साेमबार परीक्षण गरेकाे १४ प्रतिशतमा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा परीक्षण गरेको १४ प्रतिशतमा संक्रमण पुष्ट भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार परीक्षण गरेका कुल १६ हजार २३३ जनामा २ हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ११ हजार ८९२ जनाको पिसिआर र ४ हजार ३४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । त्यस्तै कोरोना संक्रमणबाट थप १ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ । कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ७३० पुगेको छ । यस्तै काठमाडौं उपत्यकामा आज थप ९०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६६५, ललितपुरमा १०३ र भक्तपुरमा १३८ जना संक्रमित थपिएका हुन् ।

बागलुङ अब अक्सिजनमा आत्मनिर्भर हुने

गलकाेट । धौलागिरि अस्पताल परिसरमै अक्सिजन प्लान्ट निर्माण गरिने भएकोे छ । बागलुङ जिल्लास्थित उक्त अस्पतालमा असार अगावै प्लान्ट निर्माण गर्ने भनिए पनि समयमै बजेट नआउँदा दुई महिना ढिला भएको अस्पतालले जनाएको छ । अस्पतालको स्तरवृद्धि गरी २०० श्याको प्रदेशस्तरीय उपप्रादेशिक अस्पताल बनाउन लागिएकाले यसलाई पुग्नेगरी र जिल्लाका अन्य अस्पताल तथा स्वास्थ्यचौकीमा पठाउन सकिने गरी प्लान्ट निर्माण गर्न लागिएकोे हो । अस्पतालमा अहिले सिलिण्डरमा भर्न नमिल्ने २५ श्ययालाई मात्र पुग्ने प्लान्ट सञ्चालनमा छ । कोरोनाको दोस्रो लहरका बेला अस्पतालमा एकै पटक ४७ सख्त बिरामी भर्ना भएकाले अक्सिजनको अभाव भएर पोखराबाट दैनिक १२० सिलिण्डर अक्सिजन ल्याउनु परेको थियो । अक्सिजनमा जिल्लालाई आत्मनिर्भर गराउन सरकारले जिल्लाका सबै स्वास्थ्य संस्थामा पुग्नेगरी यहाँ अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको र त्यसका लागि तीन करोड बजेट विनियोजन गरेको थियो । प्लान्टका लागि बोलपत्र आह्वान गर्दा दुई करोड ४० लाखमा उपलब्ध गराउने एक कंपनीसँग सम्झौता भइसकेको अस्पतालका लेखा अधिकृत झलक शर्माले बताए । चीनबाट आयात गर्नेगरी मेडिटेक प्रालिले अक्सिजन प्लान्ट ल्याउने भएकाले अहिले रु २३ लाखको लागतमा पूर्वाधार निर्माणको काम जारी रहेको उनको भनाइ थियो । भदौ मसान्तभित्रै काम सम्पन्न गरी भुक्तानी माग गर्न सङ्घीय सरकारबाट पत्र आएकाले निर्माण शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए । दुई वर्षअघि प्रादेशिक सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको ९० लाखको लागतमा प्लान्ट सञ्चालनमा ल्याइएको थियो । अस्पतालमा अहिले तीन सघन उपचार कक्ष, दुई भेन्टिलेटरसहित ३५ श्याको आइसोलेशन भए पनि पूर्वाधार र जनशक्तिको अभाव छ । अहिले मौजुदा जनशक्तिसमेत घटेकाले सघन उपचार कक्षको सेवासमेत बन्द भएको छ । रासस

कर्णालीमा कोभिड: बालबालिकामा बढ्याे संक्रमण, १९ प्रतिशत संक्रमित

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा पछिल्लो समय कोरोनाको सङ्क्रमण बालबालिकामा देखिन थालेको छ । कोरोनाकोे दोस्रो लहर सुरु भएयता बालबालिका पनि सङ्क्रमित भएका छन् । पहिलो लहरमा बालबालिकामा कमै देखिएको कोरोना सङ्क्रमण दोस्रो लहरमा बढेको हो । कर्णालीमा हालसम्म २० वर्ष मुनिका १९ प्रतिशत बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश स्वास्थ्यसेवा निर्देशनालयका अनुसार यो सङ्ख्या पहिलो भन्दा दोस्रो लहरमा बढी देखिएको छ । प्रदेशमा अहिलेसम्म कूल ३० हजार ८६९ जनामा सङ्क्रमण देखिएकोमा ८० प्रतिशत सङ्क्रमित भने २० वर्षमाथिका छन् । निर्देशनालयका निर्देशक डा रवीन खड्काले बालबालिकामा पनि सङ्क्रमणदर बढ्दो रहेको बताए । ‘बालबालिकामा सङ्क्रमण दर बढ्दो क्रममा देखिन्छ’, खड्का भन्छन्, ‘बालबालिकाले कोभिडविरुद्धको खोप पनि पाएका छैनन् त्यो भएर पनि उनीहरुमा जोखिम बढी हुने आँकलन गरिएको छ ।’ उनका अनुसार पाँच वर्षमुनिका बालबालिकामा भने जोखिम कम रहेको छ । निर्देशक खड्काका अनुसार गतवर्ष पहिलो लहरमा कर्णालीमा चार प्रतिशत बालबालिका मात्र कोरोना सङ्क्रमित भएका थिए । त्यो सङ्ख्या बढेर अहिले १९ प्रतिशत अर्थात् पाँच हजार ५५६ पुगेको छ । पहिलो र दोस्रो लहरमा सबैजसो उमेर समूहलाई प्रभावित पारेको कोभिडको तेस्रो लहरसमेत आउन सक्ने जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको आँकलन छ । उक्त लहरले बालबालिकामा बढी असर गर्ने बताइएको छ । बालबालिकामा बढी सङ्क्रमण हुने देखिएकाले सोहीअनुसारको पूर्व तयारी गर्नुपर्ने निर्देशक खड्काको भनाइ छ । यसैबीच कर्णालीमा पनि तेस्रो लहरको सङ्क्रमणबाट जोगिन पूर्वतयारी थालिएको छ । निर्देशक डा. खड्काले बालबालिकामा जोखिम हुने अनुमान गरेर जिल्लास्थित सबै अस्पतालले २० प्रतिशत बेड छुट्याएको जानकारी दिए । बालबालिकाका लागि उपचारमा आवश्यक पर्ने स्वास्थ्य उपकरण र जनशक्तिको समेत व्यवस्था गरिएको उनको भनाइ छ । त्यसैगरी सघन उपचार कक्ष र भेन्टिलेटर व्यवस्थापन गरिएको छ भने अक्सिजन सिलिण्डरहरु थप गर्ने काम भइरहेको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले बताए । उनले काभिड नियन्त्रणकै लागि कर्णालीमा तीनवटा हिमाली जिल्लाका सबै नागरिकलाई खोप व्यवस्थापन गर्ने गरी तयारी अघि बढाइएको बताए । ‘जहाँ कम जनसङ्ख्या रहेका जिल्लाहरु छन् त्यहाँका सबै नागरिकलाई खोपको व्यवस्था गर्ने गरी काम अघि बढाएका छौ’, चौधरीले भने, ‘हिमाली जिल्लासँगै सबैभन्दा बढी कोभिडबाट प्रभावित रहेको सुर्खेतमा पनि सबै नागरिकलाई खोप दिने गरी तयारी गरिरहेका छाैं ।’ यस्तै, निर्देशनालयले उपचारका लागि प्रदेशका तीन वटा अवस्थामा भाइरस सङ्क्रमणको वर्गीकरण गर्ने व्यवस्था मिलाएको छ । उपचारलाई सहज बनाउन सङ्क्रमितको स्वास्थ्य अवस्थाअनुसार भाइरसको वर्गीकरण गरिएको हो । सोही आधारमा निर्देशनालयले मापदण्डसमेत बनाएको छ । सामान्य, मध्यम र जटिल अवस्था वर्गीकरण गरी त्यसकै आधारमा समुदाय, जिल्ला तह र प्रदेश अस्पतालमा उपचारको प्रबन्ध गरिएको बताइएको छ । कर्णालीमा हालसम्म कोरोना सङ्क्रमणबाट ३६८ जनाको ज्यान गएको छ । झन्डै एक हजार हाराहारीमा सक्रिय सङ्क्रमित अहिले पनि छन् । पछिल्ला दिनमा गम्भीर बिरामीको सङ्ख्या धेरै नभए पनि सङ्क्रमण दर भने बढ्दो छ । रासस