वीरगञ्ज महानगरपालिकाले ५ हजार युवालाई स्वरोजगार बनायोः मेयर सरावगीसँगको कुराकानी

वीरगंज महानगरपालिका नगरप्रमुख हुन् विजय कुमार सरावगी । उनी नगरप्रमुखको रूपमा निर्वाचित भएर आएको ४ वर्ष पूरा भएको छ । उनी महानगरको औद्योगिक क्षेत्रको विकास र संवृद्धिको निमित्त निरन्तर खटिरहेका छन् । महानगरवासीको जीवनस्तर उकास्न जुटिरहेका नगर प्रमुख सरावगी विशेषतः कृषि, पर्यटन तथा विकास निर्माण लगायतका क्षेत्रमा उदाहरणीय काम गरिसकेका छन् । व्यापारका हिसाबले नेपालका सबैभन्दा ठुलो व्यापारिक केन्द्र मानिने विरगंज सुक्खा बन्दरगाह भन्सार कार्यालय पनि यसै महानगर भित्र पर्छ । निरन्तरको प्रयास, संघीय सरकारको सहयोग तथा स्थानीय आवश्यकतासँग जुध्दै महानगरले पूर्वाधार विकासमा एक पछि अर्को फड्को मारिरहेको नगरप्रमुख सरावगी बत्ताउँछन् । उनै नगरप्रमुख सरावगीसँग महानगरले अघि सारेका आर्थिक विकासको रणनीति, उद्यमशीलता, रोजगारी प्रवर्द्धन र औद्योगिक क्षेत्रको विकासमा महानगरको योगदान बोरमा केन्द्रित रहेर विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् । तपाईं स्थानीय तहमा निर्वाचित भएर आएको ४ वर्ष पूरा भएको छ, यो चार वर्ष अवधिमा महानगरपालिकाको प्रमुखका रूपमा काम गर्दाको अनुभव कस्तो रह्यो ? चार वर्षको कार्यकाल निकै सकारात्मक रह्यो भन्ने मैले महसुस गरेको छु । निर्वाचित भएर आएपछि सुरुवाती दिनमा कानुन, कार्यविधि केही नियम तथा निर्देशिकाको अभावका कारण केही समस्याहरु झेल्नु पर्यो । हामी माथि जनताहरुक आशा र अपेक्षाहरु धेरै थिए । हामीले अधिकांश कामहरू गरिसकेका छौं । महानगरले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारका क्षेत्रमा धेरै कामहरू गरेको छ । यस अवधिसम्म आइपुग्दा हामीले धेरै रचनात्मक कामहरू गर्न सफल भयौं । स्थानीय सरकारले जनशक्ति व्यवस्थापन कानुन कार्य नियमावलीको निर्माण, कार्यान्वयन, अर्ध न्यायिक संरचनाको व्यवस्थापनजस्ता महत्त्वपूर्ण विषयहरूमा धेरै नै अगाडि बढेर आगामी दिनको लागि मार्ग खुला भएको छ । चुनावमा गरेका प्रतिवद्धताहरु पूरा गर्न कत्तिको सफल हुनु भयो ? स्थानीय तहको संरचना बनि सकेपछि चुनावको बेला घोषणापत्र लिएर नागरिकको घर आँगनमा गएका थियौं । हामीले जनतालाई झुटो आश्वासन पनि दिएको थिएनौं । गर्न सक्ने काम पारदर्शी तरिकाले गर्छौं भनेका थियौं । हाल हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका ९० प्रतिशत कामहरू सकिसकेका छौं भने पालिकामा थप कामहरू भएको पनि महसुश गरेका छौं । आउने दिनमा हामीले बाँकी रहेको १० प्रतिशत काम पनि पुरा गर्छौं । कोभिड–१९ का कारणले पनि हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसार सबै काम पुरा गर्न सकेनौं । १० करोड रुपैयाँ भन्दा बढी महामारी रोकथाम र नियन्त्रण गर्नको लागि खर्च गर्नु पर्याे । त्यो समयमा विकासका योजना पनि धेरै नै प्रभावित बन्न पुगे । यसका साथै हामी निर्वाचित भएर आउँदा महानगरको आन्तरिक राजश्व १५ करोड रुपैयाँ थियो । हाल महानगरको अन्तरीक राजश्व लगभग १ अर्ब रुपैयाँ हुन्छ । ६३ प्रतिशत व्यक्तिहरू हाम्रो राजश्वको दायरामा छैनन् । उनीहरूलाई पनि सम्झाई बुझाई गरेर राजश्वको दायरा भित्र ल्याउँदै छौं । हामीले घोषणापत्रमा पूर्ण साक्षर घोषणा गर्ने, बालमैत्री विरगंज बनाउने जस्ता महत्त्वपूर्ण विषयहरूको उल्लेख गरेका थियौं । ती सबै कामहरु हामीले गरेका छौं । वीरगंज औद्योगिक तथा व्यापारिक क्षेत्र पनि हो, तपाईंको कार्यकालमा व्यावसायिक वातावरण सिर्जना गर्नको लागि के–के काम भए ? वीरगंजलाई पहिलादेखि नै व्यावसायिक तथा औद्योगिक नगर पनि भनिन्छ । पछिल्लो समय वीरगंजमा औद्योगिक क्षेत्रको विकास धेरै नै भएको पाइन्छ । वीरगंजको पश्चिम भरुवासम्म उद्योग क्षेत्र छ । औद्योगिक क्षेत्रको विकास गर्न महानगरले संघीय सरकारसँग पनि विभिन्न कुराको माग गरिरहेको छ । यहाँका व्यवसायीहरूले उद्योग व्यवसाय स्वतः अगाडि बढाएका छन् । औद्योगिक क्षेत्रसम्मको सडक विस्तार महानगरले गरेको छ । मैले भन्ने गरेको छु, औद्योगिक तथा व्यापार व्यवसाय गर्ने चाहनेहरूको लागि महानगरले सहजीकरण गर्नेमा महानगर सधै तत्पर छ । राम्रोसँग सञ्चालन भएका उद्योगहरूमा हाल कुनै पनि समस्या छैन । औद्योगिक क्षेत्रमा आए समस्याको समाधान गर्नतर्फ हामी लागेका छौं । व्यावसायिक वातावरण सिर्जना गर्नको लागि महानगरपालिका तत्पर छ । औद्योगिकीकरण र कृषिलाई यान्त्रिकरण नगरीकन हामी अगाडि बढ्न सक्दैनौं । सडक र ढलको व्यवस्था महानगरले गर्ने भएको छ । जहाँ नयाँ उद्योग खोल्ने सम्भावना छ त्यी इलाकाहरूको विशेष गरी सडक बनाउने सहजीकरण गर्ने कामलाई निरन्तरता दिएका छौं । हालसम्म हामीले वीरगंजमा २ सय ४० किलोमिटर सडक पिच तथा ग्राभेल गरेका छौं । कार्यकालको बाँकी अवधिमा सम्पन्न हुने अर्थात् यो चाहिँ मेरै कार्यकालमा पूरा भयो भनेर देखाउने कुनै काम छ ? महानगरमा गर्नुपर्ने काम धेरै छन् । बिस्तारै एक पछि अर्को काममा सफलता महानगरले पाउँदै छ । पालिकाका धेरै कामलाई निरन्तरता दिएका छौं । पहिला फोहोरको विरगंज थियो । अहिले हामीले ल्याण्ड फिल्ड साइड बनाइ सकेपछि फोहोरको व्यवस्थापन राम्रो तरिकाले भएको छ । कुहिने फोहोरबाट मल पनि बनाएका छौं । केही समय अघि मात्र ग्रिन मेडिकल सेन्टरको स्थापना गरी सञ्चालनमा ल्याएका छौं । पार्कहरू बन्ने क्रममा छन् । हामीले सञ्चालन गरेका तर पूरा नभएका योजनाहरू पुरा गर्नेतर्फ पनि लागेका छौं । कामको सिलसिलामा संघीय सरकार र प्रदेश सरकारसँग महानगरको सम्बन्ध र समन्वयको अवस्था चाहिँ कस्तो रह्यो ? संघीय सरकारसँग प्रायः सबै कुरामा समन्वय छ । प्रदेश सरकारसँग खासै केही सम्बन्ध भएको छैन । प्रदेश सरकारको अनुभूति नै भएको छैन । प्रदेश सरकारसँग के–के काममा समन्वय गर्ने, के अनुमति लिने भन्ने कुरा नै प्रस्ट छैन । प्रदेश सरकारले विनियोजन गरेको बजेटको कुरा स्थानीय सरकारलाई थाहै हुँदैन । ऐनअनुसार बजेट कार्यान्वयन गर्न आएपछि मात्रै थाहा हुन्छ । एउटाले बाटो बनाउने र केही दिनमा अर्कोले खन्ने समस्या छँदैछ । संविधानले धेरै राम्रो व्यवस्था गरेको छ । यसको कार्यान्वयन धेरै समस्या देखियो । प्रदेश संरचना भएकोले हुनाले पनि हालसम्म तालमेल नै मिलेको छैन । हाल पनि प्रदेशसँग राम्रो समन्वय हुन सकेको छैन । हाम्रो धेरै कुराहरू केन्द्रमा नै लक्षित छ, भने केन्द्रबाट नै काम भइरहेको छ । संविधानले गरेको व्यवस्था अनुसारको ३ वटै सरकारले सहकार्य र समन्वय गरी काम गर्यो भने राम्रो हुन्छ । तर, सोचेको जस्तो समन्वय र सहकार्य चाहिँ हुन सकेको छैन । सबैले आ–आफ्नो तरीकाले काम गर्छन् । समन्वय नभएको कारण कतिपय अवस्थामा एउटै योजना ३ वटा सरकारले नै गरिरहेको हुन्छ । त्यो चाहिँ ठिक भएन । प्रदेशले गर्नुपर्ने काम संघले गर्नु भएन, आ–आफ्नो कार्य क्षेत्र भित्र पर्ने काम राम्रोसँग गर्यौ भने विकास निर्माण साथै अन्य कामले पनि तीव्रता पाउन सक्छ । ५ करोड भन्दा बढीका योजनाहरू संघ सरकारले गर्नुपर्ने हो । यहाँ के छ भने २ देखि ३ लाखका योजनाहरू पनि संघ र प्रदेशबाट आउने गर्छ । सबैले कार्यकर्ता पोस्ने काम मात्र गरेका छन् । गाउँगाउँमा सिंहदरबार ,पुग्यो भनियो, तर, भनिए अनुसार विकास र अधिकारको महसुस सर्वसाधारणले गर्न पाएकी पाएनन् ? मलाई लाग्दैन कि गाउँगाउँमा सिंहदरबार पुग्यो भनेर । साबिकका १६ वटा ग्रामीण क्षेत्रलाई मिलेर महानगर बनेको छ । नेपाल सरकारले प्रर्याप्त मात्रमा स्रोत र साधन दिन सकेको छैन । महानगरपालिकालाई स्रोत र साधन पर्याप्त दिएको भए वीरगंज व्यावसायिक र औद्योगिक क्षेत्र भएको नाताले यहाँबाट अझै धेरै रोजगारीको सृजना गर्न सक्थ्यौं । पालिकाको आन्तरिक स्रोतले नै बढी भन्दा बढि विकास निर्माणको काम गरी रहेका छौं । तपाईं नगर प्रमुख भएर आएपछि कति जना बेरोजगार युवाहरुले रोजगारी पाए ? महानगरले हरेक वर्ष रोजगारीको अवसरहरु सृजना गरिरहेको हुन्छ । यो ४ वर्षको अवधिमा करीब ५ हजार बेरोजगार युवालाई रोजगारी दिन सफल भएका छौं । यो आर्थिक वर्ष भित्र नै थप ५ हजार युवालाई रोजगारी दिने योजना पनि बनाएका छौं । युवाहरूलाई लगानी गरी आत्मनिर्भर बन्नाउन खोजेका छौं । व्यवसायिक बन्न चाहने युवाहरूको लागि महानगरले सहजीकरण गर्दै आएको छ । कृषिलाई व्यवसायिकीकरण गर्न महानगरसँग के–कस्ता योजना छन् ? हामीले कृषि क्षेत्रमा पनि यान्त्रीकरण गरेका छौं । नयाँ आधुनिक मेशिन किनेर किसानहरूको समूह गठन गरी निःशुल्क वितरण गरेका छौं । पशुपालन क्षेत्रमा पनि ठूलो लगानी गरेका छौं । विदेशमा गएर फर्के युवाहरू फेरी पलायन हुन नपरोस् भनेर युवाहरूको समूह गठन गरी बाख्रा, बोका, पनि वितरण गरेका छौं । वडा अनुसारको पकेट क्षेत्रहरु छुट्याएका छौं । महानगर भित्र आधुनिक खेतीको सुरुवात गरेका छौं । एक सय विग्गामा गरिने खेती एक बिग्गामा गर्ने किसिमले योजना अगाडि बढाएका छनैं भने माछा पालनमा पनि धेरै राम्रो कामहरू भएका छन् । तपाईंको विचारमा स्थानीय तहलाई अझै सक्रिय तथा अब्बल बनाउनको लागि के गर्नु पर्छ ? स्थानीय निकाय कार्यान्वयन गर्ने निकाय हो । जनताको घर आँगनको सरकार भनेको स्थानीय निकाय हो । प्रदेश र केन्द्रले जति पनि योजनाहरू ल्याउँछ ती योजनाहरू स्थानीय सरकारसँग सहकार्य गरेर ल्याओस् र अपलब्धिमूलक हुन आवश्यक छ । ३ तहको सरकार बिच सहकार्य भयो भने स्थानीय तहमा विकास निर्माणको काम पनि धेरै राम्रो हुने छ । अन्त्यमा, महानगरवासीलाई के भन्न चाहनुहुन्छ ? महानगरपालिकाले मात्र सबै काम गर्ने होइन । विकास निर्माणको काममा महानगरवासीको पनि सकारात्मक तथा रचनात्मक साथ र सहयोग चाहिन्छ । जनताको अपेक्षा अनुसारको काम हामीले गर्यौं । कतिपय ठाउँमा चाहेर वा नचाहेर भूगोल तथा परिस्थिति र महामारीको कारणले केही समस्या पनि आए । नागरिकहरुले हरेक दुःख तथा अप्ठ्यारोमा हामीलाई साथ दिएकोमा आभार व्यक्त गर्न चाहन्छु । हामी नागरिकका जनप्रतिनिधि हौं, त्यसैले हामीलाई यति बेला सर–सल्लाह एवं सुझाव पनि दिन अनुरोध गर्छु ।

‘विद्युतीय सवारी साधनको प्रयोग गरौं, व्यापार घाटालाई कम गरौं’

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई अपिल गरेकी छिन् । मन्त्री भुसालले विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाउन पनि त्यस क्षेत्रका व्यवसायीलाई पुनः आग्रह गरिन् । शनिबार काठमाडौंको क्षेत्रपाटीस्थित छेत्रपाटी निःशुल्क चिकित्सालयले निर्माण गरेको अक्सिजन प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै उनले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत पर्याप्त रहेको उल्लेख गर्दै यसको उपयोग बढाएर राष्ट्रिय अर्थतन्त्रको निर्माणमा योगदान पु¥याउन पनि सबै क्षेत्रलाई आग्रह गरिन । मन्त्री भुसालले विद्युतको खपत बढाएर मुलुकको व्यापार घाटालाई न्यूनिकरण गर्दै लैजान सरकार लागि परेको पनि बताइन् । उनले सरकारले विद्युतको खपत बढाउन विद्युतको महशुल दर समेत घटाएको बताइन् । ‘आफ्नै देशको जलस्रोत हो । यसबाट उत्पादित भएको विजुली सस्तो हुनुपर्छ भनेर मैले रेट पनि घटाएको जानकारी गराउँदछु, र ऊर्जाको क्षेत्रमा विद्युतको उपयोग गर्नुस भनेर अपिल गर्न चाहन्छु’ मन्त्री भुसालले भनिन्, ‘भान्सामा प्रयोग गर्ने एलपी ग्याँस होस वा उद्योग, कलकारखानामा प्रयोग गर्ने ऊर्जाको क्षेत्रमा होस्, अझ बढि यातायातको क्षेत्रमा पनि विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाऔ, सस्तो विद्युत प्रयोग गरेर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिन्छ । र यसले असन्तुलित व्यापार घाटालाई न्यूनिकरण गर्न पनि सकिन्छ ।’ मन्त्री भुसालले सरकारले विद्युत विक्रीका लागि भारतसँग सम्झौंता गरिसकेको पनि स्मरण गराउनु भयो । त्यस अवसरमा उनले सामूदायिक अस्पतालहरुले समूदायको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै ती अस्पतालहरुमा आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताइन् । मन्त्री भुसालले हरेक स्थानीय सरकारले शिक्षा र स्वास्थ्यको उचित व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको र त्यसको कार्यान्वयन भईरहेको बताइन् ।

सानिमा बैंकको सीईओ बनेका पाण्डे को हुन् ?

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । हाल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रहेका पाण्डेलाई सीईओको जिम्मेवारी दिइएको हो । बैंककाे सञ्चालक समितिको बैठकले माघ १२ गतेदेखि आगामी ४ वर्षको लागि उनलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । बैंकमा २ कार्यकाल काम गरिसकेका सीईओ भुवन दाहाल भने अब बैंकबाट बाहिरिने भएका छन् । नवनियुक्त सीईओ पाण्डेले वित्तमा स्नातकोत्तर र विज्ञानमा स्नातक हासिल गरेका छन् । २०५२ सालमा नबिल बैंकबाट बैंकिङ करियर सुरु गरेका पाण्डे सानिमा बैंकमा २०७० सालबाट आवद्ध भएका थिए । उनले देश तथा विदेशमा गएर पनि क्षमता अभिवृद्धिका तालिमहरु लिएका छन् ।