काठमाडौं । मंगलबार नेपाल राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई बोलायो । बैंकका सीईओलाई पत्र काट्दै समसायिक विषयमा छलफल गर्ने उल्लेख गरेको थियो ।
राष्ट्र बैंकले आकस्मिक बैठक भनेपछि हतार—हतार गरेर सीईओहरु ३ बजेभित्रै र्याडिसन होटल पुगे । राष्ट्र बैंकका दुई डेपुटी गनर्भर निलम ढुङ्गाना तिमिल्सनास र बम बहादुर मिश्रसँगै राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल, गुणाकर भट्ट, रामु पौडेल, गुरु पौडेल लगायतको उपस्थितीमा र्याडिसनमा कार्यक्रम समयमै सुरु भयो ।
पत्रमार्फत् समसामयिक विषयमा छलफल भनेको राष्ट्र बैंकले पुनः के विषयमा बैंकलाई निर्देश्न दिने हो भन्ने उत्सुकतामा सीईओहरु थिए । किनकि राष्ट्र बैंकले आकस्मिक छलफल भनेर बोलाएपछि केही न केही निर्देशन दिएर सीईओहरुलाई पठाउँछ ।
तर, राष्ट्र बैंकले मंगलबार भने बैंकहरुका एक–एक गरेर गल्ति देखायो । सबै बैंकहरुले गरेको गलत अभ्यासहरु प्रस्तुत गर्दै राष्ट्र बैंकले ती गल्ति तत्काल सच्याउन भनेको छ ।
कार्यक्रमको सुरुमा मन्तव्य राख्दै नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पछिल्लो समय बैंकहरुले नीति निर्देशनको राम्रो पालना नगरेको धारणा राखे ।
‘अहिले प्रणाली केही टाइट छ, यतिबेला हामीले नाफाभन्दा पनि कसरी सस्टेन हुने, सर्वसाधारणलाई कसरी सहज सेवा दिने भन्ने विषयमा केन्द्रित हुनुपर्छ, तर, बैंकहरुले पछिल्लो समय गरेका अभ्यासहरु राम्रो भएनन््, डा.भट्टलाई उदृत गर्दै एक बैंकका सीईओले भने ।
ती सीईओका अनुसार मंगलबारको छलफल समग्र बैंकिङ क्षेत्रले अनुसरण गर्दै आएका अभ्यासहरुमै केन्द्रित थियो । बैंकहरुले कर्जामा गरेको मनोमानी, सेवा शुल्क, प्रिमियमदर, नाफामुखी लगायतका विषयमा चर्चा भएको थियो ।
छलफलमा डेपुटी गभर्नरहरु डा. निलम ढुङ्गाना र बमबहादुर मिश्र, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकालको धारणा पनि ऋण लगानीको दुरुपयोग भएकोमा नै केन्द्रित थियो ।
उनीहरुले बैंकहरुले मनलाग्दी किसिमले सेवा शुल्क र प्रिमियम लिएको बताएका थिए । यो अभ्यास नसच्याए तत्काल कारवाही गर्ने चेतावनी उनीहरुले सीईओलाई दिएका छन् । यस्तै, राष्ट्र बैंकले साउनदेखि नियमनमा कडाइ गर्ने चेतावनी पनि दिएको छ । राष्ट्र बैंकले डिनरसहित छलफलमा बाेलाएका सीईओहरू अहिले पनि र्याडिसनमै छन् ।