मेगा बैंकका ग्राहकले ओम अस्पतालमा साढे १० प्रतिशतसम्म छुट पाउने
काठमाडौं । मेगा बैंक नेपालका ग्राहकले ओम अस्पताल तथा रिसर्च सेन्टरमा १०.५० प्रतिशतसम्म छुट पाउनेछन् । जसको लागि बैंक र ओम अस्पतालबीच स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १०.५० प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी, मेगा बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ । मेगा बैंकका ग्राहकलाई यसअघि देखिनै काठमाडौं लगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन् ।
देशभर थप २ हजार ६५ जना संक्रमित थपिदा २ हजार ३३७ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ६६३ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमितको कुल संख्या ८ लाख ३८ हजार ९४८ पुगेको छ भने त्यसमध्ये ७ लाख ८ हजार २३० जना निको भएका छन् । हाल देशभर ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेका छन् ।
जनशक्ति अभावमा सहयोगमा दिईएको भेन्टिलेटर प्रयोगविहीन
फाइल फाेटाे काठमाडौं । दक्ष जनशक्ति अभावमा झापाका दुई स्थानीय तहलाई दाताले उपलब्ध गराएका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । कोरोना सङ्क्रमण बढेपछि बिरामीको उपचारमा सहजता ल्याउन आनीछोइङ डोल्मा फाउण्डेशनले गत जेठ २७ गते झापाको अर्जुनधारा र बिर्तामोड नगरपालिकालाई एक/एक थान भेन्टिलेटर सहयोगस्वरुप उपलब्ध गराएको थियो । दक्ष जनशक्ति नहुँदा हाल उक्त दुवै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् । दक्ष जनशक्ति र भौतिक संरचना अभावका कारण भेन्टिलेटर उपयोग गर्न नसकिएको बिर्तामोडका स्वास्थ्य शाखा प्रमुख तुलसीराम पोखरेलले बताए । “नगर अस्पताल निर्माण भइरहेको छ । तर जनशक्ति र भौतिक संरचना अभावमा भेन्टिलेटर प्रयोगमा आउन सकेको छैन । हामीले सुरक्षित रुवमा भेन्टिलेटर राखेका छौँ”, उनले भने । अर्जुनधारामा रहेको भेन्टिलेटर पनि प्रयोगविहीन अवस्थामा छ । अर्जुनधारामा कोरोना भाइरसको सङ्क्रमण सुरु भएको पहिलो लहरका बेला स्वास्थ्य सेवा विभागले दिएको एक थान ‘पोर्टेबल’ भेन्टिलेटर उपलब्ध गराएको थियो । फाउण्डेशनले दिएको एक थान र विभागको एक गरी दुई थान भेन्टिलेटर रहेको नगर स्वास्थ्य शाखा प्रमुख केशव रिजालले जानकारी दिए । उनका अनुसार एक थान शनिश्चरे अस्पतालमा र एक थान आइसोलेशन सेन्टरमा भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ । “भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ । तर सञ्चालनका लागि पर्याप्त जनशक्ति छैन,” उनले भने । भेन्टिलेटर सञ्चालनका लागि एक मेडिकल अधिकृत र एक नर्सिङ स्टाफलाई तालिम दिइएको छ । दुई जनशक्तिले मात्र दुईवटै भेन्टिलेटर सञ्चालन गर्न नसकिने उनको भनाई छ । कतिपय अस्पतालमा भेन्टिलेटर अभावमा कोरोना भाइरसका मात्र नभई अन्य बिरामीको उपचार गर्न सकस भइरहेका छ भने जनशक्ति र भौतिक संरचनाको अभावमा सरकार एवं दाताले उपलब्ध गराएका भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् ।