पोखराका २५ सय पर्यटनकर्मीले लगाए खोप

फाइल फाेटाे पोखरा । पोखरा पर्यटन परिषद्को समन्वयमा बिहीबार पोखराका दुई हजार ५०० पर्यटनकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध सङ्घ संस्थालगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई प्राथमिकताका आधारमा खोप लगाउन कार्यक्रम सम्पन्न गरिएको परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार नेपाल पर्यटन बोर्ड, होटल माउण्ट कैलाश, होटल बाराही, बुमराङ रेष्टुरेण्ट र खपौदीको द ब्रिजमा गरेर पाँच स्थानमा खोप केन्द्र तोकिएको थियो । प्रत्येक खोपकेन्द्रमा ५०० खोपको व्यवस्था गरिएको थियो । परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले निकै लामो समयको प्रयासपछि पहिलो चरण सरकारले पर्यटन क्षेत्रलाई दुई हजार ५०० खोप छुट्याएको बताए। “हामीले निकै लामो समयदेखि तीन तहकै सरकारलाई खोपको माग गर्दै आएका थियौँ, अहिले पहिलो चरणमा जम्मा दुई हजार ५०० खोप उपलब्ध भयो”, उनले भने । उनले पहिलो चरणको खोप अग्रमोर्चामा खटिने मजदुर, कर्मचारी र व्यवसायीलाई प्रबन्ध गरिएको जानकारी दिए । अहिले लगाइएको खोप पर्याप्त नभएको जनाउँदै पुनः बाँकी पर्यटनकर्मीका लागि पनि सरकारले छिटो खोप उपलब्ध गराउनेमा आशावादी रहेको बताए । पोखरामा २० हजारभन्दा बढी पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी तथा कर्मचारीहरु रहेका छन् । गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकमार थापाले खोपकेन्द्रको संयुक्त अनुगमन गरेका थिए । मन्त्री कँडेलले पोखरा पर्यटकीय राजधानी भएकाले पर्यटन क्षेत्रलाई प्राथमिकता राखेको जनाउँदै छिट्टै बाँकी पर्यटनकर्मीका लागि खोपको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । परिषद्का सदस्य एवं पर्यटन क्षेत्रमा आबद्ध पश्चिमाञ्चल होटल एशोसिएशन (हान), ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल पश्चिमाञ्चल (टान), नेपाल टुर एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा), रेष्टुरेण्ट एण्ड बार एशोसियशन .रेवान), नेपाल हवाई खेलकुद संस्था (ना), पोखरा ट्याक्सी व्यवसायी समिति, पर्यटन यातायात व्यवसाय समिति, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), पर्वतारोहण सङ्घ गण्डकी (एनएमए)। इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसियशन (एगा), टे«किङ इक्युपमेन्ट सप एशोसियन (टेसां, महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ), पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) लगायत २५ भन्दा बढी सङ्घसंस्थाका सदस्यहरुले खोप लगाएको परिषद्का उपाध्यक्ष एवं कार्यक्रमका संयोजक पोमनाराण श्रेष्ठ जानकारी दिए । परिषद्ले पर्यटनकर्मीलाई खोपको सुनिश्चितता नभएसम्म पर्यटन व्यवसाय सञ्चालन गर्न नसकिने भएकाले “नो भ्याक्सिन, नो टुरिजम” भन्दै सामाजिक सञ्जाललगायत जिल्ला प्रशासन अगाडि विभिन्न चरणमा दबाबमूलक आन्दोलनसमेत गरेको थियो । रासस

१५ प्रतिशतले कोभिडविरुद्धको पहिलो मात्राको खोप लगाए: राज्यमन्त्री श्रेष्ठ

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म कूल जनसङ्ख्याको १५ दशमलव पाँच प्रतिशतले कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाइसकेको जानकारी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा जानकारी दिँदै हालसम्म २८ लाख ८८ हजार ३६० नागरिकले उक्त मात्राको खोप लगाइसकेको जानकारी दिएका हुन् । कोभिडविरुद्ध दीर्घकालीन र अल्पकालीन योजना सदनमा प्रस्तुत गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । राज्यमन्त्री श्रेष्ठले लामो समयदेखि भौतिकरूपमा बन्द पठनपाठनलाई सञ्चालन गर्न २० वर्ष उमेरमाथिका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम तय गरिएको बताए । उनले थप तीन करोडभन्दा बढी खोप किन्ने प्रक्रियामा रहेको र असोज मसान्तसम्म एक करोड आपूर्ति हुने बताए । उनले कोभिड सुरु भएदेखि अस्पताल जान धक मान्ने भएकाले कोभिड नभएका अन्य विरामीको सुरक्षित उपचारको व्यवस्था मिलाइएको र भेन्टिलेटर तथा अक्सिजन थप गरिएको बताए । उनले खोप व्यवस्थापन गर्दै ठूला सहरमा खोप दिने तयारी रहेको र विश्वविद्यालयका विद्यार्थीलाई खोप दिन लागिएको छ । गाउँ र नगरस्तरीय खोप व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिने जानकारी दिए ।

नर्भिककाे सहयाेगमा लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताल पुनः सञ्चालन हुने

काठमाडाै् । सुनसरीको दुहबीमा संचालित श्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः संचालनमा ल्याइने भएको छ । काठमाडाैंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल र वसन्त चौधरी फाउण्डेसनले संयुक्त रुपमा ५ करोड रुपैयाँ लगानी गरी करिब साढे ३ वर्षदेखि बन्दप्राय रहेको सो अस्पताललाई स्तरोन्नति गर्दै पुनः संचालनमा ल्याउने भएकाे हाे । बन्द हुनुअघिसम्म १५ शैया क्षमतामा संचालनमा रहेको अस्पतालको स्तरोन्नति गरी ५० शैया बनाइनुकाे साथै नवीनतम प्रविधि र मेडिकल उपकरणले जाेडिने नर्भिकले जानकारी दिएकाे छ । सो अस्पताललाई नर्भिकले दक्ष जनशक्तिको साथै विशेषज्ञ सेवा समेत उपलब्ध गराउने जनाएकाे छ । अस्पतालको सम्पूर्ण प्राविधिक पक्ष नर्भिकले हेर्ने र आर्थिक सहयोग वसन्त चौधरी फाउण्डेसनले जुटाउने बताइएकाे छ । नर्भिक इन्टरनेशनल हस्पिटलका संरक्षक वसन्त चौधरीले दुहबीको सो अस्पतालमा नर्भिकको प्रविधि, जनशक्ति तथा अनुभव समेत प्रयोग गरी पूर्वी नेपालका सर्वसाधारणलाई न्यून दरमा स्वास्थ्य सेवा उपलब्ध गराइने योजना रहेको बताए । ‘हामीले सो अस्पताललाई पुनर्जीवन दिनका लागि ३ करोड रुपैयाँ बराबरको लगानी पूर्वाधार विकासमा गर्नेछौं,’ अध्यक्ष चौधरीले भने–‘२ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण उपलब्ध गराउनेछौं।’ चाैधरीकाे अनुसार करिब ८ हजार वर्गफिटको नयाँ संरचनासहित मुटुरोग/प्रसूति सेवा लगायतका शल्यक्रियाका लागि अत्याधुनिक अप्रेसन थिएटर, अत्याधुनिक उपकरणजडित आइसियू लगायतका संरचना निर्माण गरी अस्पताल पुनः संचालन हुनेछ । यसका साथै सो अस्पतालमा डायलासिस सेवा, २४ सै घण्टा स्तरीय आकस्मिक सेवा र ७५ जनाले प्रत्यक्ष रोजगारी पाउने उनले जानकारी दिए । आगामी बैशाख १ गते पर्ने नर्भिक अस्पतालको स्थापना दिवसको अवसर पारेर सो च्यारिटी अस्पतालको सम्पूर्ण सेवाको सुरुवात हुने चाैधारीले बताए । चौधरीका पितामाताको नाममा स्थापित सो अस्पतालको शिलान्यास २०५२ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए।  तत्कालीन गाविसले च्यारिटी अस्पताल चलाउनका लागि १० कठ्ठा जग्गा उपलब्ध गराएको थियो भने अस्पताल निर्माणमा लाग्ने सबै खर्च चौधरीले व्यहोरेका थिए। सो बेला समेत दुहबी–विराटनगर औद्योगिक करिडरमा २०० बढी उद्योगहरु संचालनमा रहेका थिए। कुनै औद्योगिक दुर्घटना हुँदा वा उद्योगमा काम गर्ने कुनै मजदूर वा श्रमिक अचानक बिरामी पर्दा उपचार गर्न विराटनगर नै पुग्नुपर्ने बाध्यता थियो ।  त्यस्तो बाध्यता अन्त्य गर्न उद्देश्यले त्यसबेला च्यारिटी अस्पताल स्थापना गरिएको थियो । नर्भिकले यसै वर्षदेखि सुनसरीको दुहबीमै १०० शैयाको अत्याधुनिक छुट्टै अस्पतालनको निर्माण कार्य समेत सुरु गर्ने यसअघि नै घोषणा भइसकेको छ ।