मास्क नलगाउनेलाई कारवाही

गण्डकी । जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयद्वारा संयुक्तरूपमा आयोजित सप्ताहव्यापी ‘स्वास्थ्य मापदण्ड र ट्राफिक सचेतना अभियान’का क्रममा मास्क नलगाई हिँड्ने एक हजार ३३७ जनालाई कारवाही गरिएको छ । यही साउन १७ गतेदेखि शनिबारसम्म आयोजित अभियानमा सात हजार ७१४ सवारीसाधन धनीलाई बाटैमा रोकेर स्वास्थ्य मापदण्ड र ट्राफिक नियमबारे जानकारी गराइएको ट्राफिक प्रहरी प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार सो अवधिमा स्वास्थ्य मापदण्ड एवं ट्राफिक नियमसँग सम्बन्धित नौ हजार पर्चा र दुई हजार २०० मास्क वितरण गरिनाका साथै विभिन्न स्थानमा सचेतनामूलक फ्लेक्स प्रिन्ट पनि टाँसिएको थियो । मास्क नलगाई हिँड्नेहरूबाट जरिवानास्वरूप एक लाख ३७ हजारसङ्कलन गरिएको उनले बताए । रासस

काठमाडौं जिल्लामा काेभिशिल्डकाे पहिलाे मात्रा लगाएकालाई भाेली र पर्सि खाेप लगाइने

काठमाडौं । काठमाडौं जिल्लाले कोभिड-१९ विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्राको रुपमा एस्ट्राजेनेकाको लगाउने भएको छ । स्वास्थ्य कार्यलय काठमाडौंले एक विज्ञप्ति जारी गर्दै जिल्लाको सबै स्थानीय तहमा साउन २५ देखि २६ गतेसम्म कोभिशिल्डको दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप लगाउने भएको जानकारी दिएकाे हाे । यस अघि स्थानीय तहले संचालन गरेकाे खोप केन्द्रहरुमा नै उक्त खोप लगाइने कार्यलयले जनाएको छ । खोप लगाउन जाँदा जनस्वास्थ्यका मापदण्ड पुरा हुने गरी र नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटमा विद्युतीय दर्ता अनिवार्य रूपमा गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । कुनै अन्यथा हुन गएमा खोप प्रदान गर्ने कार्यमा संलगन संस्था प्रमुख संयोजक तथा खोप दिने स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरूलाई कानून बमोजिम कारवाही हुने समेत सूचनामा उल्लेख छ । महानगरको राधस्वामी आइसोलेसन सेन्टर बालजु, सशस्त्र प्रहरी बल अस्पताल बल्मम्बु, वीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगंज, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा पनि दोस्रो खोप लगाइने भएको छ । जापानले नेपाल सरकारलाई अनदान स्वरुप १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको छ जसमध्ये आइतबारसम्म ८ लाख मात्रा नेपाल आइसकेको छ । भारतको सिरम इन्टिच्युटले बनाएको कोभिशिल्ड खोप अक्सफोर्ड-एस्ट्राजेनेकाको खोपको फर्मुला अनुसार बनाइएको हो ।

जापानबाट एस्ट्राजेनेकाको थप ३ लाख खोप आइपुग्यो

काठमाडाै । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब तीन लाख खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख मात्रा खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए । जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै शनिबार पाँच लाखमात्रा खोप आएको थियो । बाँकी खोप एक सातापछि आउने मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार भुटानबाट दुई लाख ३० हजार मात्रा कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप पहिलो मात्रा लगाएका नागरिकलाई लगाइनेछ । हालसम्म खरिद र अनुदान गरेर करिब एक करोड मात्रा खोप स्वदेश आइपुगेको छ । नेपालले ६० लाख मात्रा खोप खरिद गरेको छ । चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको छ । भारतबाट खरिद गरिएकामध्ये १० लाख मात्रा खोप अझैसम्म आपूर्ति भएको छैन । यसैगरी भारतबाट अनुदानमा ११ लाख कोभिशिल्ड (नेपाली सेनासहित) प्राप्त भएको छ । चीनबाट १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ । यस्तै गाभीबाट तीन लाख ४८ हजार कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जे एण्ड जे खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ । खोपको नियमित आपूर्ति हुन थालेपछि सरकारले खोप केन्द्र पनि थप गरिएको छ । खोप केन्द्रमा भीडभाड देखिएको र खोप लगाउनेबाटै सङ्क्रमण फैलनसक्ने देखिएपछि सरकारले एक हजार ४३३ खोप केन्द्र थप गरेको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकामा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पु¥याइएको छ । काठमाडौं उपत्यकामा ८३ खोप केन्द्र थप गरी १४९ पुर्याइएको छ ।