नर्भिकले फागुन २१ गते बाँझोपन र स्त्री रोगको नि:शुल्क शिविर गर्ने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतकाे नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसरमा फागुन २१ गते शनिबार नि:शुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । बरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले आगामी शनिबर बिहान १० देखी ४ बजेसम्म बिरामीहरुको बाँझोपन तथा स्त्री रोगसम्बन्धमा नि:शुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श एवम् उपचार गर्ने अस्पतालले जनाएको छ । नेपाली समाजमा बाँझोपनको समस्या बिकराल बन्दै गइरहेका बेला गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई अभिवृद्वि गर्ने उद्देश्यले एकदिने नि:शुल्क स्वास्थ्य शिविर गर्न लागिएको नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बताए । मिश्रकाे अनुसार शिविरमा नि:शुल्क स्वास्थ्य परीक्षण र परामर्शका साथै टिभिएसमा २० प्रतिशत छुट तथा ल्याब परीक्षणमा १० प्रतिशत छुटको अफर समेत रहेकाे छ । शिविरमा सहभागी भएका बिरामीको परीक्षणमा शल्यक्रिया गर्नुपर्ने भए स्त्री रोगसम्बन्धी ल्याप्रोस्कोपिक सर्जरीमा बिरामीलाई अप्रेशन शुल्कको २० प्रतिशतसम्म छुट दिइने अस्पतालले जनाएको छ । नर्भिक अस्पतालको आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विशेष पर्व, उत्सव तथा दिनहरुमा स्वास्थ्य जाच लगायतका सेवाहरुमा छुटको अफर यसअघिदेखि नै सार्वजनिक गर्दै आएको छ ।  

स्टार अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात

काठमाडौं । सानेपास्थित स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ । इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेटफर्ममा स्टार अस्पताल आवद्ध भएसँगै अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो । योसँगै अबदेखि स्टार अस्पतालमा डाक्टरसँगको परामर्शका लागि अपोइन्टमेन्ट बुकिङ्ग तथा भुक्तानी इसेवा मोबाईल एप्लिकेशन मार्फत गर्न सकिने छ । इसेवा मोबाइल वालेट भित्र हेल्थ सेक्सनमा गइ स्टार अस्पताल छनोट गरी आफुलाई सहज हुने मिति र समय छनोट गरि डाक्टरको अपोइन्टमेन्ट बुक गर्न र डिजिटल रुपमा तत्काल भुक्तानी गर्न सकिने छ । कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।

वैदेशिक रोजगारीमा जाने सबै कामदारको पीसीआर परीक्षण नि:शुल्क

काठमाडौं । अबदेखि वैदेशिक रोजगारीमा जाने सबै कामदारको पीसीआर परीक्षण निस्शुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको लागि नि:शुल्क पिसीआर परीक्षणको व्यवस्था गरेको हो । संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभुति दिने अभिप्रायले यस्तो निर्णय गरेको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा जाने कामदारले सरकार अन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकू, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट नि:शुल्क पीसीआर परीक्षण गराउन पाउनेछन् ।