स्वास्थ्यका झुटा विवरण उल्लेख गरी जर्नल प्रकाशित, परिषद्मा १० भन्दा बढीमा उजुरी
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आचारसंहिताविपरीत स्वास्थ्य क्षेत्रमा विभिन्न अध्ययन अनुसन्धान भएको पाइएको छ । स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धानका लेख/रचना प्रकाशित गर्दा परिषद्को आचारसंहिताविपरीत गरेको जनाउँदै १० भन्दा बढीमा उजुरी परेको छ । परिषद्को आचारसहिंता अनुगमन तथा मूल्याङ्कन शाखाका प्रमुख नमिता घिमिरेले परिषद्को आचारसंहिता उल्लघङ्न गरेर विभिन्न जर्नलमा अनुसन्धानात्मक लेख प्रकाशित गरेको बताइन् । उनका अनुसार उजुरी परेकामध्ये धेरैजसो झुटा विवरण राखेर लेख प्रकाशित भएका छन् । हुँदै नभएको परीक्षण प्रयोगशालामा छ, भनेर, अभिभावकको अनुमतिबिना बालबालिकाको परीक्षण, एउटा उद्देश्यका लागि भनेर अनुमति लिए पनि अर्कै विषयमा अनुसन्धान गर्नेजस्ता अनुसन्धानकर्ताले झुटो विवरण प्रकाशित गर्ने गरेको पाइएको उनको भनाइ छ । परिषद्लाई प्राप्त भएका ती उजुरीमाथि छानबिन भइरहेको उनले जानकारी दिइन् । घिमिरेले आचारसहिंता उल्लङ्घन गरी अनुसन्धात्मक लेख प्रकाशित गर्ने अनुसन्धाकर्तालाई परिषद् ऐनअनुसार अनुसन्धानमा रोक लगाउन सकिने व्यवस्था रहेको जानकारी दिइन् । परिषद्को ऐन २०७४ को दफा १० मा स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्न स्वीकृत लिनुपर्ने र दफा १२ को (२)मा स्वीकृत नलिइ अनुसन्धान कार्य गरेमा वा स्वीकृत लिई अनुसन्धान कार्य गर्दा तोकिए बमोजिमका शर्त वा परिषद्ले सचेत गराउन वा निश्चित अवधि तोकि त्यस्तो अनुसन्धानको काम गर्न नपाउने गरी रोक लगाउन सक्ने उल्लेख गरिएको छ । परिषद्सँग स्वीकृत लिएर वार्षिक ८०० भन्दा बढी स्वास्थ्य क्षेत्रमा अनुसन्धान हुने गरेको पाइएको छ । परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले स्वास्थ्यसँग सम्बन्धित अध्ययन, अनुसन्धान परिषद्को आचारसहिंतामा बाँधिएर गर्नुपर्ने बताए । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तिले नेपालमा अनुसन्धान गर्न चाहदा परिषद्को स्वीकृत स्वीकृत लिनुपर्दछ र सर्त राखेर मात्र अध्ययन गर्न दिने बताए । ‘परिषद्को स्वीकृतमा वैज्ञानिक आधारमा स्वास्थ्यसँग सम्बन्धित विषयमा अध्ययन गर्नुपर्दछ’ ज्ञवालीले भने, ‘अध्ययन गर्दा आचारसहिंताविपरीत मानवीय असरपर्ने खालको गर्नुहुँदैन ।’ उनले कुनै पनि संस्थाले स्वास्थ्यमा अनुसन्धान गर्दा नियम पालना नगरे निश्चित समयसम्म अनुसन्धानमा रोक लगाउन सक्ने बताए । ‘अनुसन्धानकर्ताले स्वीकृत अनुसार काम नगरे, आचारसहिंताको गम्भीर उल्लङ्घन भयो, गम्भीर मानवीय असर ग¥यो, स्वीकृतबिना नै काम गरेमा कारबाही गछाैँ,’ उनले भने, ‘कुनै व्यक्तिले ढाँटेर जर्नल प्रकाशित गर्न पाउँदैन ।’ परिषद्का सदस्यसचिव समेत रहेका डा ज्ञवालीले अहिले अनुसन्धानको लागि नाम जर्नलमा प्रकाशित गरेर वैज्ञानिक बन्ने चलन बढेकोले त्यसलाई रोक्ने बताए । उनले अनुसन्धानकर्ताले गुणस्तरिय अनुसन्धान गर्नका लागि शैक्षिक योग्यता पनि सोहीअनुसार हुनुपर्ने बताए । ‘शिक्षासँग तालिम र अनुभव नभएको व्यक्ति अनुसन्धानकर्ता हुन सक्दैन,’ उनले भने । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वास्थ्य क्षेत्रको चासोका बिषयमा अध्ययन गर्दा राष्ट्रिय स्वास्थ्यका सम्बन्धमा कतिको फाइदा भयो वा हुन्छ, त्यसबारे पनि हेर्ने गरेको उनी बताउँछन् । स्वास्थ्य नीतिमा रहेर स्वास्थ्य अनुसन्धानलाई प्राथमिकतामा राख्ने उनको भनाइ रहेको छ । यस्तै परिषद्ले आचारसंहिताको पालना गरे नगरेकोबारे अनुगमन गर्न ‘आचारसहिंता पुनरावलोकन समिति’समेत गठन गरेको छ । समितिलाई कुनै पनि अनुसन्धान गर्न योग्य छ वा छैन, परिषद्को मान्यताअनुसार आचारसहिंता पालना गरे वा नगरेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पालना गरे वा नगरेको तथा अनुसन्धानले स्वास्थ्यलाई हानी हुन्छ कि हुदैन, स्वीकृत गर्ने/नगर्ने अधिकार रहेको परिषद्को मूल्याङ्कन शाखाप्रमुख घिमिरे बताउँछन् । यस्तै परिषद्ले विभिन्न ५५ संस्थामा ‘संस्थागत आचारसहिंता पुनरावलोन समिति’ गठन गरेको छ । यसैबीच परिषद्ले अनुसन्धानकर्ताको ‘परिचय पत्र’ बनाउने भएको छ । परिषद्का कार्यकारी प्रमुख डा ज्ञवालीले परिचय पत्र बनाउनका लागि छलफल चलिरहेकोले चाँडै नै उपलब्ध गराउने बताए । कम्युटरमा खोल्ने वितिकै ‘अनुसन्धानकर्ताको परिचय तथा उसका सवै कामबारे जानकारी लिन सकिन्छ’ उनले भने, ‘परिचय पत्रको आधारमा अनुसन्धानकर्ता नक्कली हो वा होइन तथा कुन तहको हो भन्ने कुरा सबै थाहा हुन्छ ।’ रासस
नर्भिकमा जेठ २८ गते यूरोलोजीको निःशुल्क ओपिडी सेवा
काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत आउने शनिबार(जेठ २८ गते) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिबार विहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्न लागेको हो । नर्भिकले विगत लामो समयदेखि यूरोलोजी टिम विशेष निःशुल्क ओपिडी अभियान संचालन गरिरहेको छ । पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित स्वास्थ्य समस्या जनमानसमा बढ्न थालेसँगै नर्भिकले पनि आफ्नो निःशुल्क ओपिडी यसमै केन्द्रीत गरिरहेको जनाएकाे छ । अस्पतालकाे अनुसार यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ । यो टिमले विहान ८ बजेदेखि १० बजेसम्म सेवा दिनेछ । मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ । यसैगरी, ९ बजेदेखि १०ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिनेछन् । मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट फाइदा लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
महिलाहरुलाई ९८ दिन तलबी सुत्केरी विदा उपलब्ध गराउन मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाहरुलाई ९८ दिन सुत्केरी विदा उपलब्ध गराउन अनुरोध गरेको छ । विभिन्न क्षेत्रमा कार्यरत महिलाहरुले सुत्केरी विदा नपाएको गुनासो आउने गरेको भन्दै मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै अनुराेध गरेकाे हाे । मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाहरुलाई सुत्केरी हुनु अघि वा पछि ९८ दिनको तलब सहित विदाको व्यवस्था रहेकोले सबैलाई कार्यान्वयन गर्न अनुरोध गरेको हो ।