तल्लो अरूणको डीपीआर बुझायो एसजेभीएनले, लागत ७७ अर्ब अनुमान

काठमाडौं । तल्लो अरूण जलविद्युत आयोजना आगामी आर्थिक वर्षमा निर्माण सुरू हुने भएको छ । कुल ६ सय ६९ मेगावाट जलविद्युत उत्पादन क्षमताको सो आयोजना भारतीय कम्पनीले बनाउने गरी निर्माण कार्य अघि बढ्ने भएको हो । सो आयोजना सतलज विद्युत निगम (एसजेभीएन) ले निर्माण प्रक्रिया अगाडि बढाउनका लागि सम्झौता गरिसकेको लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले जानकारी दिए । यो भारतको केन्द्र सरकार र हिमाञ्चल प्रदेश सरकारको संयुक्त लगानी रहेको कम्पनी हो । बोर्डका सहप्रवक्ता अधिकारीका अनुसार केही दिन अगाडि मात्रै उक्त कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार पारी बोर्डलाई बुझाएको छ । कुल ६ सय ७९ मेगावाट जलविद्युत निर्माण हुने भए पनि यसको डीपीआरको रिपोर्ट अनुसार ६ सय ६९ मेगावाटमात्र जलविद्युत उत्पादन हुने उल्लेख छ । उक्त परियोजना प्रदेश–१ को संखुवासभा र भोजपुर जिल्लामा निर्माण हुनेछ । भौतिक संरचना भने संखुवासभाको बेतेनीमा बन्नेछ । अरुण नदीमा पत्ता लागेका केही महत्वपूर्ण आयोजनामध्ये तल्लो अरुण पनि एक हो । एसजेभीएन कम्पनीले निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजना पनि निर्माण गरिरहेको छ । सोही कम्पनीको लगानीमा नै तल्लो अरूण आयोजना निर्माण हुने भएको हो । तल्लो अरुण पनि अरुण तेस्रोकै मोडालिटीमा निर्माण हुने लगानी वोर्डका सहप्रवक्ता अधिकारीले जानकारी दिए । कम्पनीले बुझाएको डीपीआर अनुसार सो जलविद्युत् आयोजनाको अनुमानित लागत भारतीय रुपैयाँ ४८ अर्ब छ । यो भनेको करिब ७७ अर्ब रुपैयाँ हो । आयोजना निर्माणका लागि आवश्यक पुँजी संरचनाको विषयमा पनि छलफल चलिरहेको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तल्लो अरूण जलविद्युत आयोजनाको निर्माण आगामी आर्थिक वर्षबाटै सुरू गर्ने घोषणा गरेकी थिइन् । तल्लो अरुण आयोजना अरुण तेस्रोको विद्युत् गृहभन्दा तल पर्छ । अरुण तेस्रोको टेलरेसको तह तल्लो अरुणको बाँध स्थलभन्दा माथि पर्छ । संखुवासभाको चिचिला गाउँपालिका वडा नं २ र ३, सिलिचोङ गाउँपालिका वडा नं ४ र ५, खाँदबारी नगरपालिका वडा नं २, १० र ११ तथा भोजपुरको सालपासिलिछो गाउँपालिका–१ र षडानन्द नगरपालिकाको वडा नं १, ५ र ६ प्रभावित हुनेछ । पीडीए हुन बाँकी सो कम्पनीसँग परियोजना विकास सम्झौता (पीडीए) हुन बाँकी छ । कम्पनीले परियोजनाको डीपीआर तयार गरी मूयाङकनको क्रममा रहेको पनि अधिकारीले बताए । परियोजनाको काम अगाडि बढाउने बारेमा फाइनल भइसको छैन । ‘अब यस परियोजनाको पीडीए छिटै हुन्छ, त्यसपश्चात् ‘नेगोसेसन’मा गई पीडीए भएपछि २ वर्षभित्रमा वित्तीय व्यवस्थापन हुन्छ, १ वर्षभित्र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सकेर ७ वर्षभित्रमा परियोजनाको काम सकिन्छ,’ सहप्रवक्ता अधिकारीले भने ।

अग्लो पहाडमा भव्य रिसोर्ट, सभा सम्मेलनको प्रख्यात गन्तव्य

काठमाडौं । हरियाली र मनमोहक जंगल । चराचुरिङ्गीहरुको चिरविर–चिरविर आवाज । न कुनै कोलाहल नत मानिसहरुको चिच्याहट । फुस्फुस उड्दै आउने कुहिरोको शीतल स्पर्श । छिनमै पानी । छिनमै पारिलो घाम । यस्तै मौसममा मस्त देखिन्छन् चन्द्रागिरी घुम्न आएका पर्यटक । यही मौसम र विशेषताका कारण चन्द्रागिरी घुम्न आउने मानिसहरुको घुइँचो लाग्छ । चन्द्रागिरीबाट देखिने काठमाडौं उपत्यकाको मनोरम दृश्य । सगरमाथा, अन्नपूर्ण, लाङ्टाङ, गौरिशङ्कर र मनास्लु लगायतका हिमश्रृंखलामा देखिने सेताम्य हिउँ । चन्द्रागिरीबाट बिहानै देखिने सूर्योदय र साँझ अस्ताउँदै गरेको सूर्य हेर्दा मान्छेलाई लाग्दो हो, यो पो त स्वर्ग । काठमाडौंको धुलो धुवाँ, फोहोर, ट्राफिक जाम, कोलाहल, मानसिक तनाव र एकोहोरो काम लगायतले निराशा मान्छेहरु चन्द्रागिरी पुगेपछि अलग्गै संसारकाे अनुभूति गर्दछन् । सिँगो काठमाडौँ उपत्यकालाई चन्द्रागिरीको टुप्पोबाट नियाल्न पाउनु, चन्द्रागिरीको स्वच्छ हावा स्प्वनसँगै ‘पोज–पोज’का तस्वीरहरु खिचाउनु अनि चन्द्रागिरी हिमाल पुगेर भालेश्वर मन्दिरको पूजा गर्न पाउनु सायद मान्छेहरु यहाँ पुगेपछि आफूलाई भाग्यमानी ठान्छन् होला । कोही आफन्त र साथीभाइहरुसँग गफिँदैछन् । कोही तस्वीर खिचाउनमै व्यस्त छन् । कोही चन्द्रागिरी टाप्पुबाट रमणीय दृश्यावलोकनमा केन्द्रित छन् । काेही जेठकाे गर्मी छलेरे चन्द्रागिरीकाे चिसो सिरेटोमाथि रमाउँदै चिसो बियर चुस्किरहेका भेटिन्छन् । चन्द्रागिरीमा रिसोर्ट खुलेपछि त झन स्वदेशी र विदेशी पर्यटकको चहलपहल बढेको छ । विगतमा बिहान चन्द्रागिरी पुगेर साँझ घर फर्किने कयौं पर्यटकहरुको त्यहीँ बास बस्ने चाहना ‘चन्द्रागिरी हिल्स रिसोर्ट’ले पूरा गरेको छ । भारतको असामबाट काठमाडौं घुम्न आएको एक परिवार अघिल्लो साता चन्द्रागिरीमै भेटियो । दुई छोरा श्रीमान श्रीमतीसहित काठमाडौं घुम्न आएको उनको परिवारलाई असामकै एक जनाले चन्द्रागिरी पुग्न सुझाव दिएका रहेछन् । ‘मेरो साथी पनि पहिले यहीँ आएको रहेछ, उसैले भनेर म यहाँ (चन्द्रागिरी) आएँ, म यहाँ नआएको भए पश्चाताप हुुन्थ्यो होला, मलाई चन्द्रागिरी स्वर्ग जस्तै लाग्यो, काठमाडौंमा त्यस्तो कोलाहल छ, तर यहाँ आहा ! क्या शान्त’ पवन नाम गरेका भारतीय नागरिकले खुसी हुँदै भने । चन्द्रागिरी रिसोर्टले चन्द्रागिरीको महत्व झनै बढाएको छ । घना जंगलको बीचमा रहेको रिसोर्टमा बस्नुको अनुभति बेग्लै किसिमको छ । रिसोर्टका म्यानेजर सन्तोष कुवँर मानिसहरुको रिफ्रेस बन्ने गन्तब्य चन्द्रागिरी हिल्स रिसोर्ट बन्दै गएको बताउँछन् । ‘९० प्रतिशत नेपाली नै रिसोर्टमा आउनुहुन्छ, जति आउनुहुन्छ उहाँहरु चन्द्रागिरीको अत्याधिक प्रशंसा गर्नुहुन्छ, मलाई लाग्छ कि हामी यहाँ काम गर्नेहरु यहाँको वातावरणकै कारण पाँच वर्ष बढी बाँँच्छौं होला,’ उनले आफ्नो अनुभुति सुनाउँदै भने । चन्द्रागिरीमा हिउँ परेको बेला रिसोर्टमा थेगिनसक्नु मानिसकाे चाप हुन्छ । अहिले पनि रिसोर्ट भरिभराउ भएकाे उनले बताए । ‘यहाँ न साउण्ड पोलुसन छ, यो वातावरणमा काम गर्दा स्वर्गमा काम गरेको महसुस हुन्छ, ‘उनी थप्छन्,‘मान्छेले एक पटक रिफ्रेस गर्न चाहन्छु, तनावमुक्त हुन्छु भन्ने लाग्छ भने चन्द्रागिरी अति उत्तम गन्तव्य हो ।’ दिउसो मात्रै होइन चन्द्रागिरीबाट काठमाडौं उपत्यकाको रातिको दृश्य पनि साँच्चिकै सुन्दर लाग्छ । बत्तिले झलमल्ल काठमाडौं, सिरिरि.. हावा । वाऊ ! साँच्चिकै सुन्दर काठमाडौं देख्न मन छ भने एक पटक राति चन्द्रागिरी पुग्नै पर्छ । सुन्दर ठाउँसँगै चन्द्रागिरी रिसोर्टको आतिथ्यता पनि गज्जवको छ । चन्द्रागिरी हिल्स रिसोर्टमा काम गर्ने सबै नेपाली नै छन् । विदेशीसँगै नेपाली वास्तविक स्वाद चन्द्रागिरीमा भेटिन्छ । रेष्टुरेन्टका म्यानेजर प्रकाश शाहका अनुसार चन्द्रागिरी पुग्ने हरेकले रिसोर्टमा पाक्ने पिरो आलु असाध्यै मन पराउँछन् । ‘हुन त हामीले विदेशी र स्वदेशी परिकारहरु बनाउँछौं, सबैले सबै परिकार मन पराउनु हुनछ तर, पछिल्लो समय धेरैले पिरो आलु नै रोज्नु हुन्छ,’ उनी भन्छन्, ‘हाम्रो मेनु नै विशेष छ ।’ सभा सम्मेलनको गन्तव्य विगतमा काठमाडौं उपत्यकाबाट कतै टाढा कुनै कार्यक्रम गर्नु पर्यो भने मानिसहरुले नगरकोट, गोदावरी, धुलिखेल रोज्थे । कम्पनीको साधारणसभा, कुनै सभा सम्मेलन तथा विवाह नै किन नहोस् धेरैले रोज्नै भनेको यिनै दुई/तीन ठाउँ मात्रै हुन् । तर, अहिले अधिकांशको रोजाइ चन्द्रागिरी हिल्स रिसोर्ट बनेको छ । कुनै दिनमा त रिसोर्टमा कार्यक्रम आयोजनाका लागि ठाउँ नै हुँदैन । मारवाडीहरुको मात्रै होइन नेपालीहरुको विवाह गर्ने राम्रो गन्तव्य पनि चन्द्रागिरी नै बनेको छ । ‘हरेक दिनमा कुनै न कुनै सभा सम्मेलन तथा ठूलो कार्यक्रम भइरहेको हुन्छ, उहाँहरु यहाँ आएपछि अर्को कार्यक्रम पनि यतै गर्ने सुनाएर जानुहुन्छ, अरुलाई पनि चन्द्रागिरीमा कार्यक्रम गर्न सुझाव दिनु हुन्छ,’ जति आउनुहुन्छ सबैले रिसोर्टको प्रशंसा गरेर नै जानुहुन्छ,’ म्यानेजर कुँवरले भने । चन्द्रागिरी हिल्स रिसोर्टमा तीन वटा हलहरु छन् । हलहरुको नाम पनि नेपालको हिमश्रृङ्खलाको नामबाट राखिएको छ । सगरमाथा, गणेश, मनास्लु, शिवपुरी लगायतको नामबाट हलको नामाकरण गरिएको छ । रिसोर्टमा सफा सुग्घर पौडी खेल्न सक्ने सुविधा पनि छ । रिसोर्ट नजिकै जिपलाइन, चिल्ड्रेन पार्क लगायतका मनोरञ्जनात्मक खेलहरुले पनि चन्द्रागिरीको गरिमा बढाएको छ । त्यससँगै रिसोर्टमा हेलिप्याडको पनि सुविधा छ भने पर्यटकलाई ल्याउन र पुर्याउनका लागि केबलकारसम्म निःशुल्क दुई वटा हाइसको सुविधा छ । कति लाग्छ खर्च ? चन्द्रागिरी हिल्स रिसोर्टमा सय वटा कोठा छन् ।  रिसोर्टमा ६२ वटा डिलक्स, एक्जुकेटिभ ३० वटा, स्विट ६ वटा र २ वटा प्रेसिडेन्ट कोठाहरु छन् । म्यानेजर कुवँरका अनुसार न्यूनतम १२ हजारदेखि ३०/३५ हजार रूपैयाँ पर्छ । उनले एउटा प्रेसिडेन्ट रुमको नै एक रातको बसाइ शुल्क ३५ हजार रुपैयाँ पर्ने बताए । ‘रिसोर्टमा एक रात बस्न चाहने हो भने न्यूनतम १६ हजार खर्च हुन्छ, त्यसमा दुई जनाको डिनर र बिहान खाजा र दुई वटा केबलकारको टिकट पाइन्छ, तीन जना बस्न चाहेमा ४ हजार थप गर्नु पर्छ,’ उनले भने । हाल रिसोर्टमा दैनिक २ सय जना ग्राहक आउने गरेको र रिसोर्टका  कोठाहरु अधिकांश प्याक नै हुने उनले बताए । यस्तै, रेष्टुरेन्टका म्यानेजर शाहले अहिले दुईटा आउटलेट सुरु गरेर काम भइरहेको बताए । ‘हामीले २ सय जनालाई एकैचोटी सेवा दिन सक्ने अवस्था छ, हिमाल पहाड र तराईको खानलाई समेट्ने प्रयास गरेका छौं,’ उनले भने ।

सिमेन्ट बोकेर विद्युतीय बसको क्षमता परिक्षण, साझाले थप ४० वटा गाडी किन्ने

काठमाडौं । साझा यातायातले चीनबाट ल्याएको तीन थान विद्युतीय बसको सडक क्षमता परीक्षण सकिएको जनाएको छ । यातायात व्यवस्था विभाग र साझा यातायातका प्रतिनिधिले जेठ दोस्रो सातादेखि उक्त विद्युतीय बसको सडक क्षमता परीक्षण गरेका थिए । बसमा सिमेन्टका बोरादेखि मान्छे (यात्रु) राखेर सडक क्षमता परीक्षण गरिएको थियो । परीक्षणका क्रममा बसको क्षमतामा कुनै समस्या नदेखिएको जनाइएको छ । आवश्यक सम्पूर्ण परीक्षण सकिए पनि परीक्षण प्रतिवेदन सार्वजनिक नभएको साझा यातायात सञ्चालक समितिका सदस्य भुषण तुलाधरले जानकारी दिए । उनले एक दुई दिनमा परीक्षण प्रतिवेदन आएपछि बोर्ड बैठकले विद्युतीय बस सञ्चालनको विषयमा निर्णय गर्ने जानकारी दिए । ‘परीक्षण सकिएको छ, साझा र यातायात व्यवस्था विभागले संयुक्त रुपमा विद्युतीय गाडीको सडक क्षमता परीक्षण गरेको हो, परीक्षण रिपोर्ट सार्वजनिक भएपछि ती बस यहाँको सडकका लागि ठीक भएमा थप बस ल्याउँछौँ’, उनले भने । परीक्षण रिपोर्ट सार्वजनिक भएको चार महिनाभित्र बाँकी ४० थान बस ल्याउने साझाले जनाएको छ । समितिले दिएको प्रतिवेदनका आधारमा साझा यातायातको बोर्ड बैठक बसेर बस सञ्चालन गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ । बोर्ड बैठकले गरेको निर्णयका आधारमा बस कहिलेबाट सञ्चालन हुने टुंगो लाग्ने तुलाधर बताउँछन् । बोर्ड बैठकको निर्णयपछि चालकलाई तालिम बोर्ड बैंठकले चीनबाट ल्याईएको तीन थान विद्युतीय बसको विषयमा निर्णय गरेपछि मात्र बाँकी प्रक्रिया सुरु हुनेछ । तुलाधरले बोर्ड बैठकका आधारमा विद्युतीय बस सञ्चालनका लागि चालकलाई तालिन दिनेदेखि बाँकी कामहरु अघि बढाइने जानकारी दिए । संस्थाले २०७७ को असोज २२ गते चीनको सिएचटीसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार साझाले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्नका लागि पहिलो चरणमा ३ वटा विद्युतीय बस ल्याएर परीक्षण गरेको हो । उक्त परीक्षण सफल भएमा साझाले थप विद्युतीय बस नेपाल ल्याउनेछ । सो सम्झौतामा कम्पनीसँग बस र त्यसलाई आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख छ । सम्झौता अनुसार संस्थाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्टका लागि नेपाली ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ प्रदान गर्नेछ । संस्थाले गत चैतमा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र अनुसार नौ कम्पनीले बुझाएको बोलपत्रको मूल्याङ्कन गरेर सबै प्राविधिक ‘स्पेसिफिकेसन’ हरु मिलेको र कम मूल्य कबोल गरेको सो कम्पनीको प्रस्ताव स्वीकृत गरेको तुलाधरले बताए । २६ सिट क्षमताका बस अपाङ्गतामैत्री रहने छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्ने भनिएको छ । सार्वजनिक यातायातको विद्युतीकरणले एकातिर आयतित इन्धनको बढ्दो प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गर देशको अर्थतन्त्रलाई टेवा दिने दाबी गरिएको छ । अर्कोतिर वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुग्ने सञ्चालक समिति सदस्य तुलाधरले बताए । विगतदेखि नै सार्वजनिक यातायात सञ्चालनमा संस्थाले संघीय, प्रादेशिक र स्थानीय सरकारको सहकार्यमा काठमाडौँलगायत देशका अन्य सहरमा समेत सहकार्य गर्दै आएको थियो । आगामी दिनमा वातावारण मैत्री र प्रभावकारी सार्वजनिक यातायात सेवा विस्तारमा समेत तीन तहको सरकारसँग सहकार्य बढाउने योजना रहेको तुलाधरले बताए । संस्थाले ललितपुर महानगरपालिकासँगको सहकार्यमा थप चार विद्युतीय बस खरिद गर्ने प्रक्रियासमेत अगाडी बढाएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा चार्जिङ स्टेशनको व्यवस्था गर्ने र पुराना डिजेलका गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न आवश्यक अनुसन्धान गर्ने काम पनि अघि बढाइरहेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विसं २०७५ पुसमा विद्युतीय बस खरिदको निर्णय गरेको थियो । सरकारले विसं २०७६ असारमा बस खरिदको जिम्मेवारी साझालाई दिइने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस खरिदका लागि संस्थाको तीन अर्बको शेयर खरिद गरेको थियो । संस्थाले रकम पाएको महिनौँसम्म पनि खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन । पछि संस्थाले स्पेसिफिकेसनभन्दा फरक बस किन्न खोजेको पाइएको भन्दै रकम फिर्ता गरेको थियो । त्यसपछि पुनः बस खरिद गर्दा कुन प्रक्रियाबाट खरिद गर्ने भनी निर्णय हुन नसक्दा लामो समयसम्म बस खरिदमा अन्योल रहेको थियो । लामो छलफल पछि पुनः साझालाई नै खरिदको जिम्मेवारी दिइने निर्णय भएको थियो । तीन वर्ष पहिले नै वाग्मती सरकार, काठमाडौं र ललितपुर महानगरपालिकाले साझा यातायातमार्फत बस खरिद गर्ने गरी संस्थाको शेयर खरिद गरेका थिए ।