डब्लूएचओको क्षेत्रीय निर्देशकमा नेपालकाे हार, लबिङ गर्न चुक्यो नेपाल

<p>काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को दक्षिण–पूर्वी एशिया क्षेत्र कार्यालयको निर्देशक पद नियुक्ति प्रकृयामा नेपालले शर्मनाक पराजय भोगेको छ । निर्देशक पदको लागि भएको मतदानमा नेपालले अगाडि सारेका उम्मेदवार डा. सम्भु आचार्यले २ मत प्राप्त गरेका छन् भने बंगालादेशले अगाडि सारेका उम्मेदवार डा. वाजेद हसिनाले ८ मत प्राप्त गरेर नियुक्तिको प्रकृयामा अगाडि बढेकी छन् । संगठनको [&hellip;]</p>

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को दक्षिण–पूर्वी एशिया क्षेत्र कार्यालयको निर्देशक पद नियुक्ति प्रकृयामा नेपालले शर्मनाक पराजय भोगेको छ । निर्देशक पदको लागि भएको मतदानमा नेपालले अगाडि सारेका उम्मेदवार डा. सम्भु आचार्यले २ मत प्राप्त गरेका छन् भने बंगालादेशले अगाडि सारेका उम्मेदवार डा. वाजेद हसिनाले ८ मत प्राप्त गरेर नियुक्तिको प्रकृयामा अगाडि बढेकी छन् ।

संगठनको दक्षिण(पुर्वी एशिया क्षेत्रमा नेपालसहित बङ्गलादेश, भूटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड र पूर्वी टिमोर गरी ११ देश रहेका छन् । क्षेत्रीय निर्देशक नियुक्तिका लागि उम्मेदवारले बहुमत सदस्य राष्ट्रको तर्फबाट मत प्राप्त गर्नु पर्ने हुन्छ । तर, म्यानमारमा सैनिक शासन कायम भएकाले यसपटक उसले भने निर्देशक चयनमा मतदान गर्न पाएन ।

विश्व स्वास्थ्य क्षेत्रमा काम गरेको र अनुभव हिसाबले डा. आचार्य अब्बल उम्मेदवार हुँदा हुँदै पनि उनले सर्मनाक पराजय भोगेका छन् । केही अन्तर्राष्ट्रिय मिडियाहरुले विश्लेषण गरेजस्तै नेपालले आफ्नो उम्मेदवारको पक्षमा आवश्यक लविङ नगरेर वा नातावादको छायाँमा परेर राज्यकै शाख गिराउने काम गरेको छ ।

डब्लूएचओको क्षेत्रीय निर्देशक नियुक्ति प्रकृयामा बंगालादेशको तर्फबाट प्रस्तावित उम्मेदवार डा. साइमा वाजेद प्रधानमन्त्री शेख हसिनाकी छोरी भएको कारणले स्वास्थ्य विज्ञहरुले नियुक्ति प्रकृयामा नातावाद हावी हुन सक्ने पहिल्यै नै अनुमान गरेका थिए ।

‘बंगालादेशी प्रधानमन्त्री शेख हसिनाकी छोरी सेरो पदका लागि दुई उम्मेदवार मध्ये एक हुन्, साइमा वाजेदको मनोनयनलाई लिएर धेरै स्वास्थ्य विशेषज्ञहरुले ‘नेपोटिज्म’ भन्दै टिप्पणी गरेका छन्, संयुक्त राष्ट्र संघको स्वास्थ्य निकायको उच्च तहमा भूमिका निर्वाह गर्ने सो पदका लागि हुने नियुक्तिमा उनीहरुले चिन्ता व्यक्त गरेका छन्’, नियक्ति अगाडि नै ‘भो’ले टिप्पणी गरेको थियो ।

अन्तर्राष्ट्रिय स्वास्थ्य पत्रिका ‘ल्यासेन्ट जर्नल’ले पनि सेप्टेम्बरको अंकमा बंगालादेशी प्रधानमन्त्रीको छोरीको सेराेमा मनोनयन गर्ने विषय ‘स्पष्ट नातावाद’ भएको भनेर सम्पादकीय नै लेखेको थियो । ‘अनुपयुक्त उम्मेदवारहरुको चयनले डब्लूएचओको क्षेत्रीय कार्यालयहरुको व्यवस्थापनमा गम्भीर परिणाम निम्त्याउँछ’, ल्यासेन्टले वाजेदलाई लक्षित गर्दै सम्पादकीयमा लेखेको थियो ।

विगतमा नेपालले डब्लूएचओको दक्षिण-पूर्वी क्षेत्रीय निर्देशकमा भारतको प्रस्तावित उम्मेदवारको लागि सहयोग गर्दै आएको थियो तर, नेपालले भने यसपटक भारतलाई विश्वासमा लिन सकेन । भारत मात्रै नभएर एउटा बाहेक अन्य कुनै पनि मुलुकलाई विश्वासमा लिन सकेन ।

क्षेत्रीय निर्देशक नियुक्तिका लागि विजयी भएकी डा. वाजेद भन्दा नेपालले प्रस्ताव गरेका उम्मेदवार अब्बल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले समेत टिप्पणी गर्दै आएका थिए । अन्तर्राष्ट्रिय मिडियाहरुको जोड तुलनात्मक रुपमा सक्षम र अनुभवी आचार्य नै उपयुक्त भन्ने थियो ।

‘वाजेदले फ्लोरिडाको ब्यारी विश्वविद्यालयबाट क्लिनिकल मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन् । उनले मानसिक स्वास्थ्य र अटिजमका मुद्दाहरूमा डब्लुएचओको महानिर्देशकको सल्लाहकारको रूपमा सेवा गर्दै झण्डै एक दशक बिताइन् । आचार्य झण्डै ३० वर्षदेखि डब्लूएचओमा छन् । उनीसँग संयुक्त राष्ट्र संघको निकायमा वरिष्ठ पदहरूमा काम गरेको अनुभव छ र सार्वजनिक स्वास्थ्य तथा स्वास्थ्य नीति र उत्तरी क्यारोलिना विश्वविद्यालयबाट पीएचडी गरेका छन्’, ‘भो’ अनलाइनले दुई व्यक्तिको क्षमताको विषयमा तुलना गर्दै लेखेको छ ।

संयुक्त राष्ट्र संघका पूर्व आवासीय संयोजक तथा म्यानमार र जिम्बाब्वेका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका प्रतिनिधि विश्व पराजुलीले वाजेदसँग यस्तो नेतृत्वको पद ग्रहण गर्न सीमित अनुभव र योग्यता रहेको बताएका थिए ।

Share News