडोज ५ डलर, जोन्सन एण्ड जोन्सनको प्रतिडोज १० डलर, स्पुतनिक–५ को प्रतिडोज १० डलर, सिनोभ्याक्स (भेरोसेल) को प्रतिडोज ३० डलर र भारत बायोटेकको प्रतिडोज २ अमेरिकी डलर मूल्य रहेको छ । यीमध्ये जोन्सन एण्ड जोन्सनको एक डोज मात्रै खोप लगाए पुग्छ भने अन्य सबै खोप २ डोज लगाउनु पर्छ । एक डोजका दरले मात्रै हिसाब गर्दा पनि विश्वभरका करिब ७ अर्ब मानिसलाई कोभिड विरुद्धको खोप लगाउन १४ अर्ब डोज खोप चाहिन्छ, जसको मूल्य करिब २ खर्ब १७ अर्ब अमेरिकी डलरभन्दा बढी हुन आउँछ । खोपको मूल्य प्रतिडोज औसतमा ३१ अमेरिकी डलरका दरले हिसाब गर्दा २ खर्ब १७ अर्ब अमेरिकी डलर बराबर निस्किएको हो । नेपाल नै ७३ अर्ब रुपैयाँको बजार केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या करिब ३ करोड छ । यसमध्ये १४ वर्षभन्दा कम उमेर समहुको जनसंख्या करिब ९२ लाख छ । करिब २ करोड जनतालाई प्रतिडोज ३१ अमेरिकी डलरका दरले किनेर दिने हो भने ६२ करोड डोज खोप आवश्यक पर्छ । यो खोपको मूल्य प्रतिडोज ३१ अमेरिकी डलरका दरले आजको विनियमदर (प्रतिडलर ११९ रुपैयाँ) अनुसार ७३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी हुन आउँछ । तर, नेपालले विभिन्न मित्रराष्ट्र तथा छिमेकी दशहरुबाट सित्तैमा पाएको र कोभ्याक्स सुविधा अनुसार पनि निःशुल्क खोप पाएकोले सो बराबरको रकम खर्च गर्नु नपर्ने हुन सक्छ ।