सिनेट बैठक बोलाउँछु र विपी प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नलाई कारवाही गर्छु- श्रेष्ठ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नमाथि कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा उनले सिनेट बैठक बोलाएर छानविन समिति गठन गरेर कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले सिनेटको बैठक नबसी दोषीमाथि कारबाही गर्ने अवस्था नभएकाले सरकारले छिट्टै सिनेटको बैठक बोलाउन लागेको जानकारी पनि गराए । ‘विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सरकारले छिट्टै सिनेट बैठक बोलाई छानवीन समिति गठन गर्नेछ, छानवीन समितिले दिएको प्रतिवेदनको आधारमा दोषीमाथि कडा कारबाही हुन्छ,’ उनले भने । राज्यमन्त्री श्रेष्ठले जन स्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारले मन्त्रालयमा छुट्टै अनुगमन इकाई बनाउन लागेको बताए । उनले सार्वजनिक महत्वको संस्थाहरुलाई जथाभावी गर्न नदिन अनुगमन संयन्त्र बनाउनुपर्ने आवश्यक्ता औंल्याउँदै त्यसतर्फ सहयोग गर्न आग्रह गरे । बैठकमा समितिका सदस्यहरुले जनस्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल गर्ने कर्मचारीमाथि कडा कारबाही गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य एवम् पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले आन्दोलन गरेर प्रतिष्ठानलाई बन्द गराउने कर्मचारीमाथि कडा कारबाही गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले भ्रष्टहरुले स्वास्थ्य सेवा दिने संस्थाहरुमा समेत जरो गाडेर बस्दा पनि सरकार गम्भिर नभएको आरोप लगाए । समितिका अर्का सदस्य एवम् पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिष्ठानका उपकूलपतिलाई दिइएको असिमित अधिकार तत्काल कटौति गर्न सरकारलाई सचेत गराए । उनले समग्र प्रतिष्ठानमा भएका बेथितिको अन्त्यका लागि सरकारले विस्तृत ढंगले छानवीन गरी दोषी उपर तत्काल कारवाही गर्न आग्रह गरे । बैठकमा समितिका सदस्यहरुले सार्वजनिक सेवा प्रवाहको क्षेत्रलाई चुस्त दुरुस्त बनाउन सरकारलाई सचेत गराएका थिए ।
आइपुग्यो भुटानले दिएको ३ लाख डोज खोप
काठमाडौं । भुटान सरकारले अनुदान स्वरुप नेपाल सरकारलाई दिएको कोरोना विरुद्धको खोप नेपाल आइपुगेको छ । एस्ट्राजेनेका ३ लाख डोज खोप शुक्रबार बिहान भुटानको ड्रुक एअरलाइन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको हो । अहिले १४ लाख भन्दा धेरै ज्येष्ठ नागरिक कोभिसिल्डको पर्खाइमा छन् । जापानबाट भोलि र पर्सि आइपुग्ने खोप र भुटानबाट आएको खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई दिने सरकारको तयारी छ । उक्त दुई देशबाट खोप ल्याइसकेपछि सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने तयारी गरेको छ । जापानबाट आउन लागेको ८ लाख र भुटानबाट ल्याइएको ३ लाख गरी ११ लाख कोरोना विरुद्धको खोप लगाईनेछ ।
आजदेखि भेरोसेलको दोस्रो डोज दिईने, देशभर खोप अभियान सुरु
काठमाडौं । सरकारले आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिने भएको छ । यसअघि चिनियाँ खोपको पहिलो मात्रा लगाएको २१ दिन पुरा भएका नागरिकले दोस्रो डोज पाउने भएका हुन । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका सबै पालिकामा खोप केन्द्र तोकिएको छ । आफूलाई पायक पर्ने केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सक्नेछन । दोस्रो डोज खोप लगाउन आउने नागरिकले अनिवार्य रुपमा पहिलो डोज लगाएको खोप कार्ड र विद्युतीय (अनलाइन फारम) दर्ता नम्बर ल्याउनु पर्ने स्वास्थ्य कार्यालय काठमाडौंले यसअघि नै जनाइसकेको छ । कार्यालयका अनुसार असार २९ गते यता भेरोसेलको पहिलो खोप लगाएका नागरिक १ लाख ६५ हजार छन् । असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज दिनुपर्छ । यसअघि स्वास्थ्य मन्त्रालयले साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सन्चालन गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको थियो ।