तनहुँमा सात हजार डेङ्गु सङ्क्रमित, अस्पताल र औषधि पसलमा बिरामीको चाप

तनहुँ । तनहुँमा डेङ्गु सङ्क्रमितको सङ्ख्या सात हजार ९५ पुगेको छ । केही महिनाअघि फैलिएको डेङ्गु अझै नियन्त्रणमा आउन सकेको छैन । डेङ्गुका बिरामी बढेसँगै यहाँका अस्पताल र औषधि पसलहरुमा बिरामीको चाप दैनिक बढ्दै गएको छ । दश पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा पाँच हजार सात सय ९५ डेङ्गु सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्लाका अन्य नौ पालिकामा एक हजार तीन सय डेङ्गुबाट सङ्क्रमित छन् । १४ वडा रहेको व्यास–१ मा एक हजार पाँच सय ८२, वडा नं २ मा एक हजार तीन सय ९२, वडा नं ४ मा एक हजार ३७, वडा नं ३ मा छ सय ५२ तथा वडा नं ५ मा दुई सय ७२ डेङ्गु सङ्क्रमित रहेका छन् । त्यसैगरी व्यास–१० मा दुई सय छ, वडा नं ११ मा एक सय ७५, वडा नं ६ मा ९६, वडा नं १३ मा ९१, वडा नं ९ मा ८३, वडा नं ७ मा ७९, वडा नं १२ मा ७४, वडा नं १४ मा ३७ र वडा नं ८ मा १४ डेङ्गु सङ्क्रमित छन् । चाडपर्वको समयमा डेङ्गु सङ्क्रमणले जनजीवन प्रभावित बनाएको व्यास–२ का वडाध्यक्ष काशिराम श्रेष्ठले जानकारी दिए । डेङ्गुबाट जोगिन सुत्ने समयमा झूलको प्रयोग, पूरा बाउला भएको कपडा प्रयोग गर्ने तथा घर वरिपरि पानी जम्न नदिन चिकित्सकले सुझाव दिएका छन् । लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताए । चिकित्सकको परामर्शअनुरुप औषधी सेवन गर्न, झोझिलो खानेकुरा प्रशस्त पिउन, फलफूल खान र आराम गर्न उनले सुझाएका छन् ।

यी हुन् चिसोबाट लाग्ने १० रोग, यसरी गर्न सकिन्छ रोकथाम

काठमाडौं । मंसिर पहिलो साता लाग्दै गर्दा चिसो पनि बिस्तारै बढ्न थालेको छ । पश्चिमी वायुको प्रभावका कारण देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । मौसमविदका अनुसार अब लगातार चिसो बढ्दै र गर्मी घट्दै जान्छ । उच्च लेकाली क्षेत्रमा हिमपात हुँदा अहिले तराइको तुलनामा चिसो बढी छ । चिसो मौसममा सर्ने र नसर्ने रोगहरु देखा पर्ने चिकित्सकहरू बताउँछन् । चिसाको समयमा सबैभन्दा बढी अस्पतालमा आउने बिरामी र लाग्ने रोगहरू के-के हुन् आउनुहोस् हामी यसबारे चर्चा गरौं । १.झाडा पाखाला झाडापखाला भन्ने बित्तिकै धेरैलाई गर्मीमा मात्र लाग्ने सरूवा रोग भनेर भन्ने बुझिन्छ । तर, चिसो समयमा ‘कोल्ड डायरिया’ पनि देखा पर्ने गर्छ । अन्य देशमा चिसो मौसम सुरु हुनेबित्तिकै यसका लागि खोपको पनि व्यवस्था हुन्छ भने नेपालमा यस्तो व्यवस्था छैन । यसबाट बच्न सरसफाई र खानपानमा ध्यान दिनुपर्छ । २. हृदयघात हृदयघात जुनसुकै समयमा पनि हुन्छ । तर, जाडो मौसममा हृदयघातको खतरा बढी हुन्छ । जब तापक्रम घट्दै जान्छ रगत बग्ने धमनीहरू संकुचित हुँदै जाने र यसले मुटुलाई रगत पम्प गर्न गाह्रो हुँदा हृदयघातको समस्या पनि बढ्ने गर्दछ । हृदयघात युवा उमेरका समूहलाई बढी जोखिम हुन्छ । यसबाट बच्नका लागि हामीले आफूलाई आवश्यकता भन्दा धेरै थकाउनु हुँदैन । चिसो बिहानमा घुम्नुको सट्टा घाम लागेको स्थानमा बसेर आफूलाई सेक्न सकिन्छ । आवश्यकताभन्दा धेरै भोजन गर्नु हुँदैन । ३. दम गर्मीको बेलाभन्दा चिसो समयमा दमका बिरामीको संख्या बढ्छ । चिसो समयमा चिसो र सुख्खा हावाले वायुमार्गलाई कस्न थाल्छ र श्वासप्रश्वासलाई अझै खराब बनाउँछ । यदि तपाईं दमको रोगी हुनुहुन्छ भने तपाईंलाई जाडो मौसममा दम धेरै बढेको महसुस हुन सक्छ । जाडोमा आफ्नो जीवनशैलीमा केही परिवर्तन गर्नु पर्छ । तपाइ धुम्रपान गर्नुहुन्छ भने यो छोड्नुपर्छ । आफ्नो घरलाई धुम्रपान मुक्त राख्नुपर्छ । किनभने यसले दमको रोगीलाई निकै गाह्रो बनाउँछ । ४. छालाको समस्या चिसो समयमा मानिसहरूले सामना गर्ने सबैभन्दा ठूलो समस्यामध्ये एक छालाको समस्या पनि हो । यो बेला छाला सुख्खा भएर फुस्रो हुने, चिलाउने समस्या पनि देखिन्छ । चिसोमा कम आद्रताको कारण छाला चिलाउन थाल्छ । यसबाट बच्न लागि तपाईंले छालामा बदाम, नरिवल वा जैतुनको तेलले मालिस गर्न सकिन्छ । ५. जोर्नी दुख्ने चोसोको समयमा जोर्नी दुख्ने समस्या पनि देखिन्छ । यसको दुखाईबाट धेरै मानिसहरू पीडित हुन्छन् । यसबाट राहत पाउन पहिले आफ्नो शरीर र खुट्टालाई न्यानो राख्नुपर्छ । एक जोर न्यानो कपडा लगाउनुको सट्टा दुई÷तीन जोर पातलो कपडा तीन जोर लगाउन सकिन्छ । चिसोको समयमा जोर्नीको दुखाई र मांसपेसीको दुखाई बढी हुने भएकाले नियमित व्यायाम गर्नुपर्छ । घाम ताप्नाले पनि यो समस्याबाट राहत पाइन्छ । ६.चिसो (मौसमी फ्लू) यो समयमा मौसमी फ्लूको समस्या बढी हुन्छ । चिसो मौसममा शरीरको रोगप्रतिरोधी क्षमता घट्न जान्छ र विभिन्न जीवाणुको संक्रमणले बिरामी पार्छ । यस्ता मौसमी फ्लूबाट बच्न चिसोमा शरीरलाई न्यानो बनाउनुपर्छ । तापजन्य खाद्यपदार्थ खाने, हिँडडुल कम गर्ने, खाना खानुअघि र पछि राम्रोसँग साबुनपानीले हात धुने, नाक मुख छोपेर राख्ने, मास्क लगाएर हिँड्नेलगायतका गतिविधि गर्नुपर्छ । ७. मुटुसम्बन्धी समस्या चिसो मौसमले मुटुलाई समेत असर गर्ने हुँदा चिसोबाट जोगिनु जरुरी छ । चिसोले मुटुमा सिधै असर पु¥याउँछ । चिसोका कारण रक्तनली साघुँरिएर यसले रक्त प्रवाहमा असर पार्छ र यसले हृदयाघातको सम्भावना बढेर जान्छ । यसबाट बच्न धेरैबेरसम्म चिसोमा नबस्ने । बस्नै परे पनि न्यायो लुगाको प्रयोग गर्नुपर्छ । ८. हाइपोथर्मिया चिसोको बेला सबैभन्दा बढी सताउने रोग मध्य एक हाइपोथर्मिया पनि हो । यो रोग लाग्दा शरीरको तापकक्रम घट्दै जान्छ । मानिसको सामान्य तापक्रम ९८ दशमलब ४ डिग्री फरेनहाइड हुन्छ, त्यो तापक्रम छिटोछिटो घट्दै गएको खण्डमा हाइपोथर्मिया हुन्छ । तापक्रम ९५ डिग्री फरेनहाइड तिर झर्यो भने हाइपोथर्मिया हुने सम्वाभना हुन्छ ।शितलहरका बेलामा यो समस्या मानिसमा मात्र होइन जनावरमा पनि देखिनेगर्छ। जाडो बेलामा शरीरले तापक्रम उत्पन्न गर्न नसकेर यो समस्या देखा पर्छ। यो समस्याले गर्दा मुटुले काम गर्न छोड्छ र मानिसको मृत्यु पनि हुनसक्छ। ९ .निमोनिया चिसोको बेला लाग्ने अर्को रोग निमानिया पनि हो । निमोनिया भनेको फोक्सोसँग सम्बन्धित समस्या हो । निमोनियाको संक्रमण भएपछि हाम्रो फोक्सोको हावा थैलीहरुमा सुन्निने हुन्छ । यसरी निमोनिया संक्रमण भएर त्यस्ता हावा थैलीहरु सुन्निन थालेपछि बेलैमा उपचार भएन भने त्यहाँ पानी वा पीपहरु भरिन थाल्छ । यस्तो अवस्थामा संक्रमितलाई सास फेर्न कठिनाई हुन थाल्छ । १०. डिप्रेसन मानसिक स्वास्थ्यको समस्या पनि यस्तो बेला बढी हुन्छ । यसलाई कसैकसैले सिज्नल डिप्रेसन भनिन्छ ।, सिज्नल इफेक्टिभ डिस अडर पनि भन्ने गरिन्छ । एकदमै अनसटनस हुने,दैनिक काम गर्नका लागि इनजी नआउने,काम गर्न मन नलाग्ने, अल्छी लाग्ने, दिक्क लागेर आउने, गर्छ । यसले गर्दा डिप्रेसन पनि हुन्छ । चिकित्सकका अनुसार सर्ने नसर्ने रोगको संक्रमण चिसो समयमा उत्तिकै जोखिम हुन्छ । संक्रामकरोग बिशेषज्ञ डाक्टर शेर बहादुर पुन झाडापखाला रुघाखोखी लगायतका समस्या यो बेला बढ्ने र यस्ता रोग सरुवाखालका हुने बताउँछन् । उनि भन्छन्, ‘सक्रांमक रोग भाइरलफिबर जाडोमा धेरै देखिन्छ । घाँटी दुख्ने, खसखसाउने, नाकबाट पानी बग्ने, बढी हुन्छ तर,नेपालमा रुघाखोकीलाई खासै ध्यान दिएको देखिदैन, जसका कारण कहिलेकाहीँ ठुलो क्षेती पुग्छ ।’ हामीले समान्य ठानेको यही रोगका कारण कतिपयको ज्यान नै गएको पाइन्छ । डाक्टर पुन सामान्य रुघाखोकीकै कारण बालबालिका, गर्भवती महिला, जेष्ठ नागरिकलाई अस्पतालमै भर्ना गर्नुपर्ने अवस्था पनि आउने बताउँछन् । दीर्घरोग बढ्ने जोखिम जाडोमा दीर्घरोग बढ्ने जोखिम पनि उत्तिकै हुने चिकित्सकहरु बताउँछन् । संक्रामक तथा सरुवा रोग अस्पताल पोखराका कार्यकारी निर्देशक डाक्टर बिकास गौचनका अनुसार यो समयमा चिसो बढी हुने भएकाले शारीरिक व्यायाम कम हुने र खाना पनि अन्य बेलाभन्दा बढी खाइने भएकाले मधुमेह, उच्च रक्तचाप, मुटुरोग, बाथरोगजस्ता समस्या बढ्छ । उनि भन्छन्, ‘नुन यस्तो बेला अलि कम खानुपर्छ । हरियो सागवात, पमाएको उमालेको तातो झिलीलो खानेकुरा यो बेला बढी खानुपर्छ सँगै अहिले सुन्तला प्रश्स्त पाइन्छ । हामीले खानेकुरामा ध्यान दिने हो भने, यतिबाट बच्न सकिन्छ ।’ जाडोमा सीओपीडी सम्बन्धी समस्या बढ्ने दम लगायतका छातीसम्बन्धी समस्या बढेर निमोनिया पनि हुन्छ । चिसोमा आँखाको सङ्क्रमण पनि बढ्ने गर्छ । चिसो हावा र सुख्खा हावाले आँखा रातो हुने, पोल्ने, सुख्खा हुने समस्या बढी देखिने चिकित्सकहरु बताउँछन् । त्यसका अतिरिक्त जाडोमा सुख्खा मौसम हुने हुँदा आँखामा धुलो धुवाँले गर्दा विभिन्न समस्या देखिने गर्छ । खाने कुरामा ध्यान दिउँ चिसाका कारण लाग्ने रागबाट बच्न खानेकुरामा ध्यान दिन चिकित्सकको आग्रह छ । जाडोमा प्रोटिनयुक्त खानेकुराले शरीरमा तातोपन बढाउने हुँदा प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । जसमा तातो झोलिलो खानेकुरा बढी खानुपर्छ । गेडागुडीको झोल बनाएर बेलाबेलामा खाँदा शरीर तातो बनाउन मद्दत गर्छ । यस्तै सागसब्जी प्रशस्त खाने गर्नुपर्छ । बेला–बेला कालो चिया, कफी पिउने, तातो पानी पिउने गर्नाले पनि शरिरलाई न्यानो बनाउने गर्छ । उमालेको पकाएको झोल खानेकुरा खाने, धुलो धुवामा निस्कदा माक्स लगाउने गर्नुपर्छ । सरसफाइमा पनि यो बेला बढी ध्यान दिनुपर्छ । कोदोको सुप बनाएर बढी खाँदा शरिरका लागि राम्रो मान्छि । यो तागतिलो पनि बढी हुन्छ । न्यानो लगाउँ चिसोबाट बच्न न्यानो लुगा लगाउनुपर्छ । घरभित्र बस्दा वा बापिहर निस्कदा बाक्लो लुगा लगाउनुपर्छ । विशेषगरी, मोटरसाइकल, स्कुटर चलाउनेहरुलाई सिधा छातीमा असर गर्ने हुँदा छाती बचाउन चेस्ट गार्ड र हावा नछिर्ने, ज्याकेटको प्रयोग गर्न चिकित्सको सुझाव छ । बालबालिका र ज्येष्ठ नागरिक र रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई बिहान–बेलुका विशेष ध्यान दिनुपर्ने डा. गैरेको सुझाव छ । यस्तै गर्भवती, बालबालिका, ज्येष्ठ नागरिकलाई राति सुत्दा न्यानो लुगा लगाइदिने राति बेला–बेलामा लुगा ओढे नओढेको जाँच गर्नुपर्छ । जाडोमा हुस्सु लाग्ने र शीत पर्ने हुँदा बिहानै मर्निङवाक नजान पनि चिकित्सकको सुझाव छ । सरूवा रोगबाट कसरी जोगिने ? सरुवा रोग एकबाट अर्कोमा सर्छ । लगाउने लुगा, बस्ने कोठालाई तातो बनाउनुपर्छ । संक्रमीतले खोक्दा हाच्छियुँु गर्दा सर्छ । यसबाट बच्न सकेसम्म यस्तो बेला संक्रमीत घरमै बसेको राम्रो हुन्छ । अरु मानिसको हकमा बाहिर हिँड्दा माक्स लगाएर हिड्नुपर्छ । खोक्दा ध्यान दिनुपर्छ । फलु विरुद्धको खोप पनि लगाइन्छ । बिकासित देशहरुमा भने, चिसो मौसम सुरु हुने बित्तिकै खोपको व्यवस्था हुन्छ तर, हाम्रो देशमा यस्तो पाइँदैन ।

डा ओम फाउन्डेन्सनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । डा ओम फाउन्डेन्सनले महोत्तरी जिल्ला बलवा नगरपालिका–१० धमौरामा मुटुरोगसम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्ने उद्देश्यले मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा स्थापित सो फाउन्डेसनको औपचारिक सुरूआत गर्दै स्वास्थ्य शिविरको आयोजना गरेको जनाइएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्घाटन गर्नुभएको सो शिविरमा कूल चार सय २८ जनाको मुटुरोगसम्बन्धी ९इसिजी, इको, ब्लड सुगर, लिपिडलगायतका० परीक्षण गरिएको थियो । त्यसमा इको दुई सय ४२ जना, इसिजी तीन सय २५ जना, सुगर तीन सय ४० जनाको जाँच गर्नुका साथै चार सयभन्दा बढी बिरामीलाई औषधि प्रदान गरिएको फाउण्डेसनले जनाएको छ । फाउन्डेसनका संस्थापक अध्यक्ष डा अनिलको नेतृत्वमा काठमाडौंबाट गएका डा अभिषेककुमार यादव, डा पूजासिंह, डा ओम मूर्ति निखिल, गौरवसिंह, पार्वती भगत, सत्यम्कुमार गुप्ता, राजनकुमार गुप्तालायतका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीसहित करिब ४० जना स्थानीय स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरी तीन दिनसम्म बिरामीको स्वास्थ्य जाँच गरिएको थियो । शिविर सञ्चालनकै क्रममा डा अनिललाई बलवा नगरपालिकाले अभिनन्दनसमेत गरेको थियो । चिकित्सा पेसामार्फत गरेको जनसेवा तथा आमनेपालीको स्वस्थ जीवनशैलीका निम्ति उनले सञ्चालन गर्दै आएका सचेतनामूलक अभियानले विश्व कीर्तिमान कायम गरेका सन्दर्भमा उनको गृहनगर बलवा नगरपालिकाले अभिनन्दन गरेको हो । सो अवसरमा डा अनिलले आगामी दिनमा देशका विभिन्न जिल्लाका ग्रामीण तथा दूरदराजमा रहेका जनताको सेवाका निम्ति रचनात्मक कार्य गर्ने र आफूले लेखेको पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त हुने रकम फाउन्डेसनमार्फत असहाय वृद्धवृद्धाका निम्ति खर्च गर्ने बताए । फाउन्डेसनमार्फत काठमाडौंको वसुन्धारास्थित केन्द्रीय कार्यालयबाट निःशुल्क टेलिमेडिसिनको सेवा प्रवाह गर्दै आएको छ । हालसम्म वैदेशिक रोजगारीमा रहेका र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका करिब तीन सय जनाले निःशुल्क टेलिमेडिसिनको सेवा प्राप्त गरिसकेका छन् ।