
काठमाडौं । विश्व स्वास्थ्य संगठनको दक्षिण पुर्वी एशिया क्षेत्रीय निर्देशकमा नेपालले लामो समयदेखि विश्व स्वास्थ्य संगठनमा काम गर्दै आएका डा. सम्भु आचार्यलाई प्रस्ताव गरेको छ । सोही पदका लागि बंगालादेशकी डा. साइमा बाजेदले उम्मेदवारी दिएकी छन् । आचार्य नेपालको तर्फबाट डब्लुएचओमा काम गरेर माथिल्लो ओहदामा पुगेका पहिलो नेपाली हुन् । उनी डब्लुएचओको मुख्यालय जेनेभामा कार्यरत रहँदै आएका छन् । त्यस्तै बंगालादेशकी साइमा जाबेद पेसाले क्लिनिकल साइकोलोजिस्ट र बंगालादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् ।
विश्व स्वास्थ्य संगठनको दक्षिण पूवी एशिया क्षेत्रमा नेपालसहित बङ्गलादेश, भूटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड र पूर्वी टिमोर गरी ११ देश रहेका छन् । सो क्षेत्रको निर्देशक बन्नको लागि बहुमत देशका स्वास्थ्य मन्त्रीहरुले मत दिनुपर्ने हुन्छ । त्यसैले विश्व स्वास्थ्य संगठनको सो महत्वपूर्ण पदमा आचार्यलाई नियुक्त गर्नका लागि नेपालको तर्फबाट कुटनीतिक भूमिका महत्वपूर्ण देखिन्छ ।
सोमबारदेखि डब्लुएचओको दक्षिण पूर्वी एशियाको ७६ औं बैठक शुरु भएको छ, जुन नोभेम्बर ३ सम्म चल्नेछ । सो बैठकमा ११ वटै देशका स्वास्थ्यमन्त्री र डब्लुएचओका महानिर्देशक सहित उच्च अधिकारीहरु सहभागी हुनेछन् । सो बैठकमा नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत पनि सहभागी भएका छन् ।
अहिलेसम्मको अवस्थामा क्षेत्रीय निर्देशकको लागि नेपाल र बंगालादेश दुवैले अगाडि सारेको उम्मेदवारको पक्ष वा विपक्षमा कसैले पनि आफ्नो औपचारिक धारणा अगाडि सारेका छैनन् । नेपालले निर्देशक पदको लागि अगाडि सारेका उम्मेदवार आचार्यले तीन दशक बढी समय डब्लुएचओमा काम गरेका क्षमतावान र अनुभवी व्यक्ति हुन् तर, उनले बंगालादेशकी प्रधानमन्त्रीकी छोरीसँगको प्रतिस्पर्धालाई सामना गर्ने विषयलाई महत्वपूर्ण ढंगले हेरिएको छ ।
निर्देशक पदमा नियुक्ति हुने व्यक्तिले झण्डै २ अर्ब मानिसमा पाँच सय मिलियन डलर बराबरको बजेट रहने कार्यक्रम सञ्चालन गर्ने अधिकार राख्छ । नेपालले आफ्नो उम्मेदवारलाई सो पदमा नियुक्तिको लागि आवश्यक कुटनीतिक मत सिर्जना गर्न सकेमा दक्षिण एशियाली कुटनीतिक सम्बन्ध विस्तार र नेपालको स्वास्थ्य क्षेत्रमा थप लाभ प्राप्त गर्न सक्छ ।
नेपालले यस अगाडि क्षेत्रीय निर्देशक पदमा नियुक्ति गर्दा भारतलाई समर्थन गर्दै आएको थियो । डब्लुएचओको दक्षिण पूर्वी एशियाली क्षेत्रीय संगठनमा रहेका अन्य देशहरुसँग पनि नेपालको राम्रो सम्बन्ध रहँदै आएको छ । तर, नेपालले कुटनीतिक रुपमा अन्य सदस्य राष्ट्रहरुलाई कति विस्वास दिलाउन सक्छ भन्नेमा आचार्यको नियुक्तिको सम्भावना रहेको देखिन्छ ।
आजदेखि बिहीबारसम्म सञ्चालन हुने क्षेत्रीय सत्रमा गोप्य मतद्वारा निर्देशक पद चयन हुन्छ । त्यसपछि जनवरीमा हुने डब्लुएचओको कार्यकारी बोर्डको बैठकले जिम्मेवारी प्रदान गर्नेछ ।