संघीय राजधानीमै घटेन खोप लगाउनेको भीड
काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको खोपको सहज उपलब्धता गराउँदै व्यवस्थित रुपले लगाउने भनिरहे पनि संघीय राजधानीमै खोप लगाउनेहरुको भीड घटेको छैन । राजधानी काठमाडौंमा कोभिड-१९ विरुद्धको खोप लगाउने खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड बढिरहेको छ । अव्यवस्थित रुपले खोप कार्यक्रम सञ्चालन गरिँदा खोप केन्द्रबाटै कोभिड संक्रमणको जोखिम पनि बढेको छ । काठमाडौंमा विभिन्न खोप केन्द्रहरुबाट खोप निरन्तर लगाइएको छ, जहाँ लक्षित समुहका मानिसहरुको खोप लगाउन भीड लागेको छ । दिनभरी लाइनमा बस्दा पनि कतिपयले खोप लगाउन नपाएको गुनासो समेत गरेका छन् । अर्कोतर्फ नागरिकले आफुहरुले खोप लगाउन नपाएको पनि बताएका छन् । थापाथलीस्थित प्रसुतिगृह खोप केन्द्रमा खोप लगाउन पुगेका सर्वसाधारणले आफुहरुले खोप लगाउन नपाएको गुनासो गरेका छन् । खोप लगाउन पुगेका गोपाल खनालले आफुलाई बिहानभरी लाइन बस्दा पनि खोपबाट वञ्चित गराईएको बताए । सरकारले १८ वर्ष माथिका सम्पूर्ण नागरिकलाई निर्विवाद खोप लगाउने व्यवस्था मिलाउनुपर्ने उनले बताए । लक्षित समुह भनेर सरकारले नागरिकहरुलाई विभेद गरेको उनको भनाई छ । पहुँचवालाले खोप लगाउन पाउने र अरुले लगाउन नपाउने अवस्थाको अन्त्य गर्न उनले सरकारसँग माग गरेका छन् ।
३ हजार ३८३ संक्रमति थपिए, १ हजार ९९४ संक्रमणमुक्त
काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३ हजार ३८३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार कुल १६ हजार ७१८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। जसमध्ये ६३८ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ४४८ जना र एन्टिजेन विधिबाट ६ हजार ८० गर्दा ९३५ मा संक्रमण पुष्टि भएको हो । यस्तै, थप २४ जनाको संक्रमणका कारण मृत्यु भएको छ। योसहित मृत्यु हुनेको संख्या ९ हजार ९ सय २२ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार ९९४ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ६० हजार १ सय १६ पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ रहेको छ।
कोरोना संक्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहुँ जसो बिरामी बढेका हुन् । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल), शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, पाटन अस्पताल, शिक्षण अस्पताललगायत संस्थामा बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । दैनिक सङ्क्रमित बढेपछि कोभिड-१९ उपचारका लागि छुट्याइएका सघन उपचारकक्ष (आइसीयु), हाइडिपेन्डेन्सी युनिट (एचडीयु), भेन्टिलेटर र साधारण शय्या भरिएका छन् । सशस्त्र प्रहरी बल अस्पतालका डा प्रवीण नेपालले अस्पतालका सबै शय्या भरिएको जानकारी दिए । उनका अनुसार १० दिन यतादेखि बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्या भरिएका हुन् । ‘सङ्क्रमितहरु आउने क्रम बढेकाले हामीसँग भएका २०० शय्या भरिन्छन् होला’, उनले भने, ‘अहिले बिरामी पनि पहिलेका जस्तै श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने समस्या रहेको छ ।’ उनका अनुसार आइसीयूमा २०, एचडीयूमा ५० र साधारण शय्यामा १३० जना बिरामी रहेका छन् । अहिले सङ्क्रमणको दोस्रो लहर चलिरहेको छ । दोस्रो लहर गत चैतबाट शुरु भएको हो । दोस्रो लहरसँगै बिरामी बढ्न थालेका हुन् । दोस्रो लहरमा सङ्क्रमितलाई ज्वरो आउने, निमोनिया हुने, श्वासप्रश्वासमा समस्या आउनेजस्ता समस्या देखिएको छ । सङ्क्रमणको दोस्रो लहर गत वैशाख अन्तिम सातामा उच्च विन्दुमा पुगेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निषेधाज्ञा खुला राखेर जनस्वास्थ्यका मापदण्ड लागू नगरेमा असोज १५ पछि सङ्क्रमणको तेस्रो लहर आउने चेतावनी दिएको छ । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा जागेश्वर गौतमले विगत दुई हप्तादेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बताए । उनले निषेधाज्ञा खुकुलो भएको, भीडभाड बढेको र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा बिरामी बढ्दै गएको बताए । उनका अनुसार अस्पतालमा १०० बिरामी रहेका छन् । तीमध्ये ३५ जना आइसीयू र चार जना भेन्टिलेटर र अन्य एचडीयूमा रहेका छन् । सङ्क्रमित बढ्ने जोखिमलाई ध्यानमा राखेर अस्पतालले एक हजार शय्या तयारी अवस्थामा राखेको उनको भनाइ छ । यहाँ एक सय आइसीयू र १०० भेन्टिलेटर रहेका छन् । उनले सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि अस्पतालमा २० टनको तरल अक्सिजन र दुईवटा अक्सिजन प्लान्ट जोडिएको जानकारी दिए । यस्तै, थप एकवटा अक्सिजनको प्लान्ट जोड्ने तयारीमा अस्पताल रहेको छ । शुक्रराज अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले निषेधाज्ञा खुलेसँगै बिरामी बढ्दै गएको बताए । उनका अनुसार अहिले २२ जना आइसीयू, २० भेन्टिलेटर र ३५ जना कोभिड-१९ शय्यामा रहेका छन् । यस्तै पाटन अस्पतालका कोभिड-१९ सम्पर्क व्यक्ति डा आशिष श्रेष्ठका अनुसार कूल १५१ बिरामीमध्ये २१ आइसीयूमा र १० भेन्टिलेटरमा रहेका छन् । यस्तै विगत २४ घण्टामा पाटन अस्पतालमा २२ सङ्क्रमित भर्ना भएका छन् । पाटनमा ३० आइसीयू, १५ भेन्टिलेटर शय्या रहेका छन् । काठमाडौं उपत्यकामा आठ हजार ८९५ सक्रिय सङ्क्रमित रहेका छन् । देशभरि १५७ अस्पताल कोभिड-१९ का लागि सूचीकृत गरिएका छन् । ती अस्पतालमा दुई हजार ६०० आइसीयू रहेका र ६३० थप गर्ने प्रक्रियामा छन् । यस्तै ९०० भेन्टिलेटर र दुई हजार ७५ एचडीयू रहेका छन् । उपत्यकाका सरकारी अस्पतालमा ३११ आइसीयू र १३९ भेन्टिलेटर र साधारणसँगै एचडीयू दुई हजार ६६ शय्या रहेका छन् । देशभरिमा ६९० जना आइसीयु र १७५ भेन्टिलेटर, तीन हजार २२४ जना संस्थागत आइसोलेशन र २८ हजार ४०५ जना होम आइसोलेशनमा रहेका छन् । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले शय्या भरिन थालेको बताए । उनले अहिले १२२ जना सङ्क्रमित बिरामी उपचाररत रहेको जानकारी दिए । तीमध्ये ९१ जना साधारण शय्यामा, अक्सिजन दिएर आइसीयूमा ११ र भेन्टिलेटरमा १८ र दुई जना आकस्मिक सेवामा उपचार गराइरहेका छन् । उनले बिरामी आउन थालेकाले अब २२ वटा साधारण शय्या र एक वटा मात्र आइसीयू शय्या खाली रहेका बताए । अस्पतालमा १४५ शय्या कोभिड-१९ का सङ्क्रमितका लागि छुट्याइएको छ । त्रिवि शिक्षण अस्पतालमा पाँच एचडीयु र २२ आइसीयू बालबालिकाका लागि छुट्याइएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भीडभाड बढेकाले सङ्क्रमितसँगै बिरामी पनि बढेको बताए । ‘अहिले केही दिनयता समाजमा सङ्क्रमण बढेका पाइएको छ’, उनले भने, ‘सङ्क्रमितहरु दिनप्रतिदिन बढेका छन् ।’ उनले निषेधाज्ञा खुकुलो भए पनि सबैले जनस्वास्थ्यका मापदण्ड लागू गर्न आग्रह गरे । रासस