काठमाडौं । धेरै औषधिको गुण भएको गानोडोर्मा (रातो) च्याउको व्यवसायिक उत्पादन गरी नेपाली बजारमा विक्री वितरण सुरू गरिएको छ । भैरब च्याउ उद्योग प्रालि तानसेन–८ जरेपिपल, पाल्पामा उत्पादन हुँदै आएको उक्त रातो च्याउको काठमाडौंबाट बालाजुस्थित गुराँस खाद्य उद्योग प्रालिले विक्री वितरण सुरु गरेको हो ।
गानोडोर्मा ९रातो० च्याउ एक लोकप्रिय औषधीय गुण भएको बहुउपयोगी च्याउ हो । यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । स्वास्थ्य र आयु प्रत्याशामा प्रवद्र्धन प्रभावको कारण यो च्याउ प्राय मानव चिकित्सामा प्रयोग गरिँदै आएको छ ।
यो च्याउलाई भैरव च्याउ उद्योगले आधुनिक ल्याबमा उत्पादन गरी बसक्री वितरणमा ल्याएको उद्योगका अध्यक्ष केशब बहादुर कार्कीले जानकारी दिएका छन् ।
अध्यक्ष कार्कीका अनुसार यो च्याउ नेपालको जंगलमा पनि पाईन्छ । ‘यसको आकार पंखा जस्तै फैलिएको हुन्छ । यो च्याउ अरु च्याउ जस्तो नरम र मीठो हुँदैन । यो काठ जस्तो साह्रो हुन्छ र स्वाद पनि तीतो हुन्छ । त्यसैले यो च्याउ अन्य च्याउ जस्तै तरकारी बनाएर खान सकिन्न । सुकाएको रातो च्याउको टुक्राहरु पानीमा उमालेर रस चियाको रुपमा पिउन पर्ने हुन्छ,’ उनले भने ।
रातो च्याउमा पोलीसचाराइडर, ट्रिटरपेनोइड, अर्गानिक जर्मनियम, एमिनो एसिड्स जस्ता औषधीय तत्वका साथै प्रोटिन भिटामिन्स्, मिनरल, माइक्रोनट्रियन्टस् इत्यादि पौष्टीक तत्वहरु पनि पाइने हुनाले विभिन्न रोगहरु लागेका बिरामीलाई पनि यसले फाइदा गर्ने अध्यक्ष कार्कीले बताए ।
‘औषधीय र पौष्टीक तत्वले भरिपूर्ण भएका कारण पनि विश्वभर यो च्याउको प्रयोग बढ्दै गएको छ । यो च्याउ क्यान्सर र एचआईभी एड्स रोगीका लागि अति उत्तम मानिन्छ,’ उनले भने ।
गुराँस खाद्य उद्योगले ल्याएको रातो च्याउको खुद्रा मूल्य प्रतिकिलो २० हजार रुपैयाँ पर्ने र होलसेलमा खरिद क्षमता हेरि १२ देखि १५ हजार रुपैयाँसम्म पर्ने अध्यक्ष कार्कीले जानकारी दिए ।