खोप लगाएकाकाे क्युआर कोड प्रमाणपत्रको शुल्क नलिन आग्रह
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएकाकाे क्युआर कोड प्रमाणपत्रको शुल्क नलिन आग्रह गरेको छ । केही म्यानपावर कम्पनीले प्रमाणपत्रका लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क लिइरहेको जानकारीमा आएकाले विज्ञप्ति जारी गर्दै सो आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए । विदेश जानुपर्ने कतिपय व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र लिन अनलाइन फाराम भरी म्यानपावर कम्पनीलाई शुल्क बुझाउनु परेको गुनासा प्राप्त भएकाले त्यसो नगर्न अनुरोध गरिएकोे र शुल्क लिनेउपर कडा कारवाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।
धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार
गलकाेट । धौलागिरि अस्पतालले प्रदान गर्दै आएको डायलासिस सेवा विस्तार गरिएको छ । यसका लागि गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई थान डायलासिस मेसिन (डाइलोजर)अस्पताललाई पठाएको थियो । चार श्यया सञ्चालमा आएको सो सेवा अब छ श्ययामा प्रदान गरिने छ । अस्पतालमा डाइलासिस गर्ने बिरामीको चाप उच्च भएपछि सेवा थप गरिएको धौलागिरि अस्पतालले जनाएको छ । डाइलासिस सञ्चालनका लागि जनशक्तिको अभाव भइरहेको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए । ‘गण्डकी प्रदेश सरकालाई हामीले मन्त्रालयमै पुगेर अस्पतालको समस्या र तत्काल आवश्यक उपकरण पठाउन आग्रह गरेका थियौँ, स्वास्थ्य मन्त्रालयले दुई डायलासिस मेसिन पठाएको छ’, उनले भने, ‘अस्पतालका अनुगमनमा आउनुभएको मन्त्री मधुमाया अधिकारीले डायलासिस कक्षका क्षमता बढाउने औजार उपकरण पठाउने आश्वासन दिनुभएको छ ।’ विसं २०७५ वैशाखबाट अस्पतालमा सुुरु भएको अस्पतालको डायलासिस कक्ष विस्तार नहुँदा १८ जनासम्म बिरामीले पालो कुर्नुपरेको अवस्था थियो । यसलाई सम्बोधन गर्न उपकरण थप भएको र बिरामीलाई राहत मिलेको स्वास्थ्यकर्मी दिपिका गौतमले जानकारी दिए । ‘डायलासिस कक्षका लागि छुट्टै जनशक्ति नहुँदा केही समस्या छ, आवश्यक पर्दा अन्य मेडिकल डाक्टर सहयोग गर्न आउनुहुन्छ’, उनले भने, ‘अहिले नियमितरुपमा १८ बिरामीले नियमित सेवा पाइरहेका छन्, कसैको हप्तामा दुईपटक र कसैको तीन पटकसम्म बिरामीको अवस्था हेरेर डायलासिस गर्नुपर्ने हुन्छ ।’ चार श्यायाको डाइलासिस कक्ष हुँदा दैनिक आठ जनाले डायलासिस गर्दै आएकामा अब न्यूनतम १५ ले दैनिक सेवा लिनसक्ने जनाइएको छ । अस्पतालमा डायलासिस हुँदा आफूलाई निकै सहज भएकोे पर्वत जलजला गाउँपालिकाका दिलबहादुर खत्री बताए । दुवै मिर्गाैला फेल भएपछि प्रत्यारोपण नगरुञ्जेल बिरामीलाई नियमित डायलासिस गर्न आवश्यक हुन्छ । आर्थिक हैसियत भएका बिरामीले आफूलाई मिल्ने मिर्गौला प्रत्यारोपण गर्ने भए पनि प्रत्यारोपण गर्न नसक्नेले जीवनभर नियमित डायलासिस गर्नुपर्ने जनाइएको छ। रासस
हेटौँडा अस्पतालमा दैनिक १२० सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्टको उद्घाटन
काठमाडाैं । उद्योग सङ्घ मकवानपुरले हेटौँडा अस्पतालमा निर्माण गरेको अक्सिजन जेनेरेटर प्लान्ट आज अस्पताललाई हस्तान्तरण गरिएको छ । दैनिक १२० सिलिन्डर ग्यास उत्पादन गर्नसक्ने क्षमताको प्लान्टको आज वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे । मुख्यमन्त्री पौडेलले प्रदेश मातहत आएपछि अस्पताललाई व्यापक सुधार गरिएको बताउनुभयो । पचास शय्याको अस्पताललाई तीनसय श्याको बनाएको र अब चाडै नै ५०० शय्याको विशाल अस्पताल बनाइने उनले जानकारी दिए । तीन मात्रै चिकित्सक रहने अस्पतालमा ५० भन्दा बढी चिकित्सक थप गरिएको सघन उपचार कक्ष, एचडियु तथा भेन्टिलेटर जस्ता सबै सुविधा सञ्चालनमा ल्याइएको जानकारी दिँदै मुख्यमन्त्री पौडेलले चाडै नै मुटु रोग तथा अर्बुद रोग(क्यान्सर) को उपचारको छुट्टै युनिट सञ्चालनका लागि प्रदेश सरकारले काम गरिरहेको बताए । उनले प्रदेश सरकारले हेटौँडा अस्पतालमा छ तले नयाँ भवन निर्माणको शुरुआत गरिसकेको जानकारी दिए । स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याइएको जनाउँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सञ्चालन गरेका १३ वटै अस्पतालमा अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन नदिने बताए । कार्यक्रममा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले सबैको सहयोगबाट नै कोरोना नियन्त्रण र उपचारका लागि काम भइरहेको बताइन् । उनले सरकारलाई सहयोग गर्नेहरुलाई धन्यवाद व्यक्त गर्दै सबैको सहयोगले नै उपलब्धि हासिल हुने बताइन् । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले अभावमा सहयोग गर्ने उद्योगपतिलाई धन्यवाद व्यक्त गरे । हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महतले आफूहरुले अक्सिजन अभावमा गुज्रेको अस्पतालमा विभिन्न रोकावटका बाबजुद पनि तत्कालीन रुपमा दैनिक २० सिलिन्डर उत्पादन गर्ने प्लाण्ट जडान गरिएको जानकारी दिँदै महामारीको जुटेर सामना गर्नुपर्नेमा जोड दिए । रासस