राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत पुर्‍यायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार पुनर्कर्जा कार्यविधि २०७८ को चौथो संशोधनमार्फत ७ प्रतिशत ब्याजदर कायम गरेको हो । राष्ट्र बैंकले साधारण पुनर्कर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट ७ प्रतिशत लिन सक्ने व्यवस्था गरेको हो । बैंकहरुले राष्ट्र बैंकबाट भने ५ प्रतिशतमा पाउने छन् । बैंकका ग्राहकहरुले लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा ७ प्रतिशत, विशेष पुनर्कर्जामा ५ प्रतिशत र साधारण पुनर्कर्जा अन्तर्गत ७ प्रतिशत व्याज लिन पाउने छन् । बैंकहरुले भने राष्ट्र बैंकमार्फत् क्रमशः ४ प्रतिशत, २ प्रतिशत र ५ प्रतिशत ब्याजदरमा पुनर्कर्जा पाउनेछन् । एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको अवधि बढीमा एक वर्षको हुनेछ र यस्तो कर्जा नवीकरण हुने छैन । ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनर्कर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि, लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई र निजी क्षेत्रबाट संचालन भएका आर्थिक रुपले सङ्कटग्रस्त जलबिद्युत्आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका दश मेगावाट भन्दा साना जलबिद्युत् आयोजनालाई तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि छ महिना अवधिको हुने कार्यविधिमा उल्लेख छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले तोकेको व्यवस्थानुसार बैंकले यस्तो पुनर्कर्जा नवीकरण गर्न सक्नेछ । यस्तै, बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनर्कर्जाको अधिकतम सीमा ५ करोड रुपैयाँको हुनेछ । यसरी एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिनेरकमको ७० प्रतिशतभन्दा बढी नहुने व्यवस्था छ । बैंकले ग्राहक अनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने पुनर्कर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुनेछ । तर, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट स्थापना गर्न तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रति ग्राहक ऋणी ५० करोड रुपैयाँसम्म पुनर्कर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा पुगेको नमानिने कार्यविधिमा उल्लेख छ । यसरी ग्राहक अनुसार प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन ।

क्यूआर काेड कारोबारको विश्वसनीयतामाथि प्रश्न

काठमाडौं । काठमाडौं घट्टेकुलोका दिपेन्द्र ओझाले सोमबार नजिकैको पसलबाट केही सामान किने । सामान खरिद गर्दा उनले क्यूआर कोडमार्फत भुक्तानी गर्न खोजे । तर, पसलेले क्यूआर कोडभन्दा नगद नै दिन आग्रह गरे । क्यूआर कोडमार्फत भएको भुक्तानी खातामा नै नआउने भनेपछि उनले नजिकैको एटीएमबाट पैसा निकालेर सामान किनेको पैसा बुझाए । केही ग्राहकले भुक्तानी गरेको रकम आए पनि अधिकांश रकम समयमै नआउने र कुनै त खातामा नै नआएको तितो भोगाइ ती व्यापारीसँग छ । यस्तै अनुभव कुशल बमको पनि छ । कुशलले पनि केही दिन अगाडि न्यूरोडको एउटा पसलबाट मोबाइल खरिद गरे । उनले क्यूआर कोडमार्फत नै मोबाइलको मूल्य तिरे । तर, मोबाइल बिक्रेता (व्यापारी)को मोबाइलमा पैसा आएको मेसेज गएन । कुशलको खातामा भने पैसा घटिसकेको थियो । कुशलको मोबाइलमा भने कारोबार सफल भएको मेसेज आयो । तर, व्यापारीको मोबाइलमा भुक्तानी भएको मेसेज नगएपछि कुशलले खरिद गरिसकेको मोबाइल व्यापारीले दिन मानेनन् । त्यसपछि कुशलले नजिकैको एटीएमबाट पैसा झिके र २५ हजार रुपैयाँ व्यापारीलाई थमाए । उनले २५ हजार रुपैयाँ खाताबाट घटेपछि आफ्नो खाता रहेको बैंकमा सम्पर्क गरे । बैंकले पैसा रिभर्सका लागि निवेदन लेख्न भन्यो । तर, निवेदन लेखेको करिब तीन हप्तापछि २५ हजार रुपैयाँ खातामा फिर्ता भयो । यी दुई उदाहरण त केही प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय क्यूआर कोडमार्फत हुने कारोबारमाथि विश्वसनियताको कमि देखिएको छ । व्यापारीले पनि क्यूआर कोडमार्फत् भुक्तानी लिन नमान्ने र ग्राहकलाई पनि सास्ती हुने भएपछि विभिन्न बैंक तथा वित्तीय संस्थाले वितरण गरेका क्यूआर कोडहरू पसल तथा विभिन्न संघसंस्थामा वेवारिसे बनेका छन् । अधिकांश पसल तथा संस्थाहरूले क्यूआर कोड देखाउने भाडो मात्रै बनेका छन् । क्यूआर कोडमाथिको विश्वसनियतामा भने कमी देखिएको छ । एउटा वाणिज्य बैंकका डिजिटल बैंकिङ प्रमुखले पनि क्यूआर कोडमा समस्या आइरहेको स्वीकार गरे । उनका अनुसार यस्ता गुनासाेहरू उनको बैंकमा पनि आउने गरेका छन् । क्यूआर कोडमार्फत् हुने कारोबारको विषयलाई लिएर बैंकहरूमा पनि गुनासो आउँछन्, हामीले त्यसको समाधानका लागि मर्चेन्टहरूसँग सहकार्य गरिरहेका हुन्छौं तर, पहिलेको तुलनामा अहिले गुनासो कम आउँछन्,’ उनले भने । उनका अनुसार क्यूआर काेड नयाँ प्रविधि भएकोले पनि केही चुनौतीहरू छन् । काम गर्दै सिक्दै र समस्याहरूलाई पहिचान गरेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको उनको भनाइ छ । यस्तै, नेपाल बैंक पनि डिजिटल भुक्तानी तथा कारोबारको विषयमा विभिन्न गुनासो आइरहेको बताउँछ । नेपाल राष्ट्र बैंकका भुक्तानी विभागका प्रमुख गुरुप्रसाद न्यौपाने क्यूआरकै विषयभन्दा पनि डिजिटल कारोबारको विषयमा गुनासोहरु आउने गरेको बताउँछन् । ‘डिजिटल कारोबारमा धेरै पूर्वाधार हुन्छ, यसमा एउटा संस्थाभन्दा पनि धरैको यसमा संलग्नता हुन्छ, त्यसैले पनि केही समस्या देखिन्छन् नै, हाम्रा लागि यो नयाँ अभ्यास हो, विस्तारै समस्या पहिचान गर्दै त्यसको समाधान गर्ने हो,’ उनले भने । उनले डिजिटल कारोबारको विषयमा राष्ट्र बैंकले नियमित निरिक्षण तथा नियमन गरिरहेको बताए । पछिल्लो समय कारोबारमा पनि वृद्धि भइरहेको उनको भनाइ छ । माघमा भुक्तानी गर्ने घटे यसअघि निरन्तर बढिरहेको क्यूआर भुक्तानी माघ महिनामा भने घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार क्यूआर कोडमार्फत् हुने कारोबारमा निरन्तर वृद्धि भए पनि माघमा भने भुक्तानी संख्या घटेको हो । पछिल्लो सात महिनाको तथ्यांक अनुसार माघ महिनामा १७ लाख ८२ हजार ३६३ वटा भुक्तानी मार्फत ६ अर्ब ८९ करोड २० लाख रुपैयाँ कारोबार भएको छ । पुस महिनामा भने १९ लाख १८ हजार ५२६ वटा भुक्तानी भएको थियो । पुस महिनामा ६ अर्ब ५२ करोड ५० लाख रुपैयाँ कारोबार भएको थियो । मंसिर महिनामा १६ लाख ४९ हजार ३९७ वटा भुक्तानीमार्फत कुल ६ अर्ब २८ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो ।

रुस-युक्रेन युद्धको असर नेपाली पर्यटनमा, आरोहणको अनुमति दिएबापत आउने राजश्व गुम्ने चिन्ता

काठमाडौं । रुस–युक्रेन युद्धको असर नेपालको पर्यटन क्षेत्रमा देखिएको छ । बसन्त ऋतुको लागि हिमाल आरोहणको सिजन सुरु भए पनि आरोहणका लागि आरोहीहरुमा उत्साह नदेखिएको पाइएको छ । विगतका वर्षहरुमा यो समयमा पर्यटन विभागका अधिकारीहरुलाई आरोहण अनुमति दिन भ्याइनभ्याइ हुने गर्थ्यो । सिजन सुरु भएपछि एकछिन समेत फुर्सद नपाउने विभागका कर्मचारीहरु अहिले फुसर्दिला बनेका छन् । यो सिजनको आरोहणका लागि आरोहीमा खासै उत्साह नदेखिएको विभागका सूचना अधिकारी मोहनबहादुर जिसी बताउँछन् । ‘गत वर्षदेखिएको उत्साह अहिले पनि देखिने हामीले अनुमान गरेका थियौँ, तर रुस युक्रेन युद्धका कारण अधिकाशं आरोहीले आरोहण रद्द गरेका छन्’, उनले भने, ‘अहिलेको अवस्था हेर्दा गत वर्षभन्दा कम आरोहण अनुमति जारी हुने हामीले अनुमान गरेका छौँ ।’ कोरोना महामारीकैबीच सन् २०२१ को वसन्त ऋतुमा विश्वकै अग्लो चुचुरो सगरमाथा आरोहणका लागि हालसम्मकै धेरै आरोहीले आरोहण अनुमति लिएका थिए । सन् २०२० को आरोहण सुरु हुने समयमा कोभिड–१९का कारण आरोहण नै रोकिएपछि सन् २०२१ को सिजनमा हालसम्मकै धेरै आरोहीले आरोहणको अनुमति लिएको जिसी बताउँछन् । गत वर्ष विभागबाट १६ हिमाल आरोहण गर्न ७४ समूहका ६५९ आरोहीले आरोहण अनुमति लिएका थिए । पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायका अनुसार विभिन्न हिमाल आरोहणका लागि छिट्ट फुटट् आरोहीहरु विभागमा आउन थालेका छन् । ‘आरोहणकोे सिजन सुरु भएको छ, रुस–युक्रेन युद्धको असर आरोहणमा देखिने हाम्रो अनुमान छ’, उनले भने, ‘दुई देशबीचको युद्धका कारण युरोपेली मुलुकबाट आउने आरोहीले प्रि बुकिङ रद्द गर्न थालेको हामीलाई जानकारी आएको छ ।’ ट्रेकिङ कम्पनीहरुले यस वर्ष सगरमाथा आरोहणका लागि प्रिबुकिङ गरेका अधिकाशं आरोहीले बुकिङ रद्द गर्न थालेको जनाएका छन् । विभागको तथ्यांक अनुसार सन् २०१९ मा रुसका ५० भन्दा बढी आरोहीले विभिन्न हिमाल आरोहणको अनुमति लिएका थिए । आरोहण अनुमति लिएकामध्ये ३१ आरोहीले आरोहण सफल गरेका थिए । यस्तै, सन् २०१९ मा नै युक्रेनका २० आरोहीले आरोहण अनुमति लिएकामा ७ आरोहीले सफल आरोहण गरेका थिए । यस्तै नेपाल पर्वतारोहण संघबाट सन् २०१९ मा रुसका २८३ र युक्रेनका १०३ जना आरोहीले आरोहण अनुमति लिएका छन् । सन् २०२१ को आरोहणको तथ्यांक विभागले सार्वजनिक गरेको छैन् । विभागका अधिकारीहरु सन् २०१९ को तुलनामा २०२१ मा रुस र युक्रेनबाट धेरै आरोहीले आरोहण अनुमति लिएका थिए । कति लाग्छ शुल्क ? सगरमाथाको आरोहण गर्न विदेशी नागरिकले बसन्त ऋतुको समयमा ११ हजार डलर नेपाल सरकारलाई शुल्क बुझाउनु पर्नेहुन्छ । नेपालीहरूले भने ७५ हजार रुपैयाँ तिनुपर्नेछ हुन्छ । यस्तै, शरद ऋतुमा विदेशी नागरिकले ५ हजार ५ डलर र नेपालीहरूले ३७ हजार ५०० रुपैयाँ, जाडो र गर्मी महिनामा विदेशीहरूले २ हजार ७५० डलर र नेपालीहरूले १८ हजार २५० रुपैयाँ तिनुपर्नेछ हुन्छ । ८ हजार मिटर भन्दा अग्लो हिमाल आरोहण गर्न विदेशी नागरिकले नेपाल सरकारलाई बसन्त ऋतुको समयमा १ हजार ८०० डलर शुल्क बुझाउनु पर्ने हुन्छ भने नेपालीहरूले १० हजार रुपैयाँ बुझाउनु पर्नेहुन्छ । शरद ऋतुको समयमा विदेशीलाई ९०० डलर शुल्क लाग्ने छ भने नेपालीलाई ५ हजार रुपैयाँ लाग्नेछ । जाडो र गर्मी मौसममा विदेशी आरोहीहरूले ४५० डलर शुल्क तिनुपर्ने हुन्छ भने नेपाली आरोहीहरूले २ हजार ५०० रुपैयाँ तिनु पर्ने हुन्छ । यस्तै ७ हजार ५०० मिटरदेखि ८ हजार मिटर मुनीका हिमालको आरोहण गर्न बसन्त ऋतुको समयमा विदेशीले ६०० डलर शुल्क तथा नेपालीले ८ हजार रुपैयाँ तिनु पर्ने हुन्छ । शरद ऋतुको समयमा विदेशीले ३०० डलर र जाडो साथै गर्मीको समयमा १५० डलर तिनु पर्ने हुन्छ भने नेपालीले ४ हजार र २ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । ७ हजार मिटर अग्लोदेखि ७ हजार ५०० मिटर अग्लो हिमालको आरोहण गर्न बसन्त ऋतुको समयमा विदेशी आरोहीले ५०० डलर, शरद ऋतुमा २५० डलर र जाडो साथै गर्मी मौसम १२५ डलर शुल्क तिनु पर्ने हुन्छ भने नेपालीले क्रमशः ६ हजार ३ हजार १ हजार ५०० रुपैयाँ शुल्क तिनु पर्ने विभाको तथ्याङ्कले देखाएको छ । ६ हजार ५०० मिटर अग्लोदेखि ७ हजार मिटर मुनीका हिमालको आरोहण गर्न विदेशी आरोहीहरूले बसन्त ऋतुको समयमा, शरद ऋतुको समय र जाडो साथै गर्मीको समयमा क्रमशः ४००, २०० र १०० डलर शुल्क तिनु पर्ने हुन्छ भने नेपाली सोही हिमालको आरोहण गर्न क्रमशः ५ हजार २ हजार ५०० र १ हजार २५० रुपैयाँ राजश्व भुक्तानी गर्नुपर्ने हुन्छ । सरकारले २०७६ बाट बाह्रै महिना हिमाल आरोहणका लागि खुला गरेको थियो । तर कोरोना महामारीका कारण बन्द भएको हिमाल आरोहण विस्तारै सुरु हुन थालेको छ । अब पर्यटक कम हुँदा राजश्वमा पनि कमि आउने विभागकाे प्रक्ष्येपण छ ।