नर्भिकले विराटनगरमा पनि आइभिएफ सेन्टर सञ्चालन गर्ने
काठमाडौं । नर्भिक अस्पतालको अन्तराष्ट्रिय स्तरको आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाडौंबाहिर पनि विस्तार हुने भएको छ । नर्भिकको आइभिएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा समेत विस्तार हुने भएको हो । नर्भिक अन्तराष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार निकट भविष्यमै सेवा सञ्चालन गर्ने गरी विराटनगरमा आइभिएफ सेन्टर निर्माणको काम सुरु गरिएको छ । विराटनगरको शनिहाट क्षेत्रमा सुविधासम्पन्न नर्भिक आइभिएफ सञ्चालन हुने उनले बताए । नर्भिकले थापाथलीमा भने २०७८ को असार तेश्रो साताबाट अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको अत्याधुनिक आइभिएफ एण्ड फर्टिलिटि सेन्टर संचालनमा ल्याएको थियो । सेवाग्राहीहरुको मागअनुसार नै काठमाडौंमा सीमित यो सेवालाई अन्यत्र पनि विस्तार गर्न लागिएको मिश्रले जानकारी दिए । हाल काठमाडौंमा रहेको आइभिएफ टिमले नै विराटनगरमा पनि सेवा दिने उनले बताए । नर्भिकको यस सेन्टरमा वंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत रहेको छ । प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भ्रूणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले वंशाणुगत रोगको जोखिम निराकरण गर्न सकिन्छ ।
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
गण्डकी । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो । गत जेठ २४ गते गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभासमक्ष प्रस्तुत गरेका थिए । यसअघि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धि र विकासका लागि प्रमुख प्रतिपक्षका नेतासहित प्रदेशसभा सदस्यबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै अघि बढ्ने बताए । प्रदेशको समृद्धि र विकासका लागि नै सदस्यबाट सुझाव प्राप्त भएको उल्लेख गर्दै उनले प्रदेशका सोच तथा दृष्टिकोण मूलत नेपालको संविधान, १५ औँ आवधिक योजना, दीगो विकास लक्ष्य र प्रदेशवासीको विकास, चाहना तथा राजनीतिक दलको विकास प्रतिबद्धता तथा प्रदेशसभाको मार्गदर्शन बमोजिम तय भएको बताए । कोभिड महामारीले थला पारेको आर्थिक र सामाजिक जीवनलाई सहज बनाउनेतर्फ यस नीति तथा कार्यक्रमले जोड दिएको उनले बताए । दशकौँदेखिको सङ्घर्षबाट प्रप्त सङ्घीयताको मूल आधार प्रदेश सरकार भएको बताउँदै उनले यसले प्रदेश स्थापनाको छोटो समयमा सङ्घीयताको सबलीकरण, लोकतन्त्रको सुदृढीकरण र जनताको विकासको आवश्यकताको सम्बोधनलगायतमा उल्लेख्य उपलब्धि हासिल गरेको बताए । सङ्घ र स्थानीय सरकारको बीचमा रहेर समन्वयकारी भूमिकासँगै जनतालाई सेवा प्रवाह गर्ने सवालमा महत्वपूर्ण फड्को मारेको उनले बताए । कोभिडपछि नागरिक जनजीवन साथै आर्थिक गतिविधिले पुनःलय समातेको उनले बताए । सेवा उद्योगले विस्तारै पुर्नजीवन पाउँदै गरेको मुख्यमन्त्री पोखरेलले बताए । सहकारिता, सहअस्तित्व र समन्वयको भावनालाई आत्मसात् गर्दै तीन तहका सरकारबीचको अन्तर सम्बन्धलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याइएको उनले बताए । सरकारको एकल प्रयासमा मात्र समृद्धि सम्भव नहुने कुरालाई दृष्टिगत गर्दै नीति तथा कार्यक्रममा निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिइएको उनले बताए । सहकारीलाई पनि आर्थिक समृद्धिको साझेदारका रुपमा राखिएको उनले बताए । स्वास्थ्यमा बालबालिका किशोरी तथा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखिएको उनले बताए । कृषिको आधुनिकीकरण, यान्त्रिकीकरणसँगै आधारभूत खाद्यान्नमा आत्मनिर्भर बन्ने विषयमा सरकारले जोड दिएको उनको भनाइ थियो । उत्पादन तथा उत्पादकत्व वृद्धिसँगै यसलाई बजारसँग जोड्ने गरी कार्यक्रम अघि सारिएको बताउँदै उहाँले जलवायुमैत्री नमूना कृषि गाउँलाई थप प्रभावकारी बनाउने बताए । विगत सरकारले ल्याएका कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख गर्दै गण्डकीलाई प्रमुख पर्यटकीय गन्तव्य र पोखरालाई पर्यटनको राजधानी बनाउन सङ्घ सरकारलाई आग्रह गरिएको उनले बताए । प्रदेशका लगानी भित्र्याउनका लागि लगानी सम्मेलन गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएको उनले बताए । प्रदेश गौरवको आयोजनाअन्तर्गत उत्तर दक्षिण दु्रुतमार्ग अन्तर्गतको भिमाद, डेढगाउँ, झ्यालवास, चोरमारा, दुम्कीवास, त्रिवेणीखण्ड आयोजनालाई आगामी दुई वर्षमा पूरा गर्ने एवं शालिग्राम करिडोर र बुद्धसिंह मार्ग निर्माण कार्यलाई तीव्रता दिइने मुख्यमन्त्री पोखरेलले बताए । प्रदेशमा निर्माणाधीन ठूला आयोजना समयमा नै सम्पन्न गर्ने वातावरण तयार गरिने उनको भनाइ छ । रासस
बजारमा विषादी प्रयोग गरी पकाइएको आँप, नखान चिकित्सकहरु सुझाव
जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधामलगायत सहरमा कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको पाइएको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका हुन् । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्वाइड प्रयोग गरी पकाइएका आँप राजधानी जनकपुरधामसहित सहरहरुमा बिक्री भइरहेको स्थानीयवासीले बताए । विषादी प्रयोग गरेर पकाइएको आँपले स्वास्थ्यमा असर पार्ने भएकाले त्यस्तो आँप नखान चिकित्सकहरुले सुझाए । जिल्ला प्रशासन कार्यालयले पनि केही दिनअघि सूचना जारी गरी विषादी हालेर पकाइएको आँप बिक्री वितरण गर्न रोक लगाए पनि व्यापारीले चोकचोकमा खुलेआम विषादी हालेको आँपको विक्री गरिरहेको स्थानीयवासीको भनाइ छ । विषादी प्रयोग गरी पकाइएको आँप विक्रीवितरण गर्ने व्यापारीलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो । आँप उत्पादनको दृष्टिकोणले अग्रणी मानिएको सिरहा र सप्तरी जिल्लामा पनि विषादी हालेर पकाइएको आँप बिक्री भइरहेको बताइएको छ ।