काठमाडौं । ११ प्रतिशत व्याजदरमा निष्काशन गरेको नागरिक बचतपत्र बिक्री नभएपछि नेपाल राष्ट्र बैंक तनावमा परेको छ । राष्ट्र बैंकले ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँ बराबरको ‘नागरिक बचतपत्र २०८४’ जारी गरेको थियो ।
५ वर्ष अवधिको बचत पत्रमा ११ प्रतिशत व्याजदर तोकिएको छ र अर्धबार्षिक रुपमा व्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।
जेठ १२ गतेदेखि बिक्री खुला भएको उक्त बचत खरिदको लागि राष्ट्र बैंकले जेठ ३१ गते अन्तिम दिन तोकेको थियो । निर्धारित समयमा सबै बचतपत्रको माग नभएकोले असार १४ गतेसम्मको लागि समय थप गरिएकाे केन्द्रीय बैंकले जनाएकाे छ ।
बजारमा तरलत अभावको भएकोले राष्ट्र बैंकले निष्काशन गरेको नागरिक बचतपत्रको माग कम भएको हुन सक्ने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले बताए । ‘रकम पनि धेरै भयो, तरलताको चाप पनि धेरै छ । मुल कारण यही हो’ उनले भने ।
तरलताको अभाव देखेर नै राष्ट्र बैंकले उच्चतम व्याजदर प्रस्ताव गरेको उनले बताए । ‘११ प्रतिशत व्याज ताेकिएकाे छ, याे राष्ट्र बैंकले दिएको अहिलेसम्मको उच्चतम व्याजदर हो । तैपनि पूरा माग आएन’, उनले भने । तरलता संकटले राष्ट्र बैंक पनि चिन्तित रहेकाे उनकाे भनाइ छ ।
वाणिज्य बैंकहरुले १० दशलमलव ५ प्रतिशतभन्दा कम व्याजदरमा ऋणपत्र बिक्री गरिरहेको समयमा राष्ट्र बैंकले ११ प्रतिशत व्याजदरको नागरिक बचतपत्र बिक्री गर्न नसक्नुलाई उसको कमजाेर बिक्री प्रयास एवं बजारीकरणको रुपमा पनि हेरिएको छ ।
तर सहायक प्रबक्ता पोखरेलले बचतपत्रको प्रचार प्रसार राम्रो गरिएको दावी गरे । ‘यसलाई सरकारप्रतिको अविश्वास भन्न पनि मिल्दैन, बजारीकरण नभएको, सूचना प्रवाह नै कमजोर भएको भन्न पनि मिल्दैन’ उनले भने ।