काठमाडौं । ‘मैले ३५ हजार रुपैयाँबाट व्यापार सुरु गरेको हुँ, अहिले ३५ हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने पलङ्गमा सुत्छु,’ कावासोती–२ नवलपरासीका टिकाराम लामिछानेको यो वाक्यांशले पंक्तिकारको ध्यान तान्न बाध्य पार्यो ।
भागवत गीतामा लेखिएको छ, ‘कर्म गर तर फलको आश नगर ।’ हो, कावासोती नवलपरासीका टिकाराम लाछिछानेले पनि कहिल्यै सोचेका थिएनन् कि म करोडौं सम्पत्तिको मालिक हुन्छु भनेर । बस्, उनले सधैं आफ्नो कर्मलाई पुजे र अहिले समाजमा एक सम्मानित र प्रतिष्ठित व्यवसायीका रुपमा आफुलाई चिनाए ।
आज भन्दा १८ वर्ष अगाडि हातमा झोला बोकेर झोलामा हार्डवेयरका सामानहरु बोक्दै व्यापार गर्नु टिकारामको दैनिकी थियो । दिनभर सामान बिक्री गरेर घर चलाउनु उनको बाध्यता थियो । दिनभर सामान बिक्री गरेर उनी मुस्किलले पाँच सयसम्मको कारोबार गर्थे । तर, अहिले उनको दैनिक एक लाखसम्मको पनि कारोबार हुन्छ ।
‘१८ वर्ष अगाडि आमालाई ३५ हजार रुपैयाँ मागेर हार्डवयेरका सामानहरु बेच्ने काम गरेँ, त्यो बेला मुस्किलले दिनभर ५ सय कारोबार हुन्थ्यो, त्यसमा पनि आम्दानी न्यून हुन्थ्यो, ती दुःखका दिनहरु दिन सम्झेर कमाईका लागि भारत तर्फ जान्छु भन्ने सोच पनि नआएको होइन, तर, यसमै संघर्ष गरेँ, अहिले यहाँसम्म पुगेको छु, उनले आफ्नो संघर्षका दिनहरु सम्झिँदै भने ।
दुःखका दिनहरुसँग संघर्ष गर्दै टिकारामका दिनहरु बित्दै गए । पारिवारिक स्थिती सहज थिएन । आर्थिक रुपले कमजोर टिकारामको घरमा बिचमै बर्जपात आइलाग्यो । सामान्य ज्वरो आएर थला परेका उनका बुवाको कलिलो उमेरमै निधन भयो ।
‘बुवालाई खासै ठूलो बिराम थिएन, ज्वरो आएको थियो, ज्वरोको औषधि खाने बित्तिकै त्यसको ‘रियाक्सन’ भयो त्यसको केही समयमै बुवाले हामीलाई छोडेर जानु भयो, ४२ वर्षको उमेरमै मैले बुवा गुमाएँ,’ टिकारामले भावुक हुँदै भने ।
टिकाराम हार्डवयर सामानको व्यापार गर्ने भएपनि घरको रेखदेख गर्ने उनका बुवा थिए । तर, बुवाको पनि मृत्यु भएपछि उनका दिनहरु झन बढी चूनौतिपूर्ण भए । हार्डवयरको व्यापार गर्नु अगाडि नै आफुले विद्यालय छोडिसकेको उनी बताउँछन् ।
‘पढ्ने रहर थियो, तर, रहरले मात्रै सबै कुरा नहुने रहेछ, बुवाको मृत्यु भइसकेपपछि आफैले घर सम्हाल्नु पर्ने बाध्यता आयो, त्यतिखेरै भारत जाने इच्छा पलायो, फेरि देशमै केही गर्नु पर्छ भन्ने साहस आयो, काम गर्दै गएँ, अहिले यहाँसम्म पुगेको छु,’ उनले भने ।
टिकारामको ‘टर्निङ प्वोेइन्ट’
लामिछानेले गरेको मेहनत देखेर समाजले खुव तारिफ गर्थ्यो । उनको लगनशिलता र मिहेनत देखेर कावासोतीमै रहेको नव त्रिवेणी बहुमुखी सहकारी संस्था पनि प्रभावित बन्यो ।
काममा लगनशिलता र इमान्दारिता भएर लाग्ने टिकारामलाई एक दिन सो सहकारीले आफ्नो सदस्य बन्न प्रस्ताव गर्यो । उनी अब नव त्रिवेणी बहुमुखी सहकारी संस्थाका सदस्य बने । सुरुमा उनलाई सहकारीले बिना धितो ५० हजार रुपैयाँ ऋण दियो ।
अब उनले हार्डवेयरको काम छोडेर कपडा पसल खोल्ने योजना बनाए । त्यतिखेर ऋण लिनका लागि धितो राख्नका लागि पनि उनीसँग जमीन थिएन । तर, सहकारीले उनलाई धेरै सहयोग गरेको उनी सुनाउँछन् ।
‘सहकारी मेरो जीवनमा नआएको भए सायद म यतिसम्मको प्रगति गर्थेन होला, सुरुमा दिएको ५० हजार विना धितो ऋण नै मेरो जीवनको महत्वपूर्ण बनेर आयो, सहकारीले पनि तपाई व्यवसाय गर्नुस्, हामी सहयोग गर्छौं भनेपछि साहस आयो, त्यसपछि कपडा पसल खोलेँ,’ उनले भने ।
सहकारीको साथ नै आफ्नो जीवनको टर्निङ प्वोइन्ट बनेको उनी सुनाउँछन् । उनका अनुसार आफ्नो विवाह गर्दा पनि सहकारीबाट ऋण नै लिएर श्रीमतिका लागि गर गहना खरिद गरे ।
‘सहकारी मेरो दुःख सुखको साथी बनेको छ, हरेक काममा म सहकारीलाई सम्झिन्छु, बैंकमा अहिलेसम्म खाता खोलेको छैन, यदि सहकारी मेरो जीवनमा आउँथेन भने म अहिले यो ठाउँमा हुन्थेन होला,’ उनी भन्छन् ।
४३ वर्षीय टिकारामले विवाह गरेको पनि १२ वर्ष पुगिसकेको छ । पहिले श्रीमतिले कलेजमा पढाउने गरेको भएपनि अहिले पढाउन छोडेर आफ्नै व्यवसायमा लागेको उनी बताउँछन् ।
‘मैले हरेक बाध्यताले पढ्न पाएनँ, श्रीमतिलाई र बहिनीलाई पढाएँ, अहिले दुई छोराछोरीलाई पनि पढाइरहेको छु, सबैको नाममा बचत गरेको छु,’ उनले भने ।
३ करोडको सम्पत्ति
१८ वर्षको व्यवसायको दौरानमा टिकारामको जीवन र जीवनशैली बदलिएको छ । विगतमा दिनभर काम गरेर साँझ के खाने भन्ने चिन्ता राख्ने टिकारामको परिवार अहिले कावासोतीमा सम्पन्न परिवारका रुपमा परिपिचत छ ।
यो अवधिमा उनले बजारमै तीन ठाउँमा जग्गा जोडिसकेका छन् । आफ्नै घर बनाइसकेका छन् । सहकारीकै कारण आफ्नो जीवनशैली फेरिएको उनी बताउँछन् । उनका अनुसार उनले हालसम्म ३ करोडको सम्पति जोडेका छन् ।
‘पहिले ऋण लिन जग्गा धितो राख्नलाई थिएन, अहिले दुई पक्की घर र तीन ठाउँमा जग्गा छ, कपडा पसलबाटै दैनिक ७० हजार र कहिले काँहि एक लाख रुपैयाँसम्म पनि कारोबार हुन्छ, घर भाडाबाट पनि राम्रो आम्दानी हुन्छ,’ उनले भने ।
उनका अनुसार २५ लाख रुपैयाँ लगानी गरेर उनले कपडा पसल सुरु गरेका थिए । अहिले सोही पसलबाटै उनी मनग्य आम्दानी गरिरहेका छन् ।

सम्बन्धित सामग्री: नारायणीको कथाः जसको सहयात्री ढले तर साहस ढलेन