काठमाडौं । बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज हुँदै गएकाले आगामी १० देखि १५ दिनभित्र उपभोक्ताले फुल सिलिन्डर (पूरा तौल भएको) ग्यास पाउने भएका छन् ।
आपूर्ति व्यवस्था पूर्ण रूपमा नियमित भएपछि मात्रै फुल सिलिन्डर ग्यास वितरण गरिने नेपाल आयल निगमले जनाएको छ । अहिले दैनिक ८० देखि ८५ बुलेट ग्यास नेपाल भित्रिरहेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए ।
बजारमा फुल सिलिन्डर ग्यास पठाउन दैनिक कम्तीमा १०० बुलेट आवश्यक पर्ने उनको भनाइ छ । प्रवक्ता ठाकुरका अनुसार यसका लागि इन्डियन आयल कर्पोरेसनसँग निरन्तर समन्वय भइरहेको छ ।
इन्डियन आयल कर्पोरेसन आफैले पनि आफ्नो कुल मागको ६० प्रतिशत ग्यास मध्यपूर्वी (मिडिल इस्ट) देशहरूबाट आयात गर्ने गर्दछ ।
हाल आपूर्ति प्रणाली सुचारु भइसकेकाले अबको दुई हप्ताभित्र बजारमा पूरा तौलकै सिलिन्डर उपलब्ध गराउन सकिने अपेक्षा निगमले गरेको छ ।
निगमका अनुसार हाल देशभर ग्यासको कुल खपत वार्षिक ३५ हजार देखि ३६ हजार मेट्रिक टनको हाराहारीमा रहेको छ ।
विगतमा आधा सिलिन्डर मात्रै वितरण गरिएको र उपभोक्ताहरूले पनि सुरुवाती चरणमा ग्यास सञ्चित (थुपारेर) राखेका कारण पछिल्लो समय बजारमा ग्यासको खपत केही घटेको देखिएको प्रवक्ताले स्पष्ट पारे ।
कुल खपत हुने ग्यासमध्ये झण्डै ५० देखि ६० प्रतिशत ग्यास काठमाडौं उपत्यकामा मात्रै खपत हुने गरेको छ ।
यस्तै, मध्यपूर्वमा उत्पन्न युद्धका कारण प्रभावित भएको ऊर्जा आपूर्ति क्रमशः सहज बन्दै गएपछि भारतले पेट्रोलियम ग्यास (एलपीजी) मा लगाइएको प्रतिबन्ध हटाएको छ ।
हर्मुज जलघाँटी पुनः सञ्चालनमा आएपछि ऊर्जा आपूर्ति सुधारिएको भन्दै भारत सरकारले सङ्कटकालीन नियन्त्रणहरू अन्त्य गरेको एएफपीले जनाएको छ ।
भारतको पेट्रोलियम मन्त्रालयले बिहीबार राति जारी गरेको विज्ञप्तिमा गैर-घरेलु प्याक गरिएको एलपीजीमाथिको प्रतिबन्ध हटाइएको र पश्चिम एसियामा सङ्कट सुरु हुनुअघिकै स्तरमा आपूर्ति पुनःस्थापित गरिएको जनाएको छ ।
मन्त्रालयका अनुसार सङ्कटको सुरुआतमा रोकिएको बल्क एलपीजी आपूर्तिलाई पनि पूर्ववत् उपभोगको ५० प्रतिशतसम्म पुनः सञ्चालन गरिएको छ ।
विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको भारत एलपीजीको दोस्रो ठूलो आयातकर्ता हो । भारतमा प्रयोग हुने अधिकांश एलपीजी मध्यपूर्वी मुलुकहरूबाट आयात हुने भएकाले क्षेत्रीय द्वन्द्वले ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पारेको थियो ।
विश्वको करिब पाँचौं भाग तेल तथा ग्यास ढुवानी हुने हर्मुज जलघाँटी अमेरिका–इरान युद्ध सुरु भएपछि फेब्रुअरीको अन्त्यदेखि प्रभावित बनेको थियो ।
इरान र अमेरिकाबीच रणनीतिक जलमार्ग पुनः सञ्चालन गर्ने सहमति भएपछि हर्मुज हुँदै हुने ऊर्जा ढुवानीमा सुधार आएको छ । त्यसपछि भारतले आपूर्ति व्यवस्थालाई क्रमशः सामान्य अवस्थामा फर्काउन थालेको हो ।