सेयरधितो कर्जामा ४ कराेडकाे नीति खारेज, अब १२ करोडको मात्रै सीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷०८० को मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितोमा ४ करोडको सीमा नीति खारेज गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एकल कर्जा सीमा खारेज गरेर १२ करोडको सीमा तोकेका हुन् । ‘सेयरधितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा रु.१२ करोड कायम गरिने व्यवस्था राष्ट्र बैंकले गरेको छ’ गभर्नर अधिकारीले भने । शेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइनेछ । तर शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार रु.२५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको गभर्नर अधिकारीले बताए ।
मर्ज सम्बन्धि निर्देशनमा लघुवित्तहरुको अवज्ञा, सबैसँग प्रष्टिकरण लिँदै राष्ट्र बैंक
काठमाडौं । गत १९ पौषमा नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ (दोहोरो लगानी) भएका ‘घ’ वर्गका लघुवित्तहरुलाई असार मसान्सम्म मर्ज सम्बन्धि कार्ययोजना पेश गर्न निर्देशन जारी गरेको थियो । तर राष्ट्र बैंकले जारी गरेको उक्त निर्देशन अहिले वेवारिसे भएको छ । ‘इजाजतप्राप्त क, ख र ग बर्गका एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी सेयर स्वामित्व भएका संस्थाहरुबीच एक आपसमा वा इजाजतपत्र प्राप्त एक भन्दा बढी क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न–गाभिन वा प्राप्तिमा जान असार मसान्तसम्म राष्ट्र बैंक समक्ष कार्ययोजना पेश गर्नुपर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा लेखिएको छ । लघुवित्तको संख्या घटाउनको लागि राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको थियो । तर कुनै पनि लघुवित्तले कार्ययोजना पेश नगरेका राष्ट्र बैंक स्रोतले बतायो । राष्ट्र बैंकले जारी गरेको निर्देशन अफ्ठ्यारो भएपछि उक्त विषय कार्यान्वयनमा नआएको लघुवित्तका सीईओहरु बताउँछन् । राष्ट्र बैंकले जारी गरेको उक्त निर्देशन लागू नहुने भन्दै लघुवित्तका सीईओहरुले विरोध गरेका थिए । नभन्दै अहिले आएर दोहोरो लगानी भएका लघुवित्त मर्जर गराउने राष्ट्र बैंकको प्रयास असफल भएको छ । राष्ट्र बैंकले ल्याएको क्रस होल्डिङ व्यवस्था भनेजस्तो सजिलो र व्यवहारिक नभएको लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सीईओ समेत रहेका नेपाल लघुवित्त बैंङ्कर्स संघ (एनएमबीए) का अध्यक्ष प्रकाशराज शर्माले बताए । उनले भने, ‘एउटा बैक तथा वित्त कम्पनीले दुई वटा मात्रै लघुवित्तमा लगानी गरेको भए मर्जर गर्न सम्भव हुने थियो, तर एउटै कम्पनीको ३ वटाभन्दा बढीमा लगानी छ भने मर्जर हुन गाह्रो छ ।’ दोहोरो लगानी नभएका लघुवित्त मर्जर गर्न त असम्भव भएका बेलामा तेहोरो लगानी भएका लघुवित्त मर्जर गर्न गाह्रो हुने उनले बताए । कुनै पनि लघुवित्तले आफ्नो कार्ययोजना पेश गरेको जानकारी एनएमबीएलाई नभएको अध्यक्ष शर्माले बताए । ‘राष्ट्र बैंकले कुनै पनि जानकारी दिएको छैन । यस विषयमा कुनै पत्राचार र सुझाव नै मागेको छैन् ।’ विजय लघुवित्तका सीईओ तथा एनएमबीएका पूर्व अध्यक्ष बसन्त लम्सालले राष्ट्र बैंकले निर्देशन जारी गरेपनि कार्यान्वयनमा नआएको बताए । ‘लघुवित्तहरुलाई कार्ययोजना पेस गर्न भनेको थियो तर कसैले पेश गरेका छैनन् । यो अफ्ठ्यारो र असहज देखिएको छ । यो निर्णय कार्यान्वयन भएन । राष्ट्र बैंकले यसलाई सहज रुपमा लिएको भएपनि गाह्रो विषय हो ।’ राष्ट्र बैंकले निर्देशन जारी गरेपश्चात् कुनै पत्राचार गर्ने वा सूचना पठाउने काम नगरेको सीईओ लम्सालले बताए । राष्ट्र बैंकले कुन बैंक तथा वित्त कम्पनीको कुन लघुवित्तमा कति प्रतिशत लगानी रहेको छ भनी अध्ययन गर्ने बताएको थियो । तर राष्ट्र बैंकले अध्ययन पनि गरेको छैन । राष्ट्र बैंकले अब सबै लघुवित्तहरुलाई लघुवित्तहरुलाई कार्ययोजना पेश गर्न अब ताकेता गर्ने भएको छ । ‘कार्ययोजना पेस गर्न असार मसान्तसम्मको समय दिएका थियौं । किन पेश गर्नुभएन ? भनेर अब पत्र काट्छौ’–स्रोतले भन्यो ।
कहिले खुल्छ हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार ?
काठमाडौं । पछिल्लो समय दोश्रो बजारमा अधिकांश कम्पनीको सेयर कारोबार रोक्का भइरहेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले मर्जर तथा एक्विजिशनको प्रकृयामा गएका दुई दर्जन बढी कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । जसमध्ये अधिकांश बीमा कम्पनीहरु रहेका छन् । १० वटा निर्जीवन र ८ वटा जीवन बीमा गरी कूल १८ वटा कम्पनीको सेयर कारोबार रोक्का भइरहेको छ । यी सबै कम्पनीले मर्जरमा जानको लागि प्रकृया शुरु गरेसँगै दोश्रो बजारमा कारोबार नभएको हो । जसमध्ये दुई हुन् हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी । यी दुई कम्पनीको गत बैशाख २३ गतेदेखि सेयर कारोबार रोक्का छ । बैशाख २२ गते दुई इन्स्योरेन्सबीच एक आपसमा मर्जरमा जान प्रारम्भिक सहमति भएसँगै नेप्सेले भोलिपल्टदेखि सेयर कारोबार रोकिदिएको हो । हाल दुबै कम्पनीबीचको मर्जर प्रकृया सम्पन्न भइसकेको छ । र, साउन १ गतेदेखि नै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरु भएको छ । सामान्यतः मर्जर तथा एक्विजिसनमा गएका कम्पनीबीच एकीकृत कारोबार शुरु भएपछि दोश्रो बजारमा रोक्का भएको सेयर कारोबार फुकुवा गराउने व्यवस्था छ । हिमालयन एभरेष्टको नामबाट एकीकृत कारोबार शुरु भएको करिब एक साता हुन लागेको छ । वित्तीय कारोबार शुरु भएपनि कम्पनीको सेयर कारोबार भने अझै खुला भएको छैन । यससँगै सेयरधनीले यी कम्पनीको सेयर खरिद बिक्री गर्न पाएका छैनन् । अर्थात यी कम्पनीका सेयरधनीको सम्पत्ति विगत २ महिनाअघिदेखि बन्धक भएको छ । यद्पि एकीकृत कारोबार भएपछि सेयर कारोबार छिट्टै खुल्ने आशमा लगानीकर्ताहरु रहेका छन् । तर कम्पनीको सेयर कारोबार खुल्न अझै कम्तिमा एक दुई साता लाग्ने हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रवक्ता धुव्र न्यौपानेले बताए । ‘कम्पनीको सेयर कारोबार खुलाउनको लागि हामीले प्रकृया शुरु गरिसकेका छौं, अझै दुई हप्ता लाग्ला’ उनले विकासन्युजसँग भने । उनका अनुसार दोश्रो बजारमा सेयर कारोबार खुलाउन इन्स्योरेन्सले दुईदिन अघि नै नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । अब बोर्डबाट स्वीकृत भएपछि नेप्से र सीडीएस एण्ड क्लियरिङमा पठाइने उपमहाप्रबन्धक समेत रहेका न्यौपानेले बताए । ‘कानुनी प्रकृया लामो हुने भएकाले समय लाग्ने भएको हो, अब धितोपत्र बोर्डले जति छिटो दियो त्यति छिटो कारोबार खुल्छ,’ उनले थपे । यता धितोपत्र बोर्डले पनि कम्पनीलाई स्वीकृति दिन केहि दिन लाग्ने बताएको छ । बोर्डका प्रवक्ता रुपेश केशीले इन्स्योरेन्सको पत्र पाइसकेको बताउँदै स्वीकृत दिन थप केहि दिन लाग्ने बताएका हुन् । ‘कम्पनीहरुको निर्णयहरु लगायत विभिन्न फाइलहरु दर्ता गर्नुपर्छ, त्यसको लागि थप एक दुई दिन अझै लाग्छ,’ उनले भने । यस्तो केशमा समान्यतयाः नेप्सेले पनि कम्पनीहरुको निवेदन पाएको भोलिपल्टदेखि सेयर कारोबार खुलाउने गरेको छ । नेप्सेका अनुसार कम्पनीहरुले दिएको निवेदन तथा विवरणहरु मापदण्ड अनुसारकै हुनुपर्ने हुन्छ । यदि मापदण्ड विपरितको विवरण भएमा सेयर कारोबार फुकुवा हुने समय थप केही दिनको लागि लम्बिने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको मर्जर बीमा क्षेत्रमै ऐतिहासिक अर्थात पहिलो मर्जर हो । दुई इन्स्योरेन्स मर्जर पश्चात बीमा क्षेत्रकै एउटा सबल र विश्वसनीय कम्पनीको रुपमा स्थापित हुने कम्पनीको दावी छ । कम्पनीका अनुसार यो मर्जरले कम्पनीको पुँजी वृद्धि हुने र जोखिम बहन क्षमता अभिवृद्धि हुनुको साथै लगानी समेत अभिवृद्धि हुनेछ ।