स्टार अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात

काठमाडौं । सानेपास्थित स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ । इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेटफर्ममा स्टार अस्पताल आवद्ध भएसँगै अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो । योसँगै अबदेखि स्टार अस्पतालमा डाक्टरसँगको परामर्शका लागि अपोइन्टमेन्ट बुकिङ्ग तथा भुक्तानी इसेवा मोबाईल एप्लिकेशन मार्फत गर्न सकिने छ । इसेवा मोबाइल वालेट भित्र हेल्थ सेक्सनमा गइ स्टार अस्पताल छनोट गरी आफुलाई सहज हुने मिति र समय छनोट गरि डाक्टरको अपोइन्टमेन्ट बुक गर्न र डिजिटल रुपमा तत्काल भुक्तानी गर्न सकिने छ । कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।

वैदेशिक रोजगारीमा जाने सबै कामदारको पीसीआर परीक्षण नि:शुल्क

काठमाडौं । अबदेखि वैदेशिक रोजगारीमा जाने सबै कामदारको पीसीआर परीक्षण निस्शुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको लागि नि:शुल्क पिसीआर परीक्षणको व्यवस्था गरेको हो । संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभुति दिने अभिप्रायले यस्तो निर्णय गरेको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा जाने कामदारले सरकार अन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकू, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट नि:शुल्क पीसीआर परीक्षण गराउन पाउनेछन् ।

फ्रि ओपिडी पुनः सुरु गर्दै नर्भिक, यो साता यूरोलोजी टिमले सेवा दिने

काठमाडौं । कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान यो सातादेखि पुनः सुरु हुने भएको छ । नर्भिक अस्पतालले कोभिडको तेश्रो लहर सुरु हुनुअघिदेखि प्रत्येक शनिवार विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्दै आएको थियो । सो अभियान कोभिडको तेश्रो लहर सुरु भएपछि केही साता बन्द रहेकाे थियो । कोभिडको तेश्रो लहरको प्रभाव निकै न्यून भएसँगै नर्भिकले प्रत्येक शनिबारको फ्री ओपिडी सेवालाई पुनः सुचारु गर्ने निर्णय गरेको हो । यो निर्णयअनुसार भोलि(शनिबार) नर्भिक अस्पतालको यूरोलोजी टिमले निःशुल्क ओपिडी सेवा संचालन गर्नेछ । यो दिन प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले सेवा दिनेछ । केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा संचालन हुने समय समेत परिवर्तन भएको छ । पहिला बिहान १० देखि १२ बजेसम्म यस्तो सेवा संचालन हुने गरेकोमा अबदेखि भने बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म(२ घण्टा) संचालन हुनेछ । मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले निःशुल्क ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिनसक्नेछन् ।