बैंकहरुले अब दुई प्रकारबाट ग्राहकको पहिचान गर्नुपर्ने, उच्च पदस्थ र परिवार विशेष निगरानीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले सामान्य व्यक्तिको ग्राहक पहिचान सम्बन्धी व्यवस्थामा केही सरलीकृत गरेको छ । सामान्य नागरिकलाई पनि बैंकिङ कारोबार गर्न विभिन्न प्रकारका अप्ठेरा प्रावधान राखेको भनेर आलोचना भइरहेको समयमा राष्ट्र बैंकले दुई प्रकारले ग्रहक पहिचान गर्ने गरी सामान्य नागरिकको हकमा केही खुकुलो व्यवस्था बनाइदिएको हो । राष्ट्र बैंकले सम्पत्ती शुद्धीकरण सम्बन्धी व्यवस्था संशोधन गर्दै उच्च पदस्थको लागि बृहत ग्राहक पहिचान र सामान्य व्यक्तिहरुको लागि सरलीकृत ग्राहक पहिचान गर्ने व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, धितोपत्र ब्रोकरहरु, मनी चेन्जर जस्ता संस्थाहरुले अबदेखि दुई प्रकारको ग्राहक पहिचान विवरण तयार पारेर राख्नुपर्ने भएको छ । एकीकृत परिपत्रको परिच्छेद १० मा बृहत ग्राहक पहिचान सम्बन्धी व्यवस्था छ । सो परिच्छेदमा सम्पत्ति शुद्धीकरण तथा आतंकबादी कार्यमा वित्तीय लगानी सम्बन्धी अपराधको उच्च जोखिम देखिएका मुलुक, क्षेत्र, उच्च जोखिमयुक्त सेवा लगायतका जोखिमयुक्त कारोबारहरु तथा उच्च पदस्त व्यक्तिहरु र त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा निजसँग सम्बद्ध ग्राहकका लागि बृहत ग्राहक पहिचान पद्धति लागू गर्नुपर्ने भनिएको छ । जोखिम बढी भएका ग्राहकको हकमा बृहत ग्राहक पहिचान पद्धति र जोखिम कम भएका ग्राहकको हकमा सरलीकृत ग्राहक पहिचान पद्धति लागू गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । पछिल्लो समय राजनीतिक नेतृत्व तथा उच्च तहका कर्मचारीहरु नै भ्रष्टाचारजन्य कसुरमा संलग्न रहेको चर्चा चलिरहेको समयमा राष्ट्र बैंकले यस्तो परिपत्र जारी गरेको हो । यस्तै, अहिले अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सम्बन्ध सुमधुर छैन । अर्थमन्त्री शर्माको प्रस्तावमा सरकारले केही समयअघि गभर्नर अधिकारीलाई पदबाट हटाउनको लागि छानवीन समिति बनाएको थियो । यद्यपि, सो समिति गैरकानुनी भएको भन्दै सर्वाेच्च अदालतले खारेज गरेपछि गभर्नर अधिकारीले पदीय जिम्मेवारी संहालिरहेका छन् । [pdf id=332915]
स्मार्टलाइसेन्स नविकरण भएन, यातायात कार्यालयको डाटा गायब
काठमाडौं । चन्द्रागिरी नगरपालिका निवासी सुदिप बास्कोटाले २०५३ सालमा सवारी साधनको अनुमतिपत्र (लाइसेन्स) लिएका हुन् । उनले लाइसेन्स लिएको २५ वर्ष पुरा भएको छ । अहिलेसम्म बास्कोटाले आफ्नो लाइसेन्स ४ पटकसम्म नविकरण गरिसकेका छन् । ०७३ सालमा लाइसेन्सको चौथोपटक नविकरण गरेसँगै बास्कोटासँग अहिले स्मार्ट लाइसेन्स रहेको छ । गत चैतको पहिलो हप्तामा उनको लाइसेन्सको म्याद सकिएको छ । सरकारको नीति अनुरुप बास्कोटाको लाइसेन्स यतिबेला ५ औं पटक नविकरण गर्नुपर्ने भएको छ । आगामी असार ६ गतेसम्म बास्कोटाको लाइसेन्स नविकरण भइसक्नुपर्छ । अन्यथा उनले जरिवाना तिरेर लाइसेन्स नविकरण गर्नुपर्ने हुन्छ । सोही कुरालाई मध्येनजर गरेर उनी यहि जेठ १९ गते यातायात व्यवस्था कार्यालय ललितपुर, एकान्तकुनामा आफ्नो लाइसेन्स नविकरणको लागि गएका थिए । विगतमा झैं यसपटक पनि आफ्नो लाइसेन्स नविकरणको लागि बास्कोटाले पैसा र आवश्यक कागजात बोकेर कार्यालय पुगेका थिए । उनले यातायात व्यवस्था विभागको कार्यालयमा लाइसेन्स नविकरणको लागि सँधै झै निवेदन बुझाए । तर विगतमा झैं यसपटक भने उनको लाइसेन्स नविकरण भएन । कार्यालयका कर्मचारीले बास्कोटाको लाइसेन्स खारेज हुने अवस्थामा रहेको भन्दै नविकरण हुन नसक्ने बताए । विकासन्युजलाई बास्कोटाले बताएअनुसार उनको लाइसेन्स ०६८ सालदेखि नै नविकरण नभएको रेकर्ड कार्यालयको सिस्टमले देखायो । बास्कोटाले ०६८ पछि ०७३ समेत नविकरण गरेर आफूले स्मार्ट लाइसेन्स लिइसकेको अवस्थामा यो कसरी भयो भन्ने प्रश्न कर्मचारीहरुलाई सोधे । ‘तपाईंको लाइसेन्स ०६८ सालदेखि नविकरण भएको देखिँदैन । १० वर्षसम्म नविकरण नगरेपछि लाइसेन्स खारेज हुने कानुनी व्यवस्था रहेको छ । यहि अवस्थामा तपाईंको लाइसेन्स नविकरण गर्न सकिँदैन् । यस्तो समस्या अरु धेरै मान्छेहरुको पनि आएको छ । यसको लागि मन्त्रालयमा कुरा हुँदैछ । तपाईं अहिले जानु, सरकारले छिट्टै यो विषयमा केही निर्णय गर्दैछ । १०/१५ दिनपछि आउनुस,’ कर्मचारीले बास्कोटालाई भनेका रहेछन् । त्यसपछि बास्कोटा आफ्नो निवेदन बोकेर घर फर्किए । अब उनको लाइसेन्स नविकरण हुने हो वा खारेज हुने हो त्यो उनलाई थाहा छैन । बास्कोटा अचम्ममा परेका छन कि उनको अन्तिम नविकरण भन्दा अगाडि नविकरण नभएको कसरी देखियो । बाँस्कोटाले २०६८ बैशाख १३ गते तेस्रो पटक लाइसेन्स नविकरण गरेको बताए । कर्मचारी भन्छन्–‘रेकर्डमा विवरण नभएपछि कसरी नविकरण गर्ने ?’ यातायात व्यवस्था विभागका कम्प्युटर इन्जिनियर सन्तोष पोख्रेलले विगत १५ दिन यता लाइसेन्स नविकरणको समस्या लिएर सेवाग्राही आउने गरेको सुनाए । त्यसरी आउने सेवाग्राहीले पछिल्लोपटक आफ्नो लाइसेन्स नविकरण गरेको कागजात ल्याएपनि त्यसभन्दा अगाडि नविकरण गर्दा विभागको प्रणालीमा विवरण अपडेट नभएको पोख्रेलले बताए । विगतमा कर्मचारीहरुको कारण नै नविकरणको विवरण अपडेटमा समस्या देखिएको भन्दै त्यस्ता लाइसेन्सको नविकरण नगरिएको पोख्रेलले बताए । ‘पहिला घर बसेर नविकरण गरेर लिएर जाने, फोटो पठाएर लिएर जाने, १०/१५ वर्षदेखि लाइसेन्स बोकेको छ, मेरो लाइसेन्स भ्यालिड हो भन्छ पब्लिकले । तर, हामीलाई त सिस्टममा रेकर्ड त चाहियो नि त । सिस्टममा रेकर्ड नभइकन कसरी भ्यालिड हो भन्न सकिन्छ,’ इन्जिनियर पोख्रेलले भने । कि व्यक्तिको कि त्यतिबेला काम गर्ने कर्मचारीको गल्ति भएको इन्जिनियर पोख्रेलको धारणा छ । आफ्नो विचारमा त्यस्तो प्रकारको लाइसेन्स नविकरण गर्न नहुने भन्दै सम्बन्धित मन्त्रालयले कसरी निर्णय गर्छ सो विषयमा आफुलाई थाहा नभएको उनले बताए । यातायात विभागका सूचना अधिकारी तथा सवारी शाखाका प्रमुख इश्वरी प्रसाद पनेरुले भने आफूलाई सो विषयमा जानकारी नभएको बताए । पछिल्लो समय विभिन्न सरकारी निकायका कर्मचारीले सेवाग्राहीसँग लिएको राजश्व आफ्नो खल्तीमा हालेको घट्नाहरु सार्वजनिक भैरहेको समयमा यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा पनि त्यस्तै भएको अनुमान धेरैले गरेका छन् । सेवाग्राहीसँग लिएका रकम कर्मचारीले खल्तीमा हाल्ने र उक्त रकमबारे सरकारले जानकारी नपाओस भनेर प्रशासन प्रणालीमा कागजपत्र नदेखाउने प्रवृति बढ्दै गएको छ । सुदिप बास्कोटाको जस्तो समस्या भविष्यमा अरु धेरै सेवाग्राहीले नभोग्नुपर्ला भन्न सकिदैन ।
सेयर बजारको समस्या मिलेर समाधान गरौं
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारका गुनासोहरुलाई आगामी मौद्रिक नीतिमा सम्बोधन गर्नुपर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले मौद्रिक नीतिमा आएका गुनासोलाई सम्बोधन गर्न आवश्यक रहेको बताएका हुन् । ‘मौद्रिक नीतिमा समावेश भएका गुनासोहरु यथोचित सम्बोधन गरेर पुँजीबजारको विकासमा सहजीकरण गर्नुपर्ने छ,’ उनले भने । बजार विकासको लागि नियमनकारी संस्थाहरुबीचको समन्वयनको खाँचो रहेको बताउँदै उनले सबै नियमनकारी संस्थाहरुलाई समन्वयन गरेर काम गर्न आग्रह गरेका छन् । उनले राष्ट्र बैंक, बीमा समिति र धितोपत्र बोर्डबीचको अन्तरसम्बन्ध समन्वयात्मक सहकार्य गर्नको आग्रह गरेका हुन् । पुँजीबजारमा नयाँ नेतृत्व आएपछि सकारात्मक प्रयासहरु भइरहेको र ती प्रयासमा थप तीव्रता दिन आवश्यक रहेको उनले बताए । हरेक नियमनकारी संस्थाहरुमा जवाफदेहीताको सहितको स्वायत्ता हुनुपर्ने छ । नेपाल सरकारअन्तर्गतका जुनसुकै नियमनकारी निकायका संस्थाहरुलाई जवाफदेहीताको सहितको स्वायत्ताको उपयोग गर्न अपिल गरेका छन् । धितोपत्र बजारको आजको समस्याको समाधान गर्नको लागि नेपालको पुँजीबजारललाई अन्तर्राष्ट्रिय प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता छ । त्यो आधुनिक प्रविधिको अभावमा नेपालको धितोपत्र बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा हेर्न सक्ने प्रयास गर्नुपर्छ । ‘म अर्थमन्त्रालय आएदेखि सबैभन्दा पहिला पुँजीबजार सुधार गर्ने विषय उठाएको थिएँ, र, समस्याहरुको पहिचान गर्न सचिवज्यूहरुसँगको व्यापक छलफल गरियो । र, पहिचान गरेर त्यसलाई नयाँ ढंगले अघि बढ्ने काम गरिएको छ’, उनले भने । बजारमा प्रविधिको आवश्यक रहेको छ, त्यसको लागि नियमनकारी संस्थाहरुलाई सहजीकरण गर्न अर्थमन्त्रालय तयार रहेको उनले बताए । भौतिक पूर्वाधारको विषयमा पनि अर्थमन्त्रालयले सहजीकरण गर्ने उनले बताए । सेयर बजारको समस्या समाधान गर्न बन्यो सुझाव समिति स्वचालित कारोबार प्रणालीलाई विश्वसनीय बनाई लगानीकर्तालाई सहज रुपमा कारोबार गर्ने वातावरण बनाउनु पर्ने बताउँदै उनले धितोपत्र बजारसम्बन्धी जनचेतनाका कार्यक्रम अपर्याप्त भएकोले लगानीकर्ताहरुले समस्या भोग्नुपरेको समेत बताए ।