भर्चुअल करेन्सीबारे राष्ट्र बैंकले भन्योः स्वेदशी मुद्रा बाहिरिन थाल्यो, कारोबार गरे कारवाही गर्छौं
काठमाडाैं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, हाइपर फण्ड जस्ता भर्चुअल करेन्सीमा लगानी नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । राष्ट्र बैंकले आइतबार सूचना जारी त्यस्ता अनेकन भर्चुअल करेन्सीमा लगानी नगर्न आग्रह गरेकाे हाे । सरकारले नै कानुनी रुपमा अनुमति नदिएको ठाउँमा लगानी नगर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको हो । कसैले कारोबार गरेको पाइएमा तत्काल कारवाही गर्ने चेतावनी पनि राष्ट्र बैंकले दिएको छ । ‘हालका दिनहरुमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीहरुको कारोबार तथा प्रयोग गर्न र त्यस्ता भर्चुअल करेन्सी तथा हाइपर फण्ड जस्ता कोषमा लगानी गर्न जोसिअल, क्राउडआई, सोलम्याक्स ग्लोबल जस्ता पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङ मा आवद्ध हुन प्रोत्साहन गर्न/गराउने गरेको जानकारी हुन आएकोले सो सम्बधन्धमा गम्भीर ध्यानाकर्षण भएको छ,’ राष्ट्र बैंकले भनेको छ । नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सीले कानुनी मान्यता नपाएको र यसले स्वदेशी मुद्रा पलायन हुने भएकोले यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोवास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरुले समेत यस्ताे कार्य गरेको वा गराइएको पाइएमा कानुन बमोजिम कारवाही गर्ने चेतावनी पनि राष्ट्र बैंकको छ ।
उद्योगहरुमा सांसद आतंक, सुपर कार्यकारी बन्दै विमल श्रीवास्तवको समिति
काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सुपर कार्यकारी अधिकार प्रयोगको अभ्यासमा जुटेको छ । सरकारलाई निर्देशन दिन सक्नेसम्म अधिकार पाएको संसदीय समिति सरकारको फ्रण्ट डेस्क अफिसरलाई प्राप्त हुने अधिकार प्रयोगमा केन्द्रीत भएको छ । समितिले उद्योगहरुको स्थलगत अनुगमनका नाममा आफूहरुलाई अनावश्यक दुःख दिने नियत प्रदर्शन गरेको एक उद्योगीले बताए । नीतिगत विषयमा निर्देशन दिने निकायले सरकारको फ्रण्ट डेस्क अफिसरले जस्तै विवरण माग गरेर पत्र पठाउनु तथा स्थलगत अध्ययनका नाममा उद्योगमा जथाभावी प्रवेश गर्नु आपत्तिजनक भएको ती उद्योगीको भनाई छ । ‘उद्योगको अनुगमन गर्नुपर्यो भन्दै माननीयज्यूहरुको एउटा टोली उद्योगहरुमा पुगिरहेको छ, उद्योगसँग ईआईए गरेको छ कि छैन, कर चुक्ता प्रमाणपत्र छ कि छैन, स्थायी, करार, ज्यालादारीमा कति कति जना कर्मचारी छन् भन्ने जस्ता विवण पठाइदिनु भन्दै पत्र पठाइएको छ, अब हामीले प्रकाशनिक कार्य सरकारका निकायसँग गर्ने हो कि संसदीय समितिसँग ?’ एक उद्योगीले प्रश्न गरे । संसदीय समितिहरुले आफूहरुलाई चाहिने सुचना तथा जानकारीहरु सम्बन्धित मन्त्रालय मार्फत दिने प्रचलन थियो । यही प्रचलनलाई आधार मान्ने हो भने कर्मचारीसँग सम्बन्धित विषयमा श्रम मन्त्रालय, करसँग सम्बन्धित विषयमा अर्थ मन्त्रालय र वातावरणसँग सम्बन्धित विषयमा वातावरण मन्त्रालयसँग जानकारी माग गर्ने हैसियत सो समितिले राख्छ । तर, समिति भने आफ्नो अधिकारभन्दा बाहिर गएर सरकारको कुनै विभाग अन्तरगतको कार्यालय जसरी उद्योगसँग सोझै र सानामसिना विवरण माग गर्न थालेको छ । समिति सभापति विमल श्रीवास्तव भने आफूहरुले कार्यक्षेत्र वाहिर गएर कुनै कार्य नगरेको दाबी गर्छन् । ‘हामीले सबै उद्योगको अनुगमन गरेको होइन, घटना घटेका, दुर्घटना भएका उद्योगहरुमा स्थलगत अनुगमनमा गइएको हो, मजदुरलाई दिनुपर्ने आधारभूत सुविधा पनि नदिएको भन्ने गुनासो र उजुरी प्राप्त भएपछि सो सम्बन्धी विवरण पनि मागिएको हो,’ समिति सभापति श्रीवास्तवले भने । समितिले उपसमिति नै गठन गरेर अध्ययन गरिरहेको र सोही अध्ययनको क्रममा केही खास उद्योगहरुसँग विभिन्न विवरण माग गरिएको सभापति श्रीवास्तवले बताए । समितिले गठन गरेको उपसमितिको संयोजकमा सांसद प्रकाश रसाइली छन् । रसाइली संयोजक रहेको उपसमितिले नै उद्योगहरुको स्थगलत अध्ययन र विवरण माग गरिरहेको छ । ‘हामी आफै उद्योगमा गयौं भने यथार्थ जानकारी हामीलाई पनि हुन्छ, यहाँ यस्तो भएको रहेछ भन्ने हामीलाई जानकारी प्राप्त भएपछि सो अनुसार निर्देशन दिन पनि सजिलो हुन्छ, त्यही भएर हामी आफै उद्योगहरुमा गएका हौं, उद्योगहरुसँग विवरण मागेका हौं,’ श्रम, कर, वातावरणीय प्रभाव मूल्यांकन जस्ता विषयहरु सम्बन्धित मन्त्रालयबाटै जानकारी लिन सकिने अवस्था हुँदाहुँदै किन उद्योगमै पुग्नुभयो भन्ने प्रश्नमा सभापति श्रीवास्तवले भने ।
सिटीसी मल बेचेको पैसा आफुलाई पनि दिन सहकारीको कोषलाई आग्रह, २१ करोड असुल्न लिलाम गरिँदै
काठमाडौं । कर्मचारी सञ्चय कोषले इच्छाराज तामाङको स्वामित्वमा रहेको सुन्धारास्थित सीटीसी मल लिलाम गर्ने तयारी गरेको छ । सिटीसी मल लिलामका लागि अब केही दिनमै सूचना निकाल्ने कोषकाे तयारी छ । कोषले ऋण तिर्न ३५ दिने सूचना जारी गर्दा पनि मलको स्वामित्वकर्ता तामाङ सम्पर्कमा नआएपछि कोष लिलामी प्रक्रियामा जान लागेकाे कोषले जनाएको छ । कर्मचारी सञ्चय कोषले गत मंसिर ६ मा ऋणी सिभिल स्टेट्स प्रालिका नाममा ऋण भुक्तानी गर्ने सम्बन्धी ३५ दिने सूचना निकालेको थियो । पुस १० गते सो सूचनाको म्याद सकिसकेको छ । कोषका अनुसार अहिले सीटीसी मलको मूल्याङ्कन भइरहेको छ । तामाङले उद्योग विमागमा दर्ता गरेको आफ्नो सिभिल स्टेट्स प्रालि नाममा कोषबाट मल धितो राखी ऋण लिएका थिए । ‘अहिले सिटिसी मलको मूल्यांकन भइरहेको छ, मूल्याङ्कन पूरा भएपछि कानुन बमोजिम धितो लिलामीका लागि सूचना जारी गर्छौं, सूचना अब चाँडै निकाल्ने हाम्रो तयारी छ,’ कोष स्रोतले भन्यो । कोष स्रोतका अनुसार तामाङले कोषको २० करोड ९७ लाख ५४ हजार रुपैयाँको हाराहारीमा ऋण तिर्न बाँकी छ । सो ऋण असुल्नका लागि कोषले सिटीसी मल लिलाममा राख्न लागेको हो । अब सुन्धारास्थित मलको ६ रोपनी जग्गा र सोमा निर्माण भएको पसल कवलहरू लिलामीमार्फत बिक्री गरी २० करोड ९७ लाख ५४ हजार असुल गरिने कोषले जनाएको छ । उक्त धितो लिलामीबाट सम्पूर्ण ऋण रकम र अन्य रकम अशुल उपर नभएमा कानुनबमोजिम ऋणी तथा जमानी दिनेको अन्य चल, अचल सम्पत्तिबाट असुल उपर गरिने पनि कोषको भनाइ छ । तर, आफ्नो ऋणभन्दा मलको बढी मूल्यांकन आउन सक्ने कोषको प्रारम्भिक अनुमान छ । ‘हाम्रो ऋण २२ करोड रुपैयाँको हाराहारीमा मात्रै हो, सिटीसी मल त्यत्रो छ, मूल्यांकन बढी नै आउँछ होला,’ कोष स्रोतले भन्यो । कोष स्रोतका अनुसार अहिले सहकारीका बचतकर्ताहरु पनि आफुहरुलाई पनि सिटिसी मल बेचेको पैसा दिनु पर्ने काेषालाई आग्रह गरिरहेका छन् । त्यसैले पनि कोषलाई लिलामको सूचना निकाल्न ढिलाई भइरहेको छ । सिभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ्समार्फत बचतकर्ताको रकम फिर्ता नगरेको आरोपमा नै प्रहरीले गत असोज १८ मा तामाङलाई पक्राउ गरेको थियो । ‘सिटिसी मल बन्दा नै सिभिल सहकारीका बचतकर्ताको पैसा लगानी गरेकाे रहेछ, त्यसैले पनि सहकारीका बचतकर्ताहरु सिटिसी मल बिक्री भइसकेपछि पैसा तामाङलाई फिर्ता दिने भन्दा पनि आफुहरुलाई दिन आग्रह गरिरहेका छन्, उनीहरुको कारणले नै ढिलाई भएको हो, अब हामी हाम्रो प्रक्रियामा अगाडि बढ्दैछौं,’ स्रोतले भन्यो । कोषले सिटिसी मलमा लगानी रहेको भनेर दावी गर्ने सहकारीका बचतकर्तालाईडकुमेन्टस् लिएर आउन भनेको छ । तामाङ सभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ्सका सल्लाहकार हुन । उनी आवद्ध सहकारीले २ हजार भन्दा बढी बचतकर्ताको करिब साढे ७ अर्ब रुपैयाँ फिर्ता नगरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । तामाङ अहिले पनि थुनामा छन् ।