दुई मेडिकल कलेजले पाएनन् एक अर्ब बढी बीमा भुक्तानी, सेवा रोक्ने घोषणा
काठमाडौं । विभिन्न दुई मेडिकल कलेजले बीमा सेवा बन्द गर्ने भएका छन् । स्वास्थ्य बीमा बोर्डले एक अर्बभन्दा बढी भुक्तानी नदिएको भन्दै बिर्तामोडको बिएण्डसी मेडिकल कलेज र विराटनगरको नोबेल मेडिकल कलेजले बीमा सेवा बन्द गर्न लागेका हुन् । बुधबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै उनीहरुले आगामी असार २० गतेदेखि स्वास्थ्य बीमा सेवा बन्द गर्न लागेको जानकारी गराएका हुन् । बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले बोर्डबाट आगामी असार २० गतेभित्र बीमावापतको रकम नपाए सेवा नै बन्द गर्ने तयारीमा आफू रहेको बताए । ‘असार २० गतेभित्र बाँकी रहेको भुक्तानी गर्न बीमा बोर्डलाई आग्रह गर्छौं, सो अवधिसम्म पनि भुक्तानी भएन भने असार २० गतेदेखि स्वास्थ्य बीमा सेवा दिन असमर्थ छौं’ उनले भने । पसाईंका अनुसार स्वास्थ्य बीमा बोर्डले बिएण्डसी मेडिकल कलेजलाई ४५ करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । त्यस्तै, नोबेल मेडिकल कलेजलाई ५४ करोड ३४ लाख रुपैयाँ स्वास्थ्य बीमा दावी भुक्तानी गर्न बाँकी रहेको सो मेडिकल कलेजका व्यवस्थापन समिति सदस्य भीम बहादुर चन्दले बताए । ‘हामीले २०७८ कार्तिकदेखि भुक्तानी पाएका छौं, जसले गर्दा असार २० गतेदेखि बीमा सेवा बन्द गर्न हामी बाध्य हुनेछौं,’ चन्दले भने । बीमा बोर्डबाट भुक्तानी नपाएकोले नोबेल मेडिकल कलेजले विगत तीन महिनादेखि कर्मचारीलाई तलब खुवाउन नसकेको चन्द बताउँछन् । ‘हामीले दैनिक १५ सयदेखि १८ सय बिरामीलाई जाँचिरहेका छौं, हामीले स्थापनाकालदेखि नै बीमा सेवा शुरु गरेका हौं, गत मंसिरदेखि सबै रकम अर्थात ५४ करोड ३८ लाख रुपैयाँ बाँकी रहेको छ, जसले गर्दा हामीले तीन महिनादेखि नै तलब खुवाउन सकेका छैनौं, संस्थालाई खर्च धान्न अफ्ठयारो परेको छ,’ उनले भने । सम्बन्धित समाचार ५ वर्षपछि सबै अस्पताल बन्द हुन्छन्, स्वास्थ्य बीमा नगर्नु’
तनावमुक्त हुन र स्वस्थ्य शरीरका लागि योगको ठूलो महत्व छ : देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नियमित योग अभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमता बढ्ने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने उल्लेख गरे । प्रधानमन्त्री देउवाले भने, ‘नियमित योग अभ्यासबाट अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुन्छ भन्ने कुरा अनुभवले देखाइसकेको विषय हो । विशेषतः नसर्ने रोगको रोकथाम, उपचार र पुनःस्थापनाका लागि योगको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले हामीले ‘निरोगीताका लागि योग’ भन्ने भाव सबैमा पु¥याउन जरुरी छ ।’ उनले अन्तर्राष्ट्रिय योग दिवस, जुन २१ को अवसरमा सम्पूर्ण मानव जगत्मा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घले सन् २०१४ को डिसेम्बर ११ मा हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउने घोषणा गरेपछि हाम्रो समृद्ध परम्परा एवं जीवन दर्शनसँग सम्बन्धित रहेको योगले विश्वव्यापी सम्मान प्राप्त गरेको बताए । जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन मित्रराष्ट्र भारतले संयुक्त राष्ट्रसङ्घमा राखेको प्रस्तावमा नेपालले समर्थन गरेको जानकारी दिँदै प्रधानमन्त्री देउवाले यस वर्ष ‘मावनीयताका लागि योग’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ ८औँ अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै गरेको उल्लेख गरे । योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवन पद्धति हो । विविध आसन, अभ्यास, साधना, ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया योग हो । श्रीमद्भागवत गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई कर्मयोग, ज्ञानयोग र भक्तियोगले मानिसको जीवनलाई सार्थक बनाउँदछ भनी गरेकाे मार्गदर्शन दिव्योपदेशको रूपमा रहेको छ । हिमालय पर्वत शृङ्खला ऋषिमुनिको पवित्र तपोभूमिको रूपमा रहेकोले यस क्षेत्रलाई आदिमकालदेखि नै योगको जननीको रूपमा चिनिने बताउँदै उहाँले हाम्रो वैदिक सभ्यतासँग समेत प्रत्यक्ष सम्बन्ध रहेको योगले नेपाल–भारत बीचको सम्बन्ध, भाइचारा र सहिष्णुता थप प्रभावकारी हुने विश्वास व्यक्त गरे । महर्षि पतञ्जलीले सुदृढ आधार दिनुभएको अष्टाङ्ग योगाभ्यास, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलगायत योगका विभिन्न अभ्यास आज विश्वभर फैलिँदो क्रममा छन् । प्रधानमन्त्री देउवाले शारीरिक अभ्यास, योग चिकित्सा र उपचार शारीरिकरुपमा मात्र नभई आध्यात्मिक दृष्टिकोणले पनि हाम्रो लागि लाभदायी एवं उपयोगी हुने बताए । उनले ‘योग गरौँ स्वस्थ बनौँ’ भन्ने सन्दर्भ र योगाभ्यासको महत्वपूर्ण पक्ष विश्वव्यापी बनेको बताउँदै अन्तर्राष्ट्रिय योग दिवस मनाउने परम्पराले हामी सबैलाई सकारात्मक ऊर्जा प्रवाह गर्नेछ भन्ने विश्वास व्यक्त गरे ।
बैतडी जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा
बैतडी । बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सोमबार यहाँ आयोजित कार्यक्रममा बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाका १० वटै स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाइसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । सो घोषणाका लागि १६ देखि २३ महिना सम्मका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएको हुनुपर्दछ । उक्त उमेर समूहका यहाँ चार हजार २६८ बालबालिका रहेका छन् । जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि यहाँका सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता गर्नुपर्दछ । पालिकाले पूर्ण खोप सुनिश्चितता घोषणापश्चात् स्वास्थ्य कार्यालयले प्रमाणीकरणका लागि घरधुरी सर्वेक्षणसमेत गर्ने गर्दछ । १६ देखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए/नपाएको अनुगमन गर्न घरधुरी सर्वेक्षण गरिएको थियो । प्रत्येक स्थानीय तहका तीन÷तीन वडामा घर धुरी सर्वेक्षणमा एक वडाका कम्तीमा १५ घरमा सर्वेक्षण गरिएको थियो । यी सबै कार्य पूरा भइसकेकाले सोमबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।