साेमबार एक हजार ८०१ सङ्क्रमित थपिए, उपत्यकामा मात्रै ७०८
काठमाडाैं । बितेका २४ घण्टामा एक हजार ८०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको सङ्ख्या आठ लाख २९ हजार ४४३ पुगेको छ । थप आठ हजार ७०४ जनाको पीसीआर परीक्षण तथा दुई हजार ६२२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर विधिबाट एक हजार ५४८ तथा एन्टिजेनबाट २५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म सात लाख ९७ जना कोरोनाबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ९२४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलव पाँच प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ३५१ रहेको छ । बितेका २४ घण्टमा देशभर १२ हजार ३४४ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ६७९ सङ्क्रमितको सघन उपचार कक्षमा तथा १७६ सङ्क्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ । काठमाडौं उपत्यकामा ७०८ सङ्क्रमित काठमाडौं उपत्यकामा पछिल्लो समय ७०८ सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ४४१, ललितपुरमा १६७ तथा भक्तपुरमा १०० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १८२, भक्तपुरमा एक हजार ४११ तथा ललितपुरमा दुई हजार २४० रहेको छ । थप २४ सङ्क्रमितको मृत्यु पछिल्लो समय देशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २४ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ५३३ पुगेको मन्त्रालयले जनाएको छ ।
जापानबाट ५ लाख मात्रा खोप आइपुग्यो, प्रदेश १ र २ का ज्येष्ठ नागरिकलाई लगाइने
काठमाडाैं । जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा खोप आज नेपाल आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार आज आएकोसँगै जापानबाट अनुदानमा उपलब्ध गराउने भनिएको १६ लाख १४ हजार ७४० मात्रा खोप आइसकेको छ । यसअघि साउन २३ र २४ गते नौ लाख मात्रा र यही भदौ ५ गते दुई लाख आठ हजार ७०० मात्रा खोप नेपाल आएको थियो । जापानबाट उपलब्ध भएको खोप प्रदेश नं. १ र २ का ज्येष्ठ नागरिकलाई लगाइने उनले जानकारी दिए । गत फागुनमा कोभिसिल्ड लगाएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मन्त्रालयले एस्ट्राजेनिका खोप लगाइरहेको छ । भारतबाट खरिद गरिएको कोभिसिल्ड खोप नआएपछि सरकारले जापानबाट अनुदानमा एस्ट्राजेनिका खोप ल्याएको हो । यसैगरी मन्त्रालयका प्रवक्ता डा पौडेलले चीनबाट अनुदानमा थप १६ लाख मात्रा भेरोसेल खोप समेत चाँडै नै आउने बताए । उनले नियमित आउने खोप ५० वर्ष मुनिका र प्राथमिकतामा परेकालाई लगाइने जानकारी दिए । नेपालमा अहिलेसम्म करिव एक करोड ४० लाख मात्रा खोप आइसकेको छ । अहिलेसम्म ४९ लाख ४२ लाख २५० जनाले पहिलो मात्रा र ३८ लाख ४६ हजार ७३६ जनाले पूर्ण मात्रामा खोप लगाइसकेको छन् ।
देशभरकाे अस्पताहरुमा २० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ: राज्यमन्त्री श्रेष्ठ
चितवन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालहरूका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताएका छन् । भरतपुर अस्पतालमा आज आयोजित स्वागत कार्यक्रममा उनले चिकित्सक, नर्स र प्यारामेडिकलको दरबन्दी थप्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । गरिब जनताले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले सरकारी अस्पतालहरुलाई साधन, स्रोत र जनशक्ति अभाव हुन दिन नहुनेमा जोड दिए । भरतपुर अस्पतालले सम्पूर्ण सेवा दिन नसकेका कारण भरतपुरका गल्लीगल्लीमा अस्पताल खुलेको बताउँदै अस्पताललाई के उपकरणको समस्या हो त्यसबारेमा जानकारी दिन आग्रह गरे । उनले भने, ‘समस्या के हो जानकारी दिनुहोस् पाँच/दश करोड बजेटको समस्या हुँदैन ।’ उनले आगामी असोज महिनाभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई र चैत महिनाभित्र शत्प्रतिशत जनसङ्ख्यालाई कोरानोविरुद्धको खोप लगाइने बताए । राज्यमन्त्री श्रेष्ठले नेपालमा सबै जनसङ्ख्यालाई करिब पाँच करोड ५० लाख खोप आवश्यक रहेकामा पाँच करोड २५ लाख खोपको सम्झौता भइसकेको जानकारी दिँदै उनले भने, ‘हाम्रो भण्डारण क्षमता २५ लाख खोप मात्र हो । त्यसैले खोप लगाउँदै फेरि ल्याउँदै गर्नु परेको छ ।’ सरकारको ध्यान कोरोना परास्त गर्नमा केन्द्रित रहेको बताउँदै उनले केही दिनमा पीसीआर र एन्टिजेन परीक्षणलाई पूर्ण रुपमा निःशुल्क गर्ने योजना रहेको जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नजिकै रहेको क्यान्सर अस्पतालमा चिकित्सक र नर्सको तलब दुई गुणा बढी हुँदा भरतपुर अस्पतालमा भने फरक देखिएकामा सो हुन नहुने धारणा व्यक्त गरे । भरतपुर अस्पतालका शैक्षिक कार्यक्रम संयोजक प्राडा कृष्ण पौडेलले सरकारको आफ्नै मेडिकल कलेज बन्नुपर्ने बताए । उनले भरतपुर अस्पतालमा रहेको मदन भण्डारी ट्रमा सेन्टर र मदन भण्डारी प्रतिष्ठान हेटाैँडामा सारिएको भन्दै भरतपुर अस्पताललाई उचाइमा पु¥याउन अस्पतालबाट सेवाहरू अन्यत्र सार्ने नभई अन्यत्रबाट ल्याएर भए पनि थप गर्नुपर्ने बताए । भरतपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा भोजराज अधिकारीले आफूहरू अस्पतालका लागि चाहिने सेवा तथा सामग्रीहरू माग्न मन्त्रालय जाँदा कहाँ र कसलाई भेट्ने हो भन्ने विषयमा अन्योल हुने गरेको गुनासो गरे । उनले चिकित्सक आवास र प्रसूति भवन बनाउन र अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनका लागि ढल निकासी तथा स्वच्छ खानेपानीको व्यवस्था गर्नु आवश्यक रहेको बताए । रासस