काठमाडाै् । सुनसरीको दुहबीमा संचालित श्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः संचालनमा ल्याइने भएको छ ।
काठमाडाैंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल र वसन्त चौधरी फाउण्डेसनले संयुक्त रुपमा ५ करोड रुपैयाँ लगानी गरी करिब साढे ३ वर्षदेखि बन्दप्राय रहेको सो अस्पताललाई स्तरोन्नति गर्दै पुनः संचालनमा ल्याउने भएकाे हाे ।
बन्द हुनुअघिसम्म १५ शैया क्षमतामा संचालनमा रहेको अस्पतालको स्तरोन्नति गरी ५० शैया बनाइनुकाे साथै नवीनतम प्रविधि र मेडिकल उपकरणले जाेडिने नर्भिकले जानकारी दिएकाे छ । सो अस्पताललाई नर्भिकले दक्ष जनशक्तिको साथै विशेषज्ञ सेवा समेत उपलब्ध गराउने जनाएकाे छ ।
अस्पतालको सम्पूर्ण प्राविधिक पक्ष नर्भिकले हेर्ने र आर्थिक सहयोग वसन्त चौधरी फाउण्डेसनले जुटाउने बताइएकाे छ ।
नर्भिक इन्टरनेशनल हस्पिटलका संरक्षक वसन्त चौधरीले दुहबीको सो अस्पतालमा नर्भिकको प्रविधि, जनशक्ति तथा अनुभव समेत प्रयोग गरी पूर्वी नेपालका सर्वसाधारणलाई न्यून दरमा स्वास्थ्य सेवा उपलब्ध गराइने योजना रहेको बताए ।
‘हामीले सो अस्पताललाई पुनर्जीवन दिनका लागि ३ करोड रुपैयाँ बराबरको लगानी पूर्वाधार विकासमा गर्नेछौं,’ अध्यक्ष चौधरीले भने–‘२ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण उपलब्ध गराउनेछौं।’
चाैधरीकाे अनुसार करिब ८ हजार वर्गफिटको नयाँ संरचनासहित मुटुरोग/प्रसूति सेवा लगायतका शल्यक्रियाका लागि अत्याधुनिक अप्रेसन थिएटर, अत्याधुनिक उपकरणजडित आइसियू लगायतका संरचना निर्माण गरी अस्पताल पुनः संचालन हुनेछ ।
यसका साथै सो अस्पतालमा डायलासिस सेवा, २४ सै घण्टा स्तरीय आकस्मिक सेवा र ७५ जनाले प्रत्यक्ष रोजगारी पाउने उनले जानकारी दिए ।
आगामी बैशाख १ गते पर्ने नर्भिक अस्पतालको स्थापना दिवसको अवसर पारेर सो च्यारिटी अस्पतालको सम्पूर्ण सेवाको सुरुवात हुने चाैधारीले बताए ।
चौधरीका पितामाताको नाममा स्थापित सो अस्पतालको शिलान्यास २०५२ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए। तत्कालीन गाविसले च्यारिटी अस्पताल चलाउनका लागि १० कठ्ठा जग्गा उपलब्ध गराएको थियो भने अस्पताल निर्माणमा लाग्ने सबै खर्च चौधरीले व्यहोरेका थिए।
सो बेला समेत दुहबी–विराटनगर औद्योगिक करिडरमा २०० बढी उद्योगहरु संचालनमा रहेका थिए। कुनै औद्योगिक दुर्घटना हुँदा वा उद्योगमा काम गर्ने कुनै मजदूर वा श्रमिक अचानक बिरामी पर्दा उपचार गर्न विराटनगर नै पुग्नुपर्ने बाध्यता थियो । त्यस्तो बाध्यता अन्त्य गर्न उद्देश्यले त्यसबेला च्यारिटी अस्पताल स्थापना गरिएको थियो ।
नर्भिकले यसै वर्षदेखि सुनसरीको दुहबीमै १०० शैयाको अत्याधुनिक छुट्टै अस्पतालनको निर्माण कार्य समेत सुरु गर्ने यसअघि नै घोषणा भइसकेको छ ।