‘चाडपर्व आउँदा धेरै नै खाएको पायौँ, १५ दिनमा एकपटक रातो मासु खाँदा केही फरक पर्दैन’
दशैँ, तिहार लगायतका महत्वपूर्ण चाडपर्वहरु भित्रिसकेका छन् । चाडपर्व भित्रिएसँगै सर्वसाधारणहरु घर जाने क्रम बढेको छ । चाडपर्वका समयमा खानपिन तथा जीवनशैलीमा एकदमै बढी लापरवाही हुनाले विभिन्न रोगहरुको जोखिम हुन्छ । खानामा सन्तुलन मिलाउन सकिएन भने रोगको जोखिम बढ्ने गर्छ । गर्मी मौसम सकिएको र जाडो मौसम पनि लगभग शुरु भइसकेको छ । यसै सन्दर्भमा केन्द्रित रहेर अल्का अस्पतालमा कार्यरत फिजिसियन डा.रक्षा गौतमसँग चाडपर्वमा कस्तो खानेकुरा खाने, कतिसम्म खाने र कस्तो ध्यान दिनुपर्छ भनेर गरिएको कुराकानीको सम्पादित अंश । चाडपर्व भित्रिसकेको छ, यो बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ । मुख्यतः खानपानमा ध्यान दिनुपर्छ । हेभी खाना खाने र चिल्लो खानाका कारण पेट खराब भएर बिरामीहरु दशैँ तिहारको बीचमा आउने गर्नुहुन्छ । यस्तै, हेभी खाना खाई अपच भएर, डायरिया भएर आउने बिरामीहरुको संख्या धेरै हुने गर्छ । हामीले नियमित हेरिरहेका डायबेटिजका, कोलेष्ट्रोलका बिरामीहरुपनि दशैँ तिहार पछाडी आएर हामीलाई रिपोर्ट देखाउँदा सुगर बढेको, कोलेष्ट्रोलको मात्रा बढेको हामीले भेट्छौं । युरिक एसिडहरु बढेको भेट्छौं । त्यसैले दशैँमा धेरै माछामासु खाएर आउने बिरामीहरु नै भेटेका छौँ । जसलाई स्वास्थ्य जोखिम भएको छ । खानामा धेरै एक्साईटेड भएर माछा मासु खाएपनि ठिक्क मात्रामा खानुपर्छ । आवश्यकता भन्दा धेरै खाइयो भने रोगको जोखिम बढ्छ । खाँदाखेरी पनि घरमा पकाएको स्वस्थकर खानेकुराहरु खानुपर्छ । खानासँगसँगै पानीको मात्रा पनि बढाउनुपर्छ । कतिपय घाँटीहरु दुखेका, टन्सिलका बिरामीहरु पनि देख्छौँ । धेरैजसो दही, बाहिरका मिठाईहरु, चिल्लो खाएर, सिसीमा राखेको पुरानो अचारहरु खाएर आएका बिरामीहरुपनि देखेका छौ । खाना त खानुपर्छ । तर, चाडपर्वको बेला ठिक्क मात्रामा खानुपर्छ । स्वास्थ्यलाई नै हानी गर्ने गरी धेरै खानु भएन । खाना खाँदा सन्तुलन मिलाएर खानुपर्छ । चाडपर्व आउँदा धेरै नै खाएको पायौँ । अहिले चाहीँ विकृति बढेर जाँडरक्सी सेवन बढी भयो । त्यस्तो पनि हामीले देख्छौँ । चाडपर्वको बेला रक्सी खाएर गाह्रो भएर इमरजेन्सीमा आउनुभएको बिरामीहरु पनि हामीले भेट्छौँ । त्यो अलिकति कम गर्नुभयो भने स्वास्थ्यका लागि राम्रो हुन्छ । नियमित औषधि सेवन गरिरहेको बिरामीहरुले पनि ख्याल गर्नुपर्छ होइन र ? नियमित औषधि खाने बिरामीहरु मुख्यतः रक्तचाप र सुगर रोग, कोलेष्ट्रोलका बिरामीहरुले औषधि चाहीँ नियमित खानुप¥यो । यस्तै कतिपय बिरामीहरु त चिकित्सकको फलोअप(निगरानी)मा नगएको पनि हामीले देखेका छौँ । औषधि पनि नखाने, खानापनि सन्तुलित रुपमा नखाने गर्दाखेरी स्वास्थ्य जोखिम आएको हामीले देखेका छौँ । दशैँ तिहारको बेला काठमाडौं बाहिर जादैँ हुनुहुन्छ । फलोअपमा आउनलाई त्यति सजिलो छैन भने पुग्नेगरी औषधि लिएर जानु उपयुक्त हुन्छ । उच्चरक्तचाप, मधुमेह लगायत भएकाले माछा मासु खाँदा विशेष ख्याल गर्नुपर्ला नि ? माछा मासु खानै नहुने होइन । हामीले कोलेष्ट्रोल भएकाले रातो मासु अलिक कम गर्नु भन्छौँ । तर, मासु खाँदै नखाने भन्ने होइन । रातो मासुमा पनि पौष्टिक आहारहरु हुन्छन् । भिटामिन १२ हरु त्यसमै हुन्छ । खाँदै नखाँदाखेरी कोलेष्ट्रोल व्यालेन्स गर्ने नाममा भिटामिन १२ डिफिसियन्सीहरु भएर कमजोरी भएर आउनुहुन्छ । १५ दिनमा एकपटक रातो मासु खाँदा केही फरक पर्दैन । रातो मासु खान नहुनेलाई चिकेन, माछा पनि अप्सन छ । यस्तै, अण्डा, गेडागुडीहरु खान भन्छौँ । माछा मासु खानै नहुने भन्ने होइन । तर, सन्तुलित रुपमा ठिक्क गरेर खान मिल्छ । अहिले केही समययता डेँगुका बिरामीहरु बढेको देखेका छौँ । जाडो महिना आयो डेंगु लाग्दैन भनेर हेलचेक्र्याँई भएको हो की भन्ने मलाई लाग्यो । तर, पनि हामीले रुघाखोकीका बिरामीहरु, सिजनल फ्लुका बिरामीहरु अझैपनि भेटिरहेका छौँ । चाडपर्वको मुखमा वृद्धवृद्धाहरु डेंगु भएर आइरहनुभएको छ । डेंगु हुन नदिन मंसिर नलागेसम्म शतर्क हुनुहोस् । कार्तिक महिनाभरी डेंगुको डर छ । त्यो सँगसँगै रुघाखोकी भएर आउने बिरामीहरु धेरै देखेँ यो समयमा । वार्षिक फ्लू सिजन आउनुभन्दा अगाडी फ्लू भ्याक्सिन लगाएर फ्लूको जोखिमबाट अलिकति जोगाउनुपर्छ । फ्लू भ्याक्सिन सजिलैसँग पाइन्छ । जहाँ गएर लगाउँदापनि हुन्छ । सामान्य कस्टमा हरेक परिवारले लगाउन मिल्छ । ज्येष्ठ नागरिक, बालबालीकामा पनि यो भ्याक्सिन सुरक्षित छ, फ्लू भ्याक्सिन, निमोनिया भ्याक्सिन । सकभर बाहिरको खाना नखानुहोस् । बाहिरको स्वस्थकर छैन । होटेलहरुको धेरैपटक तेलमा पकाएको खानाहरु नखानुहोस् । यसले स्वास्थ्य जोखिम बढाउँछ । मौसम परिवर्तनसँगै सिजनल फ्लू बढीरहेको छ ? अस्पतालमा सरुवा रोगका बिरामीहरुको चाप बढेको हो ? सरुवा रोगमा फ्लू भएर आउने बिरामीको चाप बढेको छ । हामीले के भेटिरहेका छौँ भने इन्फ्लुएन्जा जुन सामान्य किसिमको लक्षणहरु आएर देखिन्थ्यो नि पहिले चार–पाँच वर्ष अगाडी । अहिले इन्फ्लूएन्जामा कडा लक्षणहरु देखिने गरेको छ । उच्च ज्वरो आउने, डेंगुका र इन्फ्लूएन्जाका लक्षणहरु लगभग मेल खाने, बिरामीहरु एकदम सिकिस्त हुने (कतिपयलाई त निमोनिया पनि भएको छ) पनि देखिएको छ । इन्फ्लुएन्जाबाट छातीमा संक्रमण हुनु भनेको एकदमै जोखिम हो । कति अक्सिजन लगाएर बिरामीहरु आईसीयुमा पनि हुनुहुन्छ । भएको चाहीँ भाइरल निमोनिया नै हो । शुरु भएको त रुघाखोकीबाट नै हो । त्यही नै बिग्रेर निमोनियाका केसेसहरु हामिले देखेका छौँ । सिजनल फ्लू भनेर भन्छौँ नि हामीले नेपालमा वर्षमा दुई पटक आउँछ । सिजन चेन्ज हुने बेलाको इन्फ्लुएन्जाको संक्रमण, भाइरसबाट हुने यसबाट जोगिनको लागि अब सरकारले पनि अलिकति जोड इन्फ्लुएन्जा भ्याक्सिनमा दिनुपर्ने हो की जस्तो लाग्छ । अझै पनि म कहाँ आउने बिरामीहरुलाई इन्फ्लुएन्जा भ्याक्सिनका बारेमा थाहा नै छैन । म बुझाउन प्रयास गरिरहेको हुन्छु । यो लगाउनुपर्छ र भनेर बिरामीहरु कन्फ्युजनमा भएको पाउँछु । हेल्थ प्रोफेसनमात्रै होइन, साधारण जनताले पनि लगाउनुपर्ने बेला आइसकेको छ । संक्रमणको दर बढेको छ । इन्फ्लुएन्जा लागेर निमोनिया भएर मृत्यु हुनु भनेको त एकदमै भयावह अवस्था हुन्छ । यसपाली भाइरल निमोनियाको केस अलिक धेरै देखेको भएर हजुरहरुलाई अलिकति सुझाव हो । चाडपर्व शुरु भइसक्यो, अहिले डेंगु संक्रमितको संंख्या बढेको छ, यसबाट बच्न के गर्नुपर्ला ? डेंगु संक्रमित हुनेहरुको संख्या बढेको छ । यसमा मुख्यतः लामखुट्टेलाई नै नियन्त्रण गर्नुपर्छ । लामखुट्टेलाई प्रजनन गर्ने वातावरण बन्न दिनुहुँदैन । डेंगु लागिसकेपछि के गर्ने ? भन्नेकुरा आउँछ । डेंगु लाग्न नदिन आफ्नो तर्फबाट सूर्योदय भएको दुई घण्टा र सूर्यास्त हुनुभन्दा दुई घण्टा अगाडी डेंगुका लामखुट्टे एकदमै एक्टिभ हुन्छ भन्छन् । त्यतिबेला आफूलाई जोगाउनुपर्छ । राती भन्दा पनि यसले दिउँसो टोक्ने भएकोले दिउँसो बाउला भएको कपडा लगाउने, मलमहरु लगाउने, बालबालीकाहरुलाई फुल बाउला भएका कपडाहरु लगाइदिएर विद्यालय पठाउने, सकिन्छ भने २४ घण्टा लामखुट्टे धपाउने झुलहरु प्रयोग गर्ने, लामखुट्टेलाई प्रजनन हुन नदिन पानी जमेको ठाउँमा माटोले पुरिदिने गर्नुपर्छ । यस्तै, बाल्टीन,ट्याङ्कीमा पानी छ भने बिर्को लगाइदिने गर्नुपर्छ । रुखबिरुवा, झाडीहरु छन् भने काटेर सफा राख्ने । पुरानो टायरहरुमा पनि लामखुट्टेको रिप्रोडक्सन बढी हुन्छ । ती पुराना टायरहरुलाई नष्ट गरिदिनुपर्छ । डेंगु सामान्य भाइरल ज्वरो हो । तर, यसमा सचेत हुनुपर्छ । आतंकित हुनुभएन । डेंगु लागिसकेपछि सामान्य औषधि, सिटामोल खाएर घरमा तरल झोल कुराको मात्रा बढाएर घरमा बसेर आराम गरेर पनि निको पार्न सकिन्छ । सामान्य लक्षण हुनेहरु त अस्पताल आउनु पनि हुँदैन । अहिले त जनचेतना अलिक बढेको छ । टाउको दुख्ने, उच्च ज्वरो आउने, जिउ दुख्ने, मांसपेशीहरु एकदमै दुख्ने, हात गोडाहरुमा बिबिराहरु आउने, नाक, मुखबाट रगतहरु आउने, पेट दुख्ने, दिसामा रगत आउने, वान्ता आउने, खाना खान नसक्ने अवस्था भयो भने तुरुन्तै अस्पतालको सम्पर्कमा आउनुहोला । अन्तवार्ता स्रोत : न्यूज एजेन्सी नेपाल ।
तनहुँको म्याग्देमा दश श्ययाको अस्पताल निर्माण सम्पन्न
तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका–४ मनहरीमा म्याग्दे गाउँपालिकाले दश श्ययाको सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ । उक्त पालिकाले छ करोड ५० लाखको लागतमा साढे दुईतले भवन निर्माण गरेको हो । अस्पतालमा मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिनेछ । पालिकाका अनुसार निकट भविष्यमा अस्पतालबाट सेवा प्रवाह हुनेछ । यसैबीच, जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयको प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । म्याग्दे गाउँपालिका–४ थर्पु बजार नजिक निर्माण गरिएको उक्त भवनको ८० प्रतिशत बढी निर्माण कार्य सम्पन्न भइसकेको गाउँपालिका कार्यालयले जनाएको छ ।
दसैँमा मासु कति खाने : चिकित्सक भन्छन् ‘कुखुराको मासु बढीमा १५० ग्राम खान मिल्छ’
चितवन । चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरुले ध्यान दिन सुझाव दिएका हुन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साह दसैँ–तिहारजस्ता चाडपर्वमा खाइने खानाले विभिन्न क्यान्सरको जोखिम बढाउने बताउँछन् । मदिराजन्य पदार्थले कलेजो, घाँटी, पेट, स्तन तथा आन्द्राको क्यान्सरको जोखिम बताउने उनको भनाइ छ । डा साहले भने, ‘रातो मासुको अत्याधिक प्रयोगले ठूलो आन्द्राको क्यान्सरको जोखिम बढाउँछ ।’ पोलेको डढेको मासुमा पोलिसाइक्लिक एरोम्याटिक हाइड्रोकार्बन नामक तत्व उत्पन्न हुने भन्दै उनले यसले पेटको क्यासरको जोखिम बढाउने बताए । प्रशोधित मासु र अन्य खानेकुरा खानाले नाइट्राइट र नाइट्रेटजस्ता तत्व उत्पन्न गर्ने भन्दै उनले यसले क्यान्सरको जोखिम बढाउने बताए। उनले भने, ‘धेरै गुलियो खानेकुरा खाँदा ठूलो आन्द्राको क्यान्सरको जोखिम बढाउँछ ।’ चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारी एक दिनमा एक जनाले ५० देखि ७० ग्रामभन्दा बढी मासु खान नहुने बताउँछन् । उनले मासु दैनिक पनि प्रयोग गर्न नहुने भन्दै हप्तामा दुई पटकसम्म खान सकिने बर्ताए । मासुमा कोलेस्ट्रोलको मात्रा बढी हुने भएकाले मुटुका रक्तनलीहरु बन्द हुने सम्भावना हुने भन्दै डा साहले भने, ‘दैनिक एक सय ग्रामभन्दा बढी मासु खाने मानिसहरुलाई मुटुको हृदयघात हुने सम्भावना १५ प्रतिशतले बढ्छ ।’ नियमित मासु सेवन गर्ने मानिसलाई मधुमेह र उच्च रक्तचापको पनि जोखिम हुने उनको भनाइ छ । मासु बोसो र छाला फालेर थोरै मात्र प्रयोग गर्न उनले सुझाव दिए। उनले भने, ‘मासुमा धेरै तेल, मसला र नुनको प्रयोग गर्नु हुँदैन ।’ कोलेस्ट्रोल कम गर्न कुखुराको मासु राम्रो हुने भन्दै डा साहले कुखुराको मासुमा पनि छाला हटाएर खाँदा कोलेस्ट्रोलको मात्रा झन् घट्ने बताए । उनले खसी बोकाभन्दा माछा खान उत्तम हुने सुझाव दिए । वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी चाडपर्वमा सन्तुलित खाना खान सुझाव दिन्छन् । रातो मासुभन्दा सेतो मासुमा जोड दिन उनको आग्रह छ । उनले भने, ‘रातो मासु र सेतो मासुमा स्वास्थ्यको हिसाबले हे¥यो भने चिल्लोको मात्रा कम हुने, अनावश्यक कोलेस्ट्रोल नहुने, पटक पटक लिँदा पनि ज्यानलाई पाचन प्रक्रियामा समस्या नहुने हिसाबले सेतो मासु राम्रो । सेतो मासुमा पनि कुखुराको छातीमा चिल्लो पदार्थ न्यून हुने भएकाले प्रयोग गर्न राम्रो हुने उनी बताउँछन् । छाला नभएको मासुमा सबैभन्दा धेरै प्रोटिनको मात्रा हुने जानकारी दिँदै डा अधिकारी भने, ‘कुखुराको मासु सय ग्राम खाँदा करिब ४० ग्राम प्रोटिन पाइन्छ । हाम्रो शरीरलाई दिनमा ६० देखि ७० ग्राम प्रोटिन चाहिन्छ । एक सय ५० ग्राम खान मिल्यो ।’ त्यही कुरा रातो मासुमा पनि लागू हुने भन्दै डा अधिकारी भने, ‘एक सय ५० देखि दुई सय ग्राम रातो मासु आठ घण्टाको फरकमा खान मिल्छ ।’ मासु स्वादका लागि खाने भएको हुनाले नुन, चिल्लो, अमिलो, पिरो, मसला बढी प्रयोग गर्ने गरिन्छ । विश्वमा सात जनामध्ये एक जनालाई उच्च रक्तचाप, अर्को एक जनालाई मधुमेह र अर्को एक जनालाई कोलेस्ट्रोल देखिने गरेको उनले जानकारी दिए । फ्रिजमा राखेर मासु खान नहुने भन्दै उनले भने, ‘पोलेर, साँधेर, तारेर, भुटेर, सुकुटी बनाएर खानु स्वस्थकर होइन ।’ सामान्यतया नुन चिल्लो कम गरेर पकाएर नै खानु स्वास्थ्यका लागि राम्रो हुने उनी बताउँछन्। मासुसँगै धुम्रपान र मदिराको सेवन थप हानिकारक हुने डा अधिकारीको भनाइ छ । मासु खाएको समयमा फलफूल, सागपात खान उनले सुझाएका छन् ।