चार्टर उडानमा बढी भाडा प्रकरणः पुरानो प्रतिवेदन थन्क्याएर नयाँ समिति गठन गरे मन्त्री आलेले

<p>काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पुरानो अध्ययन प्रतिवेदन दराजमा थन्क्याएर सोही विषयमा अध्ययन गर्न भन्दै नयाँ समिति गठन गरेका छन् । नारायणहिटी दरबार संग्रहालय र पशुपतिको धर्मशालामा बतास समूहसँगको सम्झौता रद्द गरेर भाइरल बनेका पर्यटनमन्त्री प्रेमबहादुर आलेले चर्चा कमाउनका लागि उद्धार उडानमा बढी भाडा लिएको विषयमा छानविन गर्न नयाँ समिति [&hellip;]</p>

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पुरानो अध्ययन प्रतिवेदन दराजमा थन्क्याएर सोही विषयमा अध्ययन गर्न भन्दै नयाँ समिति गठन गरेका छन् ।

नारायणहिटी दरबार संग्रहालय र पशुपतिको धर्मशालामा बतास समूहसँगको सम्झौता रद्द गरेर भाइरल बनेका पर्यटनमन्त्री प्रेमबहादुर आलेले चर्चा कमाउनका लागि उद्धार उडानमा बढी भाडा लिएको विषयमा छानविन गर्न नयाँ समिति गठन गरेका हुन् ।

नेपालमा कोरोनाको दोस्रो लहर फैलन थालेको भन्दै सरकारले २०७८ वैशाख २४ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको थियो । नियमित उडान बन्द गरेर सरकारले मागका आधारमा केही देशमा चार्टर उडानको अनुमति दिएको थियो ।

संकटको समयमा वायुसेवा कम्पनीले बढी भाडा लिएको भन्दै आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले छानविन गर्न एक समिति गठन गरेको थियो । मन्त्रालयले गत असार ७ गते समिति गठन गरेको थियो ।

सो समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेको भएपनि पुरानो समितिले बुझाएको प्रतिवेदनलाई थन्क्याएर मन्त्री आलेको निर्देशनमा मन्त्रालयले माघ १० गते ७ दिनको समय दिएर पुनः सोही विषयमा छानविन गर्न अर्काे समिति गठन गरेको छ ।

चार्टर्ड उडानमा बढी भाडा लिएको विषयमा मन्त्रालयमा हालसम्म यात्रुहरुले गुनासो गर्ने गरेको भन्दै मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

के थियोे पुरानो प्रतिवेदनमा ?

मन्त्रालयको निर्देशनका आधारमा गत असार ७ गते नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको थियो ।

असार ७ गते गठन गरिएको उक्त समितिले मन्त्रालयका तत्कालीन सचिव यादव कोइरालालाई भदौ १६ गते प्रतिवेदन बुझाएको थियो ।

उक्त समितिले हवाई भाडा महंगो भएको सम्बन्धमा २५ वटा उजुरी परेको भन्दै उजुरीमध्ये सबैभन्दा धेरै कतार एयरवेजले गरेको चार्टर्ड उडानको विषयमा उजुरी परेको उल्लेख गरेको थियो । २५ उजुरीमध्ये कतार एयरवेजको १६, टर्किस एयरलाइन्सको ७ र हिमालय एयरलाइन्सको विरुद्ध २ वटा उजुरी परेको थियो ।

यस्ता उजुरीमध्ये तोकिएभन्दा बढी भाडा लिएको भन्दै कतार एयरवेजको चार्टर उडानको टिकटका सम्बन्धमा ९ वटा, टर्किस एयरलाइन्स र हिमालय एयरलाइन्सको टिकटका सम्बन्धमा २/२ वटा उजुरी परेका थिए ।

सो समितिले आफ्नो प्रतिवेदनमा तोकिएभन्दा बढी भाडा असुल गरेको भन्दै ३ वायुसेवा कम्पनीलाई भाडाको सम्बन्धमा थप अध्ययन गरेर कारवाहीका लागि सम्बन्धित नियामक निकायमा सिफारिस गर्नुपर्ने उल्लेख गरेको छ ।

सो समितिमा प्राधिकरणका तत्कालिन महानिर्देशक पोखरेलको संयोजकत्वमा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक देवचन्द्रलाल कर्ण, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, मन्त्रालयका उपसचिव नरहरि घिमिरे र पर्यटक प्रहरी निरिक्षक चन्द्रकिशोर साह सदस्य रहेका थिए ।

यसअघि छानविन समितिले बुझाएको प्रतिवेदनको विषयमा बुझ्न खोज्दा मन्त्रालयका प्रवक्ता डा. टोकराज पाण्डेले आफूलाई जानकारी नभएको बताए । उनले यसअघिको कुरा आफूलाई जानकारी नभएको भन्दै पुरानो प्रतिवेदनमाथि थप अध्ययन गरेर निष्कर्ष निकालिने बताए ।

Share News