सरकारको पहिलो प्राथमिकता सबैलाई खोप: अर्थमन्त्री
काठमाडाैं । सरकारले कोराना विरुद्धको एक करोड मात्रा खोपको जोहो भइसकेको जानकारी दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आजको बैठकमा देशको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै वर्तमान सरकारको एक मात्र प्रमुख प्राथमिकता खोप मात्रै भएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप हो भन्नेमा जोड दिनुभएको तथ्य पेश गर्दै अर्थमन्त्रीले आफूले कार्यभार सम्हालेको दिन नै खोप खरिदका लागि पाँच अर्ब निकासा गरेको उल्लेख गरे । संविधान प्रदत्त समाजवाद निर्माण गर्दै वर्तमान सरकारलाई जनताप्रति उत्तरदायी बनाउने सरकारको प्रमुख कार्यभार रहेको स्पष्ट पार्दै अर्थमन्त्री शर्माले लोकतान्त्रिक तथा सामाजिक न्यायको मार्गमा आफूहरु निरन्तर लागि पर्ने बताए । पूँजी निर्माणलाई सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले मूल्यवृद्धि नियन्त्रण, पूँजीगत खर्च बढाउने तथा आर्थिक वृद्धिको योजनालाई साकार बनाउने दृढता व्यक्त गरे । स्रोत सुनिश्चित नभई विभिन्न आयोजनाको शिलान्यास हुँदा र स्रोतको परिचालनमा विचलन हुने गरी योजना अगाडि सारिँदा अर्थतन्त्रमा समस्या परेको अर्थमन्त्रीको भनाइ छ । विप्रेषणलाई मुलुकको अर्थतन्त्र निर्माणमा परिचालन गर्नुपर्नेमा जोड दिँदै उनले उपभोग्य क्षेत्रमा खर्च हुँदा त्यसले नकारात्मक प्रभाव पारेको बताए । सार्वजनिक संस्थामा गरेको लगानीको प्रतिफल न्यून रहेको जानकारी दिँदै अर्थमन्त्रीले ती संस्थाको व्यवस्थापकीय सुधार गर्नुपर्नेमा जोड दिए । देशभर १८.७ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको तथ्याङ्क पेश गर्दै अर्थमन्त्री शर्माले कोरोनाका कारण त्यसको मात्रामा वृद्धि भएकाले नीतिगत सुधार गरी गरिबी न्यूनीकरण गर्नु सरकारको प्राथमिकतामा रहेको बताए । आ योजना कार्यान्वयनमा रहेको कमजोरीका कारण राष्ट्रिय गौरवका आयोजना प्रभावकारी कार्यान्वयन हुन नसकेको स्पष्ट पार्दै उनले मेलम्ची खानेपानी आयोजना र माथिल्लो तामाकोशी त्यसको उदाहरण भएको उल्लेख गरे । भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न गम्भीर कदम चाल्नुपर्ने अवस्था आएको अर्थमन्त्रीको भनाइ थियो ।
निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमित बढे
चितवन । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनले आज यहाँ पत्रकारसँग भर्चुअल माध्मबाट आयोजना गरेको अन्तक्रिया कार्यक्रममा सो सम्बन्धी तथ्याङ्क सार्वजनिक गरिएको हो । कार्यालयका अनुसार गत फागुनमा ९६ जना सङ्क्रमित रहेकोमा क्रमशः बढेर वैशाखमा सो सङ्ख्या चार हजार १७७ पुगेको थियो । वैशाखमा निषेधाज्ञा गरिएसँगै सङ्क्रमितको सङ्ख्या क्रमशः घट्दै गएको थियो । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार वैशाख १५ गतेदेखि लागू गरिएको निषेधाज्ञाका कारण जेठमा सो सङ्ख्या घटेर तीन हजार ८८१ मा झरेको थियो । सो सङ्ख्या असारमा तीन हजार ४२ मा झरेको उनले जानकारी दिए । साउन महिनाको २४ गतेसम्म आइपुग्दा पुनः सङ्क्रमित बढेका छन् । साउनमा मात्रै तीन हजार ९५१ जना सङ्क्रमित भएको उनले बताए । उहाँका अनुसार वैशाख महिनादेखि साउन २४ गतेसम्म ६६ हजार ३८४ जनाको पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणका क्रममा पाँच हजार ६०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिबाट सात हजार ७५९ को परीक्षण गरिएकोमा दुई हजार ७०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा रहेका विभिन्न अस्पतालमा उपचारका लागि आएका र लक्षण देखिएर परीक्षणका लागि आएकामध्येबाट सो सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यहाँ सङ्क्रमित हुनेमध्ये सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका रहेका छन् । यस समूहका दुुई हजार ४१० जना पुरुष र दुई हजार ६४२ जना महिला रहेका छन् । अन्य उमेर समूहमा भने पुरुष धेरै सङ्क्रमित हुने गरेको तिवारीले जानकारी दिए । यस्तै ३० देखि ३९ वर्ष उमेर समूहको दोस्रो, ४० देखि ४९ उमेर समूहको तेस्रो र ५० देखि ५९ वर्ष उमेर समूहका चौंथो क्रममा रहेको सो अवसरमा जानकारी दिइयो । जिल्लामा बालबालिका र ८० वर्ष भन्दामाथिको उमेरका कम सङ्ख्यामा सङ्क्रमित हुने गरेका छन् । जिल्लामा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका समयमा भन्दा खुकुलो भएको समयमा सङ्क्रमित स्थानीय तहमा बढेको छ । पूर्ण निषेधाज्ञाको समय अवधि वैशाख १५ गतेदेखि असार १४ गतेसम्म भरतपुर महानगरपालिकामा ६ हजार ३०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यस्तै खैरहनी नगरपालिकामा ४२७, माडी नगरपालिकामा ३६०, रत्ननगरमा ७२०, राप्तीमा ३१२, कालिका नरपालिकामा ३४६ र ईच्छाकामना गाउँपालिकामा १४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । निषेधाज्ञा खुकुलो भएसँगै असार १५ गतेदेखि साउन २४ गतेसम्म भरतपुर महानगरपालिकामा तीन हजार ६६४, खैरहनी नगरपालिकामा ४१३, माडीमा ४१६, रत्ननगरमा ५७२, राप्तीमा २७९ र कालिकामा २८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ईच्छाकामना गाउँपालिकामा निषेधाज्ञा खुकुलो भएसँगै ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । तिवारीका अनुसार जिल्लाको अस्पतालमा उपचारका क्रममा हालसम्म मृत्यु हुनेको सङ्ख्या ७८९ पुगेको छ । जसमध्ये ४३९ जना जिल्ला बाहिरका र ३५० जना जिल्लाभित्रका रहेका छन् । जिल्लामा मृत्यु हुनेमध्ये २८ जनाको होम आइसोलेशनमा मृत्यु भएको हो । अस्पतालमा ३२२ जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ । विसं २०७८ सालमा मात्रै जिल्लाका अस्पतालमा ५९९ जनाको मृत्यु भएको छ । ३६१ जना जिल्ला बाहिरका र २३८ जना जिल्लाका रहेका छन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कोरोना सङ्क्रमण बढेसँगै निषेधाज्ञामा कडाइ गरिएको बताए । उनले भने, ‘कोरोना सङ्क्रमण बढ्दै जाँदा निषेधाज्ञामा कडाइ गर्दै लगिएको छ । सबैले निषेधाज्ञाको नियम कडाइका साथ मान्ने हो भने नियन्त्रणमा सहज हुन्छ ।’ जिल्लामा सङ्क्रमणको उच्च जोखिम रहेकाले अहिलेकै अवस्था भए भयावह हुनसक्ने उनको भनाइ थियो । स्थानीय प्रशासनले हरेक उपाय अपनाउँदा पनि अपेक्षाकृत सुधार हुन नसकेको उनले बताए । बिरमीको चाप र सङ्क्रमितको अवस्था हेरेर अघि बढ्ने उनले जानकारी दिए । रासस
गोरखाको गण्डकी गाउँपालिकामा शुक्रबारदेखि कोभिशिल्डको दोस्रो डोज
काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकाले कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको रूपमा एस्ट्राजेनेकाको लगाउने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै साउन २९ र ३० गतेसम्म कोभिशिल्डको दोस्रो डोज खाेज लगाउने जनाएकाे हो । गाउँपालिकाले ८ वटै स्वास्थ्यचौकीमा उक्त खोप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । खोप लगाउन जाँदा जनस्वास्थ्यका मापदण्ड पुरा हुने गरी र खोप लगाउन आउने व्यक्तिले कोभिशिल्डको पहिलो मात्रा लगाएको एकिन गरी दोस्रो मात्रा दिने समेत सूचनामा उल्लेख छ । गाउँपालिकामा उक्त खोप बिहान १० बजे देखि ४ बजेसम्म खोप लगाइने छ । भारतबाट पहिलो डोजको कोभिसिल्डको खोप आएपछि दोस्रो डोजको खोप नआएपछि आजबाट जिल्लाले दोस्रो डोजको रूपमा भुटान र जापानले दिएको एस्ट्राजेनेकाको खोप लगाउन थालेको हो । जापानले नेपाल सरकारलाई अनुदान स्वरुप दिएको १६ लाख डोज एस्ट्राजेनेकाको खोप मध्ये आइतबारसम्म ८ लाख डोज नेपाल आइसकेको छ ।