क्षयरोग रोकथाममा सरकारको यो वर्ष ७२ करोड बजेट, ७५ प्रतिशत खर्च प्रविधि खरिदमा

<p>काठमाडौं । आज विश्व क्षयरोग दिवस । राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांक अनुसार हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी पत्ता लाग्ने गरेकामा आर्थिक वर्ष २०७७/७८ मा २८ हजार ६७७ जनाले मात्र उपचार गराएका छन् । नेपालमा ७५.४८ प्रतिशत क्षयरोगका बिरामी उपचार सम्पर्कबाट बाहिर रहेको पाइएको छ । नेपालमा क्षयरोग रोकथाम तथा उपचारको लागि वार्षिक ७२ करोड [&hellip;]</p>

काठमाडौं । आज विश्व क्षयरोग दिवस । राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांक अनुसार हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी पत्ता लाग्ने गरेकामा आर्थिक वर्ष २०७७/७८ मा २८ हजार ६७७ जनाले मात्र उपचार गराएका छन् ।

नेपालमा ७५.४८ प्रतिशत क्षयरोगका बिरामी उपचार सम्पर्कबाट बाहिर रहेको पाइएको छ । नेपालमा क्षयरोग रोकथाम तथा उपचारको लागि वार्षिक ७२ करोड छुट्याइएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको अनुसार त्यसमा ७५ प्रतिशत मेसिनहरु खरिद गर्नलाई खर्च हुन्छ भने बाँकी बिरामीको औषधी उपचारमा खर्च हुन्छ ।

यसको अर्थ वार्षिक ४० हजारभन्दा बढी क्षयरोगका बिरामीहरु उपचार पहुँचभन्दा बाहिर छन् ।आर्थिक वर्षमा २०७७/७८को तथ्यांक हेर्दा २८ हजार ६ सय ७७ बिरामी दर्ता भएका छन् । दर्ता भएका बिरामी मध्ये पुरुष ६७ प्रतिशत, महिला ३३ प्रतिशत र बालबालिकामा ७ प्रतिशत रहेका छन् ।

जनचेतनाको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाएर अझै धेरै बिरामी सम्पर्कमा नै नआएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुर बताउँछन् ।

सरकारले औषधि निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । सरकारले क्षयरोगको औषधी निशुल्क उपल्बध गराउँदै आएको छ । ६ महिनासम्म नछुटाई औषधी खाए सामान्यत यो रोग निको हुन्छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको अनुसार औषधि प्रतिरोधी क्षयरोगका बिरामी वार्षिक दुई हजार २०० रहेका छन् । यो सङ्ख्या जनसङ्ख्याको हिसाबले नेपालमा अत्यन्त धेरै हो । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएको ३० देशको सूचीमा राखेको छ ।

आव २०७७/७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ५६९ जनाको औषधि प्रतिरोधी क्षयरोग पहिचान गरिएको थियो । तीमध्ये ४१८ जना उपचारमा गराइरहेका छन् । केन्द्रका निर्देशक डा. ठाकुरले औषधि प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागी उपचारमा आएका बिरामीको सङ्ख्या हेर्दा एक हजार ६३१ जना बिरामीको रोग पत्ता लगाई उपचारमा ल्याउन चुनौती रहेको बताए ।

क्षयरोगबट नेपालमा बर्सेनि १६ हजार जनाको ज्यान जाने गरेको सर्वेक्षणले देखाएको छ ।

क्षयरोगका लक्षणहरु

– लगातार खोकी लाग्ने र खोकीमा रगत देखिने
– शरीरको वजन घट्दै जाने
– फोक्सोमा दुखाई महसुस हुने, छाती दुख्ने, ज्वरो आउने आदि

कस्तो व्यक्तिलाई लाग्छ क्षयरोग ?

– केटाकेटी, किशोर-किशोरी र वयस्क जोसुकै पनि क्षयरोग संक्रमणको सिकार बन्न सक्छन्
– रोगी सँग बारम्बार सम्पर्कमा आइरख्ने जस्तै चिकित्सक र रोगीको परिवार
– धेरै भिडभाड र रोग संक्रमित क्षेत्रका बासिन्दा
– मध्यपान र धुम्रपानको कुलतमा लागेका र बढी धुलोधुवाँमा काम गर्नेरबस्नेहरु
– एड्स संक्रमित रोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति

यसबाट बच्न के गर्ने ?

– धुम्रपान तथा मध्यपान नगर्ने
– बालबालिकाहरुलाई उचित समयमै बिसिजिको खोप लगाउने
– रोगका लक्षण देखिएमा जचाएर उपचार गर्ने र रोगको संक्रमण अरुमा फैलिन नदिने
– हाछ्युँ गर्दा र खोक्दा मुख छोप्ने

Share News