पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण

कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५३ वर्षीया महिलामा बिहीबार उनका श्रीमान्को मिर्गौला प्रत्यारोपण गरिएको हो । विशेषज्ञ चिकित्सक टोलीले चार घण्टा लगाएर प्रत्यारोपण गरेका थिए । अस्पतालले दुवै जनाको नाम गोप्य राखेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रतिष्ठानको सहकार्यमा पहिलो पटक प्रत्यारोपण सम्पन्न भएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा भरतबहादुर खत्रीले बताए । उनका अनुसार केन्द्रका डा पुकारचन्द्र श्रेष्ठ तथा प्रतिष्ठानका डा प्रकाश क्षेत्री, डा अनुप चापागाई, डा माया लामा, डा जुजु श्रेष्ठ र डा अमृत केसीको टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो । यसअघि पोखरा तथा गण्डकी प्रदेशका बिरामी मिर्गौला प्रत्यारोपणका लागि राजधानी काठमाडौँ जानुपर्ने अवस्था थियो । प्रतिष्ठानलाई यही असार ३ गते प्रत्यारोपणका लागि स्वास्थ्य सेवा विभाग मातहतको मानव अङ्ग प्रत्यारोपण समन्वय सचिवालयबाट अनुमति प्राप्त भएको प्रतिष्ठानका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिए । प्रतिष्ठानले यसअघि प्रत्यारोपणका लागि आवश्यक जनशक्ति उपलव्ध गराउने सम्बन्धमा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग सम्झौता गरेको थियो । पहिलोपटक प्रत्यारोपण गरिएको बिरामीको सबै उपचार खर्च निःशुल्क गरिएको अस्पतालले जनाएको छ । पोेखरामा मिर्गाैला प्रत्यारोपण हुने भएपछि धेरै बिरामीको उपचारमा सहज हुने र आगामी दिनमा यस सेवालाई बढाउँदै लैजाने योजना अस्पतालको छ । पोखरामा दैनिक डायलासिस गर्न आउने मिर्गौलाका बिरामीको सङ्ख्या ५०० हाराहारी रहेको बताइएको छ ।

सुर्खेतमा देखियो बर्डफ्लु, एक हजार पक्षी नष्ट

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु पुष्टि भएको थियो । सो फर्ममा १०० भन्दा बढी टर्की मरेपछि परीक्षणका लागि नमुना काठमाडौं पठाइएको पशुपक्षी विकास निर्देशनालयका प्रमुख प्रचण्ड खड्काले जानकारी दिए । टर्की बर्डफ्लुकै कारण मरेको पुष्टि भएको थियो । टर्कीमा बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बर्डफ्लु नियन्त्रण समितिको आकस्मिक बैठकले चार किल्ला तोकेर फर्ममा रहेका टर्की, ब्रोइलर र लोकल कुखुरा नष्ट गर्न निर्देशन दिएको थियो । प्रशासनको निर्देशनपश्चात् पशुपक्षी चिकित्सकसहितको टोली पुगेर बर्डफ्लु देखिएको स्थानदेखि ५०० मिटर क्षेत्रमा पालिएका पक्षी नष्ट गरिएको थियो । डिस्पोजल टोलीले बर्डफ्लु फैलिएको फर्ममा साना ठूला गरी करिब एक हजार २०० ब्रोइलर कुखुराका चल्ला, ८० टर्की र अन्य लोकल कुखुरा डिस्पोज गरेको निर्देशनालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बर्डफ्लु फैलिन नदिन सुर्खेत उपत्यकाका किसानलाई सजग गराइएको बताए । रासस

आइएमई जनरल इन्स्योरेन्स र चिरायु अस्पतालबीच सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । इन्स्योरेन्स र अस्पतालबीच बिहीबार एक कार्यक्रमबीच सम्झाैता भएकाे हाे । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्न सकिने छ ।