‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने सरकारको तयारी, ल्याक्टोजिनको विज्ञापन गर्नेलाई कारवाही

काठमाडाैं । सरकारले ‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आईतबार पत्रकार सम्मेलन गरी थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पतालमा सो बैंक स्थापना गर्ने तयारी गरिएको जानकारी गराएको हो । जन्मेदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्य रुपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न सो बैंक स्थापना गर्न लागिएको महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले जानकारी दिए । ‘कम दूध आउने आमाका शिशुलाई चिकित्सकहरुको सल्लाहमा आमाकै दूधको व्यवस्था गर्न सरकारले ‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने तयारी गरेको हो ।’ विश्व स्तनपान सप्ताहको शुभारम्भ कार्यक्रमको अवसरमा आयोजित सो पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘जुन आमाको दूध तत्काल आउँदैैन वा कमी छ, त्यस्ता बच्चालाई सो बैंकमा राखिएको दूधको व्यवस्था गर्नेछौं । सो बैंक यसै वर्ष काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा स्थापना गरिनेछ ।’ शाखाले सो बैंकमा दूध राख्नका लागि करिव १ करोडको मेसिन खरिद गर्ने तयारी गरिएको पनि जनाएको छ । कार्यक्रममा आमाको दूधलाई विस्थापित गर्ने गरी आएको ‘ल्याक्टोजिन’को विज्ञापन नगर्न, नगराउन पनि सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ । शाखाका प्रमुख पराजुलीले ल्याक्टोजिनको विज्ञापन गरेको पाईए कडा कारवाही गर्ने चेतावनी समेत दिए । आजबाट सुरु भएको विश्व स्तनपान सप्ताह साउन २३ गतेसम्म चल्नेछ । ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने मूल नाराका साथ मनाउन सुरु गरिएकोसो सप्ताहमा सबै स्थानीय तहमा समेत जनचेतनामूलक कार्यक्रम आयोजना हुने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले स्पष्ट पारेको छ । शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्ने र त्यसभन्दा माथि उमेर पुगेपछि अन्य थप पोषणको पनि व्यवस्था गर्न सो सप्ताह मनाउने कामलाई जोड दिइएको षोषण शाखाका प्रमुख पराजुलीले बताए । स्तनपान संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष विश्वभर विश्व स्तनपान सप्ताह मनाउँदै आईएको छ ।

खोटाङवासीलाई उपचारका लागि २ लाख सिरानीमा राखेर सुत्नुपर्ने बाध्यता

खोटाङ । आकस्मिक अवस्थामा बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउन हेलिकप्टर नै चार्टर गर्नुपर्ने भएपछि खोटाङवासीलाई कम्तिमा दुई लाख सिरानीमै राखेर सुत्नुपर्ने बाध्यता भएको छ । स्वास्थ्यमा जटिल किसिमका समस्या देखिएपछि थप उपचारका लागि काठमाडौंलगायत अन्य सुबिधासम्पन्न अस्पताल लगेर उपचार गराउन परेकाले जिल्लावासीमा यस्तो बाध्यता आइलागेको हो । यही समस्याले खोटाङलाई  ‘दुई लाख सिरानीमा राखेर सुत्नुपर्ने जिल्ला’का रूपमा चिनिन थालेकाले जिल्लावासीले नेपाल सरकारसमक्ष निःशुल्क हेलिकप्टर सेवाको माग गर्दै आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । ‘सङ्क्रमितले हेलिकप्टर चार्टर गर्नुप¥यो भने कम्तीमा पनि तीन लाख ५० हजारसम्म शुल्क तिरिरहनु परेको छ’, उनले भने, ‘सबैको हेलिकप्टर चार्टर गर्न सक्ने अवस्था छैन । जिल्लाबाट सिफारिस भएर पठाइइएका मध्ये र तत्काल उद्दार गर्नुपर्ने कोभिड सङ्क्रमित र अन्य आकस्मिक घटनाका बिरामीका लागि निःशुल्क हेलिकप्टर व्यवस्था गर्न सरकार समक्ष माग गरिएको हो ।’ दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका एक कोरोना सङ्क्रमितलाई शनिबार दुई लाख ८० हजारमा हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौं लगियो । सोही दिन बिहान वडा नं १ याम्खास्थित अस्थायी कोभिड अस्पतालमा भर्ना भएर उपचार गराएका राई थरका उनलाई श्वासप्रश्वासमा समस्या देखिएकाले हेलिकप्टरबाट काठमाडौँ लगिएको हो । सङ्क्रमितको अहिले काठमाडौंस्थित अल्का अस्पतालमा भर्ना गरेर उपचार भइरहेको उनका आफन्तले जनाएका छन् । उनीहरुकानुसार सङ्क्रमित राई आफै मोटरसाइकल चलाएर याम्खा आएपछि परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएर उपचार थालिएको अस्पताल स्रोतले जनाएको छ । उपचारकै क्रममा श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले हेलिकप्टर चार्टर गरेर राजधानी पठाएका गाउँ कार्यपालिका सदस्य अमृत गिरीले बताए । यसअघि गत असार २० गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाकी ४४ वर्षीया सङ्क्रमितलाई सोही मूल्यमा हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा बनाइएको आइसोलेशन सेन्टरमा भर्ना भएका ती महिलामा अक्सिजन कम भएपछि थप उपचारका लागि काठमाडौं पठाइएको थियो । दश स्थानीय तह रहेको जिल्लामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको अवस्थामा स्वास्थ्यमा जटिल समस्या देखिए तत्काल अस्पताल पु¥याउन लाखौँ रकम खर्चिएर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । बिरामी बोक्ने एम्बुलेन्स वा अनय सवारी साधनबाट छिटो पुग्न सम्भब नभएकाले सङ्क्रमित महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य भएका हुन् । केही दिनयता वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेकाले सडकबाट बिरामीलाई अस्पताल पु¥याउन सकस भएको छ । कतिपय तत्काल अस्पताल पु¥याउनुपर्ने अवस्थाका बिरामी बोक्न हेलिकप्टर चार्टर गर्नुको विकल्प नभएको स्थानीयवासी बताउँछन् । गत जेठ ५ पछिमात्र कोरोना सङ्क्रमितलाई अस्पताल लैजान नौ पटक हेलिकप्टर चार्टर भइसकेका छन् । गत असार ८ मा ऐँसेलुखर्क गाउँपालिका–३ का ६० वर्षीय सङ्क्रमितलाई दुई लाख ९५ हजार तिरेर हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो । यस्तै सङ्क्रमण भएपछि आइसोलेशनमा राखिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी एक महिलालाई जेठ २७ गते तीन लाख र  ऐँसेलुखर्क गाउँपालिका–३ कै अर्की सङ्क्रमितलाई पनि जेठ १७ गते काठमाडौँ लैजान दुई लाख ९५ हजार खर्चिनुपरेको थियो । जेठ ५ गते ऐँसेलुखर्क गाउँपालिका–३ का एकै परिवारका तीन सङ्क्रमितलाई तीन लाख २० हजार, १५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७८ वर्षीया सङ्क्रमितलाई तीन लाख ५० हजार, जेठ १० गते दिक्तेलका ६४ वर्षीय एकजनालाई तीन लाख ५० हजारमा हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो । जिल्लामा अन्य किसिमका रोग लागेका बिरामी वा दुर्घटनाका घाइतेलाई काठमाडौं लैजाने क्रममा पनि कम्तीमा दुई लाख खर्चेर हेलिकप्टर चार्टर गर्नु बाध्यता नै भएको छ । आर्थिक अवस्था मजबुत भएका वा ऋणधन गर्न सक्ने बिरामी हेलिकप्टर चार्टर गरेर अस्पताल पुग्छन् तर बिपन्न परिवार उपचारबाट वञ्चित भइ ज्यान गुमाउन बाध्य भएको घटनासमेत सार्वजनिक भएका छन् । उक्त नगरपालिकाले जेठ १६ गते तत्कालीन प्रधानमन्त्रीसमक्ष निःशुल्क हेलिकप्टर सेवाको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मामार्फत प्रधानमन्त्री ओलीलाई पत्र पठाएको थियो । रासस

बूढानीलकण्ठमा ५१ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो । खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेका नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा अङ्कित पौडेलले बताए । नगरबासीमध्ये कोभिसिल्ड पाँच हजार ५२० जनाले र भेरोसेल ३८ हजार ८८२ जनाले लगाएका छन् । त्यसैगरी जोन्सन एण्ड जोन्सन खोप सात हजार २०० जनाले लगाएका छन् । नगरपालिकामा सीमित खोप उपलब्ध भए पनि सर्वसाधारणको माग असिमित रहेको नगर प्रवक्ता नवराज भट्टराईले बताए । थोरै मात्र खोप प्राप्त हुँदा एकै पटक सबैलाई उपलब्ध गराउन सम्भव नभएकाले दुरुपयोग हुन नदिन वडावडामा खोप केन्द्र राखिएको उनले जानकारी दिए । यसअघि यहाँ दुईवटा मात्र खोप केन्द्र सञ्चालन गरिएकामा शुक्रबारदेखि आठवटा खोप केन्द्र सञ्चालन गरिएको थियो । रासस