धेरै औषधिको गुण भएको रातो च्याउको व्यवसायिक उत्पादन तथा विक्री सुरू
काठमाडौं । धेरै औषधिको गुण भएको गानोडोर्मा (रातो) च्याउको व्यवसायिक उत्पादन गरी नेपाली बजारमा विक्री वितरण सुरू गरिएको छ । भैरब च्याउ उद्योग प्रालि तानसेन–८ जरेपिपल, पाल्पामा उत्पादन हुँदै आएको उक्त रातो च्याउको काठमाडौंबाट बालाजुस्थित गुराँस खाद्य उद्योग प्रालिले विक्री वितरण सुरु गरेको हो । गानोडोर्मा ९रातो० च्याउ एक लोकप्रिय औषधीय गुण भएको बहुउपयोगी च्याउ हो । यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । स्वास्थ्य र आयु प्रत्याशामा प्रवद्र्धन प्रभावको कारण यो च्याउ प्राय मानव चिकित्सामा प्रयोग गरिँदै आएको छ । यो च्याउलाई भैरव च्याउ उद्योगले आधुनिक ल्याबमा उत्पादन गरी बसक्री वितरणमा ल्याएको उद्योगका अध्यक्ष केशब बहादुर कार्कीले जानकारी दिएका छन् । अध्यक्ष कार्कीका अनुसार यो च्याउ नेपालको जंगलमा पनि पाईन्छ । ‘यसको आकार पंखा जस्तै फैलिएको हुन्छ । यो च्याउ अरु च्याउ जस्तो नरम र मीठो हुँदैन । यो काठ जस्तो साह्रो हुन्छ र स्वाद पनि तीतो हुन्छ । त्यसैले यो च्याउ अन्य च्याउ जस्तै तरकारी बनाएर खान सकिन्न । सुकाएको रातो च्याउको टुक्राहरु पानीमा उमालेर रस चियाको रुपमा पिउन पर्ने हुन्छ,’ उनले भने । रातो च्याउमा पोलीसचाराइडर, ट्रिटरपेनोइड, अर्गानिक जर्मनियम, एमिनो एसिड्स जस्ता औषधीय तत्वका साथै प्रोटिन भिटामिन्स्, मिनरल, माइक्रोनट्रियन्टस् इत्यादि पौष्टीक तत्वहरु पनि पाइने हुनाले विभिन्न रोगहरु लागेका बिरामीलाई पनि यसले फाइदा गर्ने अध्यक्ष कार्कीले बताए । ‘औषधीय र पौष्टीक तत्वले भरिपूर्ण भएका कारण पनि विश्वभर यो च्याउको प्रयोग बढ्दै गएको छ । यो च्याउ क्यान्सर र एचआईभी एड्स रोगीका लागि अति उत्तम मानिन्छ,’ उनले भने । गुराँस खाद्य उद्योगले ल्याएको रातो च्याउको खुद्रा मूल्य प्रतिकिलो २० हजार रुपैयाँ पर्ने र होलसेलमा खरिद क्षमता हेरि १२ देखि १५ हजार रुपैयाँसम्म पर्ने अध्यक्ष कार्कीले जानकारी दिए ।
मंकीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग भएको पुष्टि
काठमाडौं । मंकीपक्स रोग लागेको आशंका गरिएका युवामा कुष्ठ रोग लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पतालमा मकीपक्सको आशंका गरिएको ती २६ युवकमा कुष्ट रोगको पुष्टि गरेको हो । शुक्रबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँच गर्दा २६ वर्षको व्यक्तिमा कुष्ठरोगको पुष्टि भएको जनाएको हो । बिहीबार उक्त व्यक्तिलाई शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल टेकुमा स्वास्थ्य परीक्षणका लागि लगिएको थियो। उक्त व्यक्तिको स्वास्थ्य परीक्षण गर्दा कुष्ठरोगको जिवाणु भेटिएको शुक्रराज ट्रफिकलकी प्रवक्ता डाक्टर संगिता कौशल मिश्राले विज्ञप्ति मार्फत जनाएकी छन् । हेर्नुहोस स्वास्थ्य मन्त्रालयको विज्ञप्ति :
अब बागमती प्रदेशका विपन्नले रगत निःशुल्क पाउने
काठमाडौं । बिरामीलाई सुलभ र निःशुल्क रगत उपलब्ध गराउनका लागि सरकारको लगानी बढाउन नेपाल रेडक्रस सोसाइटीका निकाय, रक्तदाता सङ्घसंस्था र नागरिक समाजले गरिरहेको पहलले अर्को सफलता प्राप्त गरेको छ । काठमाडाैंस्थित कान्ति बाल अस्पताल महाराजगञ्ज र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचार गर्ने बागमती प्रदेशका विपन्न बासिन्दाले यही असार १ गतेदेखि निःशुल्क रगत सेवा पाउने भएको छन् । यसका लागि केन्द्रीय रक्तसञ्चार सेवा विभाग र जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंबीच सम्झौता भएको छ । सो सम्झौतामा विभागका निर्देशक दिव्यराज पौडेल र कार्यालयका प्रमुख वसन्त अधिकारीले हालै हस्ताक्षर गरेका थिए । यसमा लाग्ने खर्च बागमती प्रदेश सरकारले बेहोर्ने जनाइएको छ । यसअघि काठमाडौंको वीरअस्पताल र टोखा चन्डेश्वरी अस्पतालमा उपचार गर्ने बागमती प्रदेशका विपन्न बासिन्दाले गत चैतदेखि निःशुल्क रगत सेवा पाउने गरी केन्द्रीय रक्तसञ्चार सेवा विभाग र जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंबीच सम्झौता भएको थियो । काठमाडौंका अन्य सरकारी अस्पतालमा पनि यो सेवा विस्तार गर्न पहल भइरहेको छ । बागमती प्रदेशको अरू जिल्लामा पनि यस्तै खालको सम्झौता हुन लागेका विभागका निर्देशक पौडेलले जानकारी दिए । यसअघि कीर्तिपुर र टोखा नगरपालिकाका बासिन्दालाई निःशुल्क रक्तसेवा उपलब्ध गराउन पालिका र रेडक्रसबीच सम्झौता भइसकेको उनले बताए । गण्डकी प्रदेशमा प्रदेश सरकारको आर्थिक सहयोगमा गत फागुन १ गतेदेखि रेडक्रसका निकायले निःशुल्क रक्तसेवा सुरु गरिसकेका छन् । अन्य प्रदेशमा पनि विभिन्न पालिकाको आर्थिक सहयोगमा ती पालिका क्षेत्रमा निःशुल्क सेवा अभियान बढ्दै छ ।