काठमाडौंमा ४० वर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउनका लागि खोप केन्द्र तय गरेको छ । त्यसमा यसअघि लगाउँदै आएका केन्द्रसँगै आठ केन्द्र थप गरिएको छ । आजबाट लागाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा भएका कक्षा ११ तथा १२ का र विश्वविद्यालय तहका परीक्षा प्रवेशपत्र दिएका विद्यार्थीलाई दिन लागिएको हो । यसअघि खोप लगाइँदै आएका महानगरपालिकाको ३२ वडाका खोप केन्द्रसँगै राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्ताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई पनि यसपटक खोप केन्द्रका रुपमा विस्तार गरिएको छ । खोप कार्यक्रम बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म रहने छ । अहिले थप गरिएका केन्द्रबाट यसअघि महानगरपालिकाले अग्रपङ्क्तिमा खटिने व्यक्तिका लागि मात्र खोप लागाउने व्यवस्था गरेको थियो । तोकिएका लक्षित समूहले महानगरभित्र खोप आज, शनिबार र आगामी मङ्गलबार तीन दिन लगाउन सकिने महानगरपालिकाको सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले जानकारी दिए । खोप लगगाउन जाँदा आफ्नो उमेर र परिचय खुल्ने कागजातसहित नजिकको खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्य मापदण्ड पूरा गरेर खोप लगाउन आग्रह गरिएको छ ।
संक्रमितको उपचारमा प्रभावकारी देखिएको नाइट्रिक अक्साइड अमेरिकाले नेपाललाई दिने
काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट नेपाललाई प्रदान गरिने भएको छ । अमेरिकी टेक्सस राज्यका पूर्व सिनेटर ड्यान शेलीले बसन्त चौधरी फाउण्डेसन र नर्भिक इनिसिएटिभ्स फर न्यूट्रिसन एण्ड हेल्थको पहलमा कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट नेपाललाई प्रदान गरिने भएको हो । भदौ ३ गते आयोजित एक पत्रकार सम्मेलनमा करिब ७ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको १० हजार बोटल नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट नेपाललाई प्रदान गर्ने जानकारी दिइएको छ । शेलीले यस डाइटरी सप्लीमेन्टको प्रयोगले उच्च जोखिममा रहेका वा पर्नसक्ने कोभिड संक्रमितको ज्यान बचाउन उपयोगी हुने विश्वास व्यक्त गरे । ‘नेपालमा पनि कोभिड संक्रमित तीव्र गतिमा बढेका र मृत्यु हुने संख्या समेत बढिरहेको समाचारलाई मैले बेवास्ता गर्न सकिँन, कोभिडका कारण धेरै क्षति व्यहोरेको नेपालजस्तो मुलुकका लागि हामीमा चलिसकेको डाइटरी सप्लिमेन्ट काम लाग्नसक्छ भन्ने लाग्यो । त्यही भएर हाम्रो रोजाईमा नेपाल पनि परेको हो,’ उनले भने । कोभिड १९ का बिरामीहरुको शरीरभित्र नाइट्रिक अक्साइडको सामान्य अंश समेत उत्पादन नहुँदा समस्या देखिने गरेको अध्ययनले पत्ता लागेको बताइएको छ । यस पदार्थले रक्तचापको व्यवस्थापनका साथै शरीरको अक्सिजन स्याचुरेशन व्यवस्थापन गर्न समेत मद्दत गर्ने साथै नाइट्रिक अक्साइडले इन्फ्लेमेसन घटाउने तथा कोरोना भाइरससहितका अन्य इन्फेक्सनविरुद्ध लड्ने प्रतिरोधात्मक भूमिकाको कार्य गर्ने छ । हालसम्मको प्रयोग र प्रमाणहरुमा उच्च रक्तचाप, मधुमेह, मोटोपना, ध्रुमपान सेवनकर्ता, मृगौला सम्बन्धी रोगी, मुटुरोगबाट पीडितहरुको शरीरमा नाइट्रिक अक्साइड उत्पादन गर्नसक्ने क्षमताको कमी र त्यस्ता रोगीहरु कोभिड संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ भने उनीहरुलाई लागेको रोग समेत तीव्र गतिमा जटिल बन्नसक्ने अध्ययनले स्पष्ट पारेको उनले बताए । पत्रकार सम्मेलनमा अमेरिकामा १० वर्षदेखि बजारमा उपलब्ध नाइट्रिक अक्साइडको डाइटरी सप्लीमेन्टको प्रयोगले कोभिड १९ का बिरामीहरुमा सकारात्मक प्रभाव पारेको बताइएको छ । यो डाइटरी सप्लीमेन्ट संक्रमण भएको ७२ घण्टाभित्र चुसेर सेवन गर्नुपर्ने र दैनिक २ पटकका दरले सेवन गर्न थालेपछि यसले शरीरमा घटेको अक्सिजनको मात्रा बढाउँने र संक्रमित गम्भीर भई अस्पताल भर्ना हुनबाट जोगाउने जानकारी दिइयो ।
थपिँदै भाइरल ज्वरोका बिरामी
डाेटी । जिल्लामा पछिल्लो केही हप्ता यतादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या थपिँदै गएको छ । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाले जनाएको छ । उक्त अस्पतालमा मात्रै दैनिक १० देखि १५ भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिए । यसैगरी जिल्ला अस्पतालमा पनि पछिल्लो दुईहप्ता यतादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या थपिदै गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीले बताए । अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०/७० प्रतिशत बिरामीमा भाइरल ज्वरोको समस्या हुने गरेको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले बताए । यहाँका निजी मेडिकल तथा पोलिक्लिनिकमा समेत उक्त रोगका बिरामी बढ्दै गएका मुकेश मेडिकल हल दिपायलका मुकेश यादवले जानकारी दिए । यहाँका सहरी क्षेत्रका अस्पताल भन्दा पनि गाउँघरमा रहेका निजी मेडिकलमा उपचार गराउन आउने भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढी रहेको जोरायल गाउँपालिका–३ की यशोदा मल्लले बताइन् । यहाँका निजी मेडिकलमा उच्च पावरको औषधि दिने तथा ज्वरो चाँडै निको हुने भएकाले पनि उक्त रोगका बिरामी सरकारी अस्पतालभन्दा पनि गाउँमा खोलिएका निजी मेडिकल प्रति बढी आकर्षित हुने गरेका अर्का स्थानीयवासी करनसिंह खत्रीले बताए । मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो आउने गरेको शैलेश्वरी अस्पतालका डा ललितकुमार लिम्बूले बताए । रासस