क्यूआर काेड कारोबारको विश्वसनीयतामाथि प्रश्न

<p>काठमाडौं । काठमाडौं घट्टेकुलोका दिपेन्द्र ओझाले सोमबार नजिकैको पसलबाट केही सामान किने । सामान खरिद गर्दा उनले क्यूआर कोडमार्फत भुक्तानी गर्न खोजे । तर, पसलेले क्यूआर कोडभन्दा नगद नै दिन आग्रह गरे । क्यूआर कोडमार्फत भएको भुक्तानी खातामा नै नआउने भनेपछि उनले नजिकैको एटीएमबाट पैसा निकालेर सामान किनेको पैसा बुझाए । केही ग्राहकले भुक्तानी गरेको [&hellip;]</p>

काठमाडौं । काठमाडौं घट्टेकुलोका दिपेन्द्र ओझाले सोमबार नजिकैको पसलबाट केही सामान किने । सामान खरिद गर्दा उनले क्यूआर कोडमार्फत भुक्तानी गर्न खोजे । तर, पसलेले क्यूआर कोडभन्दा नगद नै दिन आग्रह गरे ।

क्यूआर कोडमार्फत भएको भुक्तानी खातामा नै नआउने भनेपछि उनले नजिकैको एटीएमबाट पैसा निकालेर सामान किनेको पैसा बुझाए । केही ग्राहकले भुक्तानी गरेको रकम आए पनि अधिकांश रकम समयमै नआउने र कुनै त खातामा नै नआएको तितो भोगाइ ती व्यापारीसँग छ ।

यस्तै अनुभव कुशल बमको पनि छ । कुशलले पनि केही दिन अगाडि न्यूरोडको एउटा पसलबाट मोबाइल खरिद गरे । उनले क्यूआर कोडमार्फत नै मोबाइलको मूल्य तिरे । तर, मोबाइल बिक्रेता (व्यापारी)को मोबाइलमा पैसा आएको मेसेज गएन । कुशलको खातामा भने पैसा घटिसकेको थियो ।

कुशलको मोबाइलमा भने कारोबार सफल भएको मेसेज आयो । तर, व्यापारीको मोबाइलमा भुक्तानी भएको मेसेज नगएपछि कुशलले खरिद गरिसकेको मोबाइल व्यापारीले दिन मानेनन् ।

त्यसपछि कुशलले नजिकैको एटीएमबाट पैसा झिके र २५ हजार रुपैयाँ व्यापारीलाई थमाए । उनले २५ हजार रुपैयाँ खाताबाट घटेपछि आफ्नो खाता रहेको बैंकमा सम्पर्क गरे । बैंकले पैसा रिभर्सका लागि निवेदन लेख्न भन्यो । तर, निवेदन लेखेको करिब तीन हप्तापछि २५ हजार रुपैयाँ खातामा फिर्ता भयो ।

यी दुई उदाहरण त केही प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय क्यूआर कोडमार्फत हुने कारोबारमाथि विश्वसनियताको कमि देखिएको छ । व्यापारीले पनि क्यूआर कोडमार्फत् भुक्तानी लिन नमान्ने र ग्राहकलाई पनि सास्ती हुने भएपछि विभिन्न बैंक तथा वित्तीय संस्थाले वितरण गरेका क्यूआर कोडहरू पसल तथा विभिन्न संघसंस्थामा वेवारिसे बनेका छन् ।

अधिकांश पसल तथा संस्थाहरूले क्यूआर कोड देखाउने भाडो मात्रै बनेका छन् । क्यूआर कोडमाथिको विश्वसनियतामा भने कमी देखिएको छ ।

एउटा वाणिज्य बैंकका डिजिटल बैंकिङ प्रमुखले पनि क्यूआर कोडमा समस्या आइरहेको स्वीकार गरे । उनका अनुसार यस्ता गुनासाेहरू उनको बैंकमा पनि आउने गरेका छन् ।

क्यूआर कोडमार्फत् हुने कारोबारको विषयलाई लिएर बैंकहरूमा पनि गुनासो आउँछन्, हामीले त्यसको समाधानका लागि मर्चेन्टहरूसँग सहकार्य गरिरहेका हुन्छौं तर, पहिलेको तुलनामा अहिले गुनासो कम आउँछन्,’ उनले भने ।

उनका अनुसार क्यूआर काेड नयाँ प्रविधि भएकोले पनि केही चुनौतीहरू छन् । काम गर्दै सिक्दै र समस्याहरूलाई पहिचान गरेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

यस्तै, नेपाल बैंक पनि डिजिटल भुक्तानी तथा कारोबारको विषयमा विभिन्न गुनासो आइरहेको बताउँछ । नेपाल राष्ट्र बैंकका भुक्तानी विभागका प्रमुख गुरुप्रसाद न्यौपाने क्यूआरकै विषयभन्दा पनि डिजिटल कारोबारको विषयमा गुनासोहरु आउने गरेको बताउँछन् ।

‘डिजिटल कारोबारमा धेरै पूर्वाधार हुन्छ, यसमा एउटा संस्थाभन्दा पनि धरैको यसमा संलग्नता हुन्छ, त्यसैले पनि केही समस्या देखिन्छन् नै, हाम्रा लागि यो नयाँ अभ्यास हो, विस्तारै समस्या पहिचान गर्दै त्यसको समाधान गर्ने हो,’ उनले भने ।

उनले डिजिटल कारोबारको विषयमा राष्ट्र बैंकले नियमित निरिक्षण तथा नियमन गरिरहेको बताए । पछिल्लो समय कारोबारमा पनि वृद्धि भइरहेको उनको भनाइ छ ।

माघमा भुक्तानी गर्ने घटे

यसअघि निरन्तर बढिरहेको क्यूआर भुक्तानी माघ महिनामा भने घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार क्यूआर कोडमार्फत् हुने कारोबारमा निरन्तर वृद्धि भए पनि माघमा भने भुक्तानी संख्या घटेको हो ।

पछिल्लो सात महिनाको तथ्यांक अनुसार माघ महिनामा १७ लाख ८२ हजार ३६३ वटा भुक्तानी मार्फत ६ अर्ब ८९ करोड २० लाख रुपैयाँ कारोबार भएको छ ।

पुस महिनामा भने १९ लाख १८ हजार ५२६ वटा भुक्तानी भएको थियो । पुस महिनामा ६ अर्ब ५२ करोड ५० लाख रुपैयाँ कारोबार भएको थियो । मंसिर महिनामा १६ लाख ४९ हजार ३९७ वटा भुक्तानीमार्फत कुल ६ अर्ब २८ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो ।

Share News