स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय बबरमहलमा सर्ने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय अहिले भएको ठाउँ टेकुबाट बबरमहलमा सर्ने भएको छ । बोर्डले एक सूचना जारी गर्दै बोर्डको केन्द्रीय कार्यालय बबरमहल स्थित औषधि लिमिटेड कम्पनी रहेको स्थानमा सर्ने जनाएको हो ।

काभ्रेमा डेङ्गुको सङ्क्रमण बढ्दै

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पछिल्ला केही दिनयता डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा छ जनामा सङ्क्रमण देखिएको धुलिखेलस्थित जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । थपिएका सङ्क्रमित चार महिलासहित छ जना बनेपा नगरपालिका पाँचखाल नगरपालिका र रोशी गाउँपालिकाको बासिन्दा रहेको कार्यालयका निमित्त प्रमुख डा. अनिता खनालले जानकारी दिए । उनका अनुसार अझै केही दिन डेङ्गु सङ्क्रमण बढेनसक्ने अनुमान गरिएको छ । अघिल्ला दुई दिन नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । कार्यालयको दैनिक तथ्याङ्कअनुसार कात्तिक महिनाको १२ दिनमा २७ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो । यस्तै यस आर्थिक वर्षको साउनदेखि हालसम्म जिल्लामा ८९ महिला र ८४ पुरुष गरी एक सय ७३ जनामा डेङ्गु पुष्टि भएको कार्यालयले जनाएको छ । जिल्लामा गत असोज अन्तिम साता पुनः डेङ्गुको सङ्क्रमण देखिएको थियो । जिल्लाको १३ स्थानीय तहमध्ये बेथानचोक गाउँपालिका बाहेक हाल १२वटै स्थानीय तहमा डेङ्गुका सङ्क्रमित पुगेका थिए । तीमध्ये सबैभन्दा बढी बनेपा नगरमा ७१ सङ्क्रमित थिए । यस्तै धुलिखेल नगरमा २१, पनौती नगरमा २०, पाँचखाल नगरमा सात, नमोबुद्ध नगरमा २२ जना डेङ्गु सङ्क्रमित थिए । मण्डनदेउपुर नगरमा १८, भुम्लु गाउँपालिकामा एक, रोशीमा आठ, तेमालमा दुई, खानीखोलामा एक, महाभारत र चौंँरीदेउराली गाउँपालिकामा एक-एकजना सङ्क्रमित रहेको कार्यालयले जनाएको छ । सङ्क्रमितमध्ये केही विभिन्न अस्पतालमा उपचाररत रहेको जनाइएको छ । जिल्लामा गत आवको अन्त्यसम्म छ सय ८० जना डेङ्गुबाट सङ्क्रमित भएका थिए । डेङ्गुको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा केही महिनादेखि प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको थियो । डेङ्गुको उच्च जोखिम रहेको दस जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको बिरामीलाई एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक तथा गिँजाबाट रगत बग्ने, शरीरमा रगत जेमेको दाग देखापर्ने तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने गर्दछ । लामखुट्टेले बसोबास गर्नसक्ने सवारी साधन थगन मर्मत केन्द्र, टायर, पानी जम्ने ठाउँ, खेतबारीमा राखिएको टायर, उद्योग, कलकारखाना, होटेल तथा व्यवसायमा रहने टायर, घर तथा अफिसमा रहने गमला, सजावट सामग्री, मठ–मन्दिरमा रहेका कतराजस्ता पानी जम्ने ठाउँलाई नियमित सरसफाइ गर्न तथा पानी जम्न नदिन सरकारले अपिल गर्दै आएको छ । रासस

‘एआई’ मार्फत् सम्भव छ मानिसको सर्जरी ?

काठमाडौं । पछिल्लो समयमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को चर्चा विश्वभर निकै भइरहेको छ । के एआईको सहायताले मेडिकल जगतमा क्रान्ति आउन सम्भव छ ? के एआईले चिकित्सकको स्थान लिन सक्छ ? अहिले यी सबालहरुको जवाफ खोज्ने कोसिस वैज्ञानिकहरुले गरिरहेका छन् । युनिभर्सिटी कलेज अफ लन्डन जहाँ एआईको मद्दतले मानिसको मस्तिस्कको सर्जरी ट्रायल भइरहेको छ । ब्रिटेन सरकारले सो ट्रायल सफल भएमा मेडिकल क्षेत्रमा क्रान्ति हुने बताएको छ । निकोला प्रशिक्षक सर्जन हुन्, उनले पहिलोपटक एआईको मद्दतद्वारा मस्तिस्कको सर्जरी गर्न सिकिरहेकी छन् । अहिले उनले एक नक्कली अपरेसन थियटरमा नक्कली मानिसमाथि सर्जनको अभ्यास गरिरहेकी छन् । यो पिट्युटरीको अप्रेसन हो, पिट्युटरीको बीच भागमा ट्युमर रहेको छ । ‘यसले निकै मद्दत मिलेको छ, यसको अप्रेसनको दौरानमा थाहा हुन्छ की अगाडि के हुनेवाला छ र मैले के गर्नुपर्छ’, निकोलाले भन्छिन् । एकातर्फ एआई निकोलालाई प्रशिक्षण दिने काम गरिरहेको छ भने अर्कोतर्फ दोस्रोतर्फ स्वयं आर्टिफिसियल इन्टेलिजेन्सले पनि सिक्ने काम गरिरहेको छ की वास्तविकतामा यो कसरी गर्न सकिन्छ भन्ने बारेमा । ‘हामीलाई विश्वास छ की आगामी एक–दुई वर्षमा यो तरिकाको आर्टिफिसियल इन्टेलिजेन्सलाई अपेरसन थिएटरमा प्रयोग गरिन्छ, ताकि एआईको मद्दतबाट सर्जनलाई सहि निर्णय गर्न सजिलो हुन्छ’, न्युरो सर्जन हेनी मार्कसले बताए । अप्रेसन गरेका दुई सय भन्दा धेरै भिडियो हेरेर आर्टिफिसियल इन्टेलिजेन्सले सिक्ने काम गरेको छ । सामान्य चिकित्सकलाई यो अनुभव हासिल गर्न १० वर्ष लाग्छ, जबकी आर्टिफिसियल इन्टेलिजेन्सले १० महिनामा गरेको छ । प्रविधिको विकास भइरहेको छ । आर्टिफिसियल इन्टेलिजेन्स बढाउने र मानिसको सुरक्षा गर्न अत्यन्त महत्वपूर्ण भइरहेको छ । ‘जुन खालको एआईसँग हामीले काम गरिरहेका छौं, यो सबै प्रविधि आधारित हुन्छ, म र मेरो टिममा रहेका वैज्ञानिकहरु सयौं घण्टा लगाएर यो तय गरिरहेका छौं, जुन जानकारी हामीले एआइमा फिट गरिरेहका छौं, त्यो सही हुन्छ’, स्पेशियलिटी रजिष्ट्रार दानियल खानले भने । यो प्रविधिले चिकित्सकको स्थान अहिले नै लिन त सक्दैन, तर उपचारको सन्दर्भमा भने भविष्यमा यसको प्रयोगको सम्भावना निकै नै रहेको छ । ‘आउने केही दिनमा एआइले सर्जनलाई सहयोग गर्नेछ’, न्युरो सर्जन हेनी मार्कसले बताए । बिबिसी मार्फत् ।