काठमाडौं । कोरोना संक्रमित बैंकका कर्मचारीहरुलाई बैंकहरुले विभिन्न सुविधाहरु प्रदान गर्दै आएका छन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले संक्रमित बैंकका कर्मचारीहरुलाई बैंकहरुले ‘कोरोना कीट’देखि तलबी बिदासम्मको सुविधा दिइरहेका छन् ।
बैंकहरुका अनुसार नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले संक्रमित कर्मचारीको व्यवस्थापन गरिरहेका छन् । गत वर्ष नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाका कर्मचारीले सेवा प्रदान गर्ने क्रममा कोरोना संक्रमण भएको खण्डमा तलबसहितको अतिरिक्त विदा दिई सम्पूर्ण उपचार खर्च संस्थाले व्यहोर्नु पर्ने नीति बनाएको थियो । सो नीति बैंकहरुले अहिले पनि अवलम्बन गरिरहेका छन् ।
गत वर्ष नेपाल राष्ट्र बैंकले आइसोलेसनमा बसेका कर्मचारीलाई आइसोलेसनमा समय अवधिमा तलबसहितको अतिरिक्त विदाको व्यवस्था गर्ने तथा क्वारेन्टाइनमा बसेका कर्मचारीलाई क्वारेन्टाइमा रहने समय अवधिमा वर्क फ्रम होमको व्यवस्था गर्नु पर्ने व्यवस्था गरेको थियो ।
नेपाल बैंकर्स संघका अनुसार अहिले पनि बैंकहरुले सोही निर्देशन अनुसार काम गरिरहेका छन् । बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरुम हालसम्म कुल ५ हजार ८ सय जना कर्मचारी कोरोना संक्रमित भएका छन् । ठूलो संख्यामा कर्मचारीमा कोरोना देखिएपछि वाणिज्य बैंकहरुका १४२ शाखा पनि बन्द छन् । कर्मचारी संक्रमणमुक्त भएपछि सेवा भने सुरु हुनेछ ।
नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार उपाध्यायका अनुसार अहिले अवस्था पहिलेको भन्दा सहज छ । पहिले कोरोना संक्रमण भएपछि व्यक्तिलाई गाह्रो हुने गरेको भएपनि अहिले संक्रमण भएपनि त्यति धेरै गाह्रो नहुँदा पहिलेको जस्तो होटल तथा अन्य ठाउँमा आइसोलेसनमा राख्नु पर्ने अवस्था नरहेको उनको भनाई छ ।
‘अहिले नेपाल सरकारले तोकेको गाइडलाइन अनुसार हामी काम गरिरहेका छौ, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले आ–आफ्नो इन्ट्रेस्ट अनुसार काम गरिरहेका छन्, अहिले पहिलेको जस्तो त्यति धेरै गाह्रो भइरहेको छैन, संक्रमित भइहाले पनि त्यति धेरै गाह्रो नहुने अर्थात अस्पतालमै भर्ना हुनु पर्ने अपवस्था छैन, यदि अस्पताल भर्ना भइहाले भने त्यसका लागि सम्बन्धित बैंकहरुले व्यवस्थापन गरिरहेका छन्, उद्यपि पहिले राष्ट्र बैंकले जारी गरेका निर्देशन भने आवश्यकता अनुसार कार्यान्वयन गरिरहेका छौं,’ उनले भने ।
उनका अनुसार कर्मचारीहरुमा कोरोना संक्रमण हुँदा बैंकहरुले तलबी बिदा दिइरहेका छन् ।
यस्तै, नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीले पनि बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकले गत वर्ष दिएको सुसिवधा अनुसार नै काम गरिरहेका छन् । उनका अनुसार अहिले कोरोना संक्रमित कर्मचारीहरुलाई बैंक व्यवस्थापनले नै आवश्यकता अनुसार विभिन्न सेवा सुविधा प्रदान गरिरहेका छन् ।
उनका अनुसार बैंकहरुले संक्रमित कर्मचारीलाई घरमै कोरोना किट पुर्याइदिनेदेखि संक्रमित हुँदासम्म तलबी बिदा दिने गरेका छन् ।
‘संक्रमित कमैचारीहरुका लागि राष्ट्र बैंकले गत वर्ष गरेको सर्कुलर यथावथ छ, अहिले पहिलेको जस्तो आइसोलेसन र होटलमा बस्नु पर्ने बाध्यता छैन, यदि उपचार नै गर्नु पर्ने अवस्था आयो भने सम्बन्धि बैंक व्यवस्थापनले काम गरिरहेका छन्, हामीले पनि बैंक व्यवस्थापनलाई मौखिक रुपमा भनिरहेका हुन्छौं, अहिले सरकारले जारी गरेको सर्कुलर अनुसार नै हामी काम भइरहेको छ,’ रेग्मीले भने ।
राष्ट्र बैंकले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि बैंक वित्तीय संस्थाका कर्मचारीलाई उच्च सर्तकता र पूर्ण सुरक्षाका उपायहरु अवलम्बन गर्न निर्देशन बाराम्बार दिँदै आएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले संक्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थित रुपमा घर, अस्पताल वा होटलमा अइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्थ गर्न निर्देशन दिइसकेको छ ।
उपचारका क्रममा लाग्ने खर्च खर्च बैंक तथा वित्तीय संस्थाले नै व्यहोर्नुपर्ने, आइसोलेसन वा क्वारेन्टाइनमा बसेका संक्रमित कर्मचारीको पीसीआर टेस्टको नतिजा नेगेटिभ आएपछि मात्र कार्यालयमा आउने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई गत वर्ष नै निर्देशन दिइसकेको थियो । सोही निर्देशन हालसम्म यथावथ छ । बैंकका कर्मचारी कोरोना संक्रमित भएपनि उनीहरु ‘वर्क फ्रम होम’ गरिरहेका छन् । बैंकहरुले उनीहरुलाई विभिन्न स्वास्थ्य सामग्री लगायत सुविधाको व्यवस्थापन गर्दै आएका छन् ।