काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक करिडोरहरूमा विद्युत् आपूर्ति रोक्दा उद्योगहरूले ठूलो नोक्सान व्यहोर्नु परेको छ । भारतले प्रतियुनिट बिजुलीको मूल्य २० रुपैयाँ भारु पुर्याएको र नेपालले अतिरिक्त शुल्कसहित खरिद गर्दा प्रतियुनिट ३८ रुपैयाँ पर्ने भन्दै प्राधिकरणले केही दिन औद्योगिक करिडोरमा लोडसेडिङ गर्यो । बिनाजानकारी विद्युत् आपूर्ति रोक्दा उद्योगहरूले करोडौं गुमाउनु परेको उद्योगीहरूले गुनासो गरेका छन् ।
आयात बन्द गरेर प्राधिकरणले एक मेगावाटभन्दा बढी खपत गर्ने उद्योगलाई बिजुली कटौती गरेको छ । प्राधिकरणको भारप्रेषण केन्द्रकै निर्देशनमा भैरहवा, वीरगंज र विराटनगर प्राधिकरण कार्यालयले औद्योगिक करिडोरहरूमा बिजुली काटेको छ ।
मंगलबार साँझदेखि प्राधिकरणले विद्युत् कटौती गर्दा भैरहवा बुटवल औद्योगिक करिडोर, बारा–पर्सा औद्योगिक करिडोर र सुनसरी मोरङ करिडोर क्षेत्रका उद्योगमा बिजुली आपूर्ति रोकिएको उद्योगीहरूले बताएका छन् ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले मंगलबारदेखि प्राधिकरणले विद्युत् आपूर्ति रोकेको बताए । ‘केही दिन अघिसम्म प्राधिकरणले हामीसँग विद्युत् प्रयाप्त छ, तपाईंहरू आवश्यकता अनुसार लिनुस् भन्ने गरेको थियो, एकदिन अगाडि प्रयाप्त छ भन्ने प्राधिकरणले भोलिपल्टै बिनाजानकारी विद्युत् कटौती गर्यो, यसले उद्योगीलाई दैनिक ५० करोड रुपैयाँभन्दा बढी क्षति भएको छ,’ उनले भने ।
उनले उद्योगीलाई पूर्वजानकारी नदिई विद्युत् कटौती गर्नु प्राधिकरणको गम्भीर लापरवाही भएको बताए ।
‘हामी सम्पूर्ण उद्योगीहरु विद्युत् प्राधिकरणको भरमा नै उद्योग सञ्चालन गर्ने गरेका छौँ, अहिले डिजेलबाट उद्योग सञ्चालन गर्न सक्ने अवस्था छैन, रुस र युक्रेनको युद्धका कारण डिजेलको मूल्य आकाशिएको छ, यही समयमा विद्युत् छोडेर डिजेलको प्रयोग गर्न हामी उद्योगीसँग क्षमता नै छैन्, बैंकको ब्याज बढेको समयमा डिजेल कसरी प्रयोग गर्ने, उद्योग कुनै पनि हालतमा फस्टाउन सक्ने अवस्था नै छैन,’ उनले थपे ।
अहिले सबै उद्योग विद्युत् प्राधिकरणको भरमा सञ्चालित छन् । अहिले प्राधिकरणले दैनिक ६/७ घण्टा दिएको विद्युत्को उपयोग गर्दै उद्योगहरू सञ्चालन गरेका छन् । यद्यपि, प्राधिकरणले अब १२ बजेदेखि नियमित विद्युत् आपूर्ति हुने जनाएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अनुसार बिनाजानकारी विद्युत् आपूर्ति अवरोध हुँदा १५ सयभन्दा बढी उद्योगमा समस्या भएको छ । सिद्धार्थ नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले रुपन्देहीका उद्योगीले विगत एक महिनादेखि विद्युत् आपूर्तिमा अवरोध खेपिरहेको बताए ।
‘नेपाल विद्युत् प्राधिकरणले पर्याप्त मात्रामा विद्युत् छ, उद्योगीले चाहेजति उपयोग गर्न पाउँछन् भन्छ, तर हामीलाई नाम मात्रको विद्युत् दिइएको छ, विद्युत नभएको हैन, तर प्राधिकरणले कम भोल्टेज दिँदा उद्योगीलाई उल्टो समस्या भोग्नु परेको छ,’ उनले भने ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने प्राधिकरणले उद्योगीलाई सास्तिभन्दा पनि छुट दिएको बताए ।
हामीले सास्ताी होइन छुट दिएका छौं, भारतले ३८ रुपैयाँमा बिक्री गर्दा पनि हामीले ९ रुपैयाँमा दिइरहेका छौं,’ उनले भने । उनले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।