
काठमाडौं । गत १९ पौषमा नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ (दोहोरो लगानी) भएका ‘घ’ वर्गका लघुवित्तहरुलाई असार मसान्सम्म मर्ज सम्बन्धि कार्ययोजना पेश गर्न निर्देशन जारी गरेको थियो । तर राष्ट्र बैंकले जारी गरेको उक्त निर्देशन अहिले वेवारिसे भएको छ ।
‘इजाजतप्राप्त क, ख र ग बर्गका एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी सेयर स्वामित्व भएका संस्थाहरुबीच एक आपसमा वा इजाजतपत्र प्राप्त एक भन्दा बढी क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न–गाभिन वा प्राप्तिमा जान असार मसान्तसम्म राष्ट्र बैंक समक्ष कार्ययोजना पेश गर्नुपर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा लेखिएको छ ।
लघुवित्तको संख्या घटाउनको लागि राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको थियो । तर कुनै पनि लघुवित्तले कार्ययोजना पेश नगरेका राष्ट्र बैंक स्रोतले बतायो ।
राष्ट्र बैंकले जारी गरेको निर्देशन अफ्ठ्यारो भएपछि उक्त विषय कार्यान्वयनमा नआएको लघुवित्तका सीईओहरु बताउँछन् । राष्ट्र बैंकले जारी गरेको उक्त निर्देशन लागू नहुने भन्दै लघुवित्तका सीईओहरुले विरोध गरेका थिए । नभन्दै अहिले आएर दोहोरो लगानी भएका लघुवित्त मर्जर गराउने राष्ट्र बैंकको प्रयास असफल भएको छ ।
राष्ट्र बैंकले ल्याएको क्रस होल्डिङ व्यवस्था भनेजस्तो सजिलो र व्यवहारिक नभएको लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सीईओ समेत रहेका नेपाल लघुवित्त बैंङ्कर्स संघ (एनएमबीए) का अध्यक्ष प्रकाशराज शर्माले बताए । उनले भने, ‘एउटा बैक तथा वित्त कम्पनीले दुई वटा मात्रै लघुवित्तमा लगानी गरेको भए मर्जर गर्न सम्भव हुने थियो, तर एउटै कम्पनीको ३ वटाभन्दा बढीमा लगानी छ भने मर्जर हुन गाह्रो छ ।’
दोहोरो लगानी नभएका लघुवित्त मर्जर गर्न त असम्भव भएका बेलामा तेहोरो लगानी भएका लघुवित्त मर्जर गर्न गाह्रो हुने उनले बताए ।
कुनै पनि लघुवित्तले आफ्नो कार्ययोजना पेश गरेको जानकारी एनएमबीएलाई नभएको अध्यक्ष शर्माले बताए । ‘राष्ट्र बैंकले कुनै पनि जानकारी दिएको छैन । यस विषयमा कुनै पत्राचार र सुझाव नै मागेको छैन् ।’
विजय लघुवित्तका सीईओ तथा एनएमबीएका पूर्व अध्यक्ष बसन्त लम्सालले राष्ट्र बैंकले निर्देशन जारी गरेपनि कार्यान्वयनमा नआएको बताए । ‘लघुवित्तहरुलाई कार्ययोजना पेस गर्न भनेको थियो तर कसैले पेश गरेका छैनन् । यो अफ्ठ्यारो र असहज देखिएको छ । यो निर्णय कार्यान्वयन भएन । राष्ट्र बैंकले यसलाई सहज रुपमा लिएको भएपनि गाह्रो विषय हो ।’
राष्ट्र बैंकले निर्देशन जारी गरेपश्चात् कुनै पत्राचार गर्ने वा सूचना पठाउने काम नगरेको सीईओ लम्सालले बताए । राष्ट्र बैंकले कुन बैंक तथा वित्त कम्पनीको कुन लघुवित्तमा कति प्रतिशत लगानी रहेको छ भनी अध्ययन गर्ने बताएको थियो । तर राष्ट्र बैंकले अध्ययन पनि गरेको छैन ।
राष्ट्र बैंकले अब सबै लघुवित्तहरुलाई लघुवित्तहरुलाई कार्ययोजना पेश गर्न अब ताकेता गर्ने भएको छ । ‘कार्ययोजना पेस गर्न असार मसान्तसम्मको समय दिएका थियौं । किन पेश गर्नुभएन ? भनेर अब पत्र काट्छौ’–स्रोतले भन्यो ।