थप २ हजार ४८२ संक्रमित थपिदा १ हजार ७८१ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७११ पीसीआर परीक्षणमा १ हजार ८६२ र ५ हजार ५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ७८१ जना संक्रमणमुक्त भएका छन् र ४४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ। यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७४५ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ जना संक्रमित थपिएका हुन्। अहिले सक्रिय संक्रमित ३८ हजार २८७ रहेको मन्त्रालयले जनाएको छ। त्यसमध्ये ३५ हजार २५० जना होम आइसोलेसन र ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा छन्।

केन्द्रीय कारागारका सबै कैदीबन्दीले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं । मुलुकको सबैभन्दा पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलका सबै कैदीबन्दीलाई कोरोना खोप लगाइएको छ । विसं १९७१ मा स्थापना भएको उक्त कारागारमा रहेका सबै कैदीबन्दीलाई दुवै खोप लगाइसकिएको कारागारका जेलर वेदनिधि अधिकारीले जानकारी दिए । नयाँ आउने कैदीबन्दीलाई भने अलग राखेर खोप लगाइने गरेको उनको भनाइ छ । तीन हजार २१५ कैदीबन्दी रहेको केन्द्रीय कारागारभित्र तीन जेल रहेका छन् । हाल सो जेलमा एक हजार ८२२, भद्र जेलमा एक हजार ३८ र महिला जेलमा ३५५ कैदीबन्दी छन् । उक्त जेलमा १६ नाबालकसमेत छन् । कोरोनाको पहिलो चरणमा केन्द्रीय कारागारमा कोरोना सङ्क्रमणका कारण आठ जनाको निधन भए पनि दोस्रो चरणको कोरोनाबाट कसैले पनि ज्यान नगुमाएको जेलर अधिकारी बताउँछन् । काठमाडौँको डिल्लीबजारमा समेत अर्को जेल रहेका कारण महिला कैदीबन्दीलाई भने केन्द्रीय कारागारमा मात्र राखिँदै आएको छ । केन्द्रीय कारागार परिसरभित्र कैदीबन्दीको उपचारका लागि अस्पतालसमेत सञ्चालनमा छ । कूल ३० शय्या क्षमता रहेको उक्त अस्पतालमा छाला, मधुमेह, जन्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने र सुनिनेलगायतका रोगको उपचार हुँदै आएको छ । अदालतबाट मुद्दा फैसला भई कारागार सजाय भोगिरहेकालाई ‘कैदी’ र अदालतमा मुद्दा चलिरहेका तर फैसला नभई कारागार सजाय भोगिरहेकालाई ‘बन्दी’ भनिन्छ । बयालीस रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रीय कारागारमा एक हजार ७८४ कैदी र एक हजार ४३१ बन्दी छन् । कारागार व्यवस्थापन विभागका अनुसार देशभरका ७२ जिल्लामा ७४ कारागार छन् । काठमाडौँ र दाङमा दुई÷दुई कारागार छन् । भक्तपुर, बारा, धनुषा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैनन् । हाल देशभरका ७४ वटै कारागारमा पुरुष कैदीबन्दी रहेका छन् भने ५३ कारागारमा मात्र महिला कैदीबन्दी छन् । यस्तै भक्तपुर, कास्की, विराटनगर, मकवानपुर, पर्सा, रुपन्देही, बाँके र डोटीमा भने बालसुधार केन्द्रसमेत सञ्चालनमा छन् । हाल देशभर झण्डै ३० हजार कैदीबन्दी छन् । देशभर कारागारको क्षमता भने १६ हजार मात्र हो । पछिल्लो समय देशभर कैदीबन्दीको सङ्ख्या बढेसँगै सरकार नुवाकोट र बाँकेमा कारागार निर्माणमा जुटेको छ । दश हजार कैदीबन्दी राख्ने क्षमताका साथ निर्माण गर्न लागिएको नुवाकोटमा ५३५ रोपनी र बाँकेमा १० बिघा जग्गा लिएर कारागार निर्माणको काम अगाडि बढाइएको छ । नुवाकोटमा सात हजार ५०० र बाँकेमा तीन हजार कैदीबन्दी राख्न मिल्ने कारागार व्यवस्थापन विभागले जनाएको छ । सरकारले तीन महिनाभित्र केन्द्रीय कारागारका कैदीबन्दीलाई नुवाकोटमा निर्माण हुँदै गरेको कारागारमा सार्ने गरी गृहकार्यसमेत सुरु गरेको छ । केन्द्रीय कारागारका जेलर अधिकारीले तीन महिनाभित्र केन्द्रीय कारागारका कैदीबन्दीलाई नुवाकोट स्थानान्तरण गर्नका लागि गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, प्रमुख जिल्ला अधिकारी नुवाकोट र सुरक्षा निकायका प्रतिनिधि भवन निर्माणबारे अध्ययन, अवलोकन गरेर काठमाडौँ फर्किसकेको बताए । सम्भाव्यता अध्ययनका क्रममा चाँडै कारागार भवन निर्माण सम्पन्न गर्न निर्देशन दिइएको उनको भनाइ थियो । केन्द्रीय कारागारका कैदीबन्दीलाई नुवाकोटमा स्थानान्तरण गरेसँगै उक्त स्थानलाई ‘म्युजियम’ बनाउने सरकारले लक्ष्य लिएको छ । रासस

मंगलबार काठमाडौं उपत्यकामा ६८९ सङ्क्रमित थपिए

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६८९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँमा ५१८, ललितपुरमा ११९ तथा भक्तपुरमा ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ८८३, भक्तपुरमा एक हजार ४१६ तथा ललितपुरमा दुई हजार २५९ जना रहेको छ ।