राष्ट्र बैंकले ऐन विपरित काम गर्यो, पैसाको भ्यालू बुझेन : रमण नेपालसँगको कुराकानी
नागरिक लगानी कोष (सीआईटी) का कार्यकारी निर्देशक हुन् रमण नेपाल । लक्ष्मी बैंकका अध्यक्ष समेत रहेका नेपाललाई नेपाल सरकारले २०७५ कात्तिकमा सीआईटीको कार्यकारी निर्देशकमा नियुक्त गर्यो । अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा एमफिल पनि गरेका छन् । उनी नेपाल राष्ट्र बैंकको अवकाश प्राप्त कर्मचारी पनि हुन् । उनै नेपाल अहिले नेपाल राष्ट्र बैंकको नीतिप्रति असन्तुष्ट बनेका छन् । नेपाल राष्ट्र बैंकले सर्वसाधारण र संस्थागत निक्षेपकर्ताको ब्याजदरमा २ प्रतिशत बिन्दुको फरक गरेपछि उनी राष्ट्र बैंकको नीतिप्रति असन्तुष्ट बनेका हुन् । कार्यकारी निर्देशक नेपालसँग सीआईटीको बिजनेस, हालसम्म गरेको लगानी र राष्ट्र बैंकले ब्याजदरमा गरेको नयाँ व्यवस्थाको विषयमा विकासन्युजका सन्तोष रोकाया र सीआर भण्डारीले कुराकानी गरेका छन् । गत आर्थिक वर्षमा नागरिक लगानी कोषको बिजनेस कस्तो रह्यो ? हाम्रो नियमित प्रगतिमा कुनै पनि कमि आएन । हामीले विगतका वर्षहरु जुन लेबलमा काम गरी रहेका थियौं । सोही तरिका बाट कामहरु पनि भए । काम गरे अनुसारको प्रगति पनि भयो । विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ले केही असर भने पुर्यायो । तथापि, नागरिक लगानी कोषको समग्र बिजनेस राम्रै भएको छ । हामीले आर्थिक वर्ष २०७७/७८ को आम्दानीबाट ३१.५७ प्रतिशत लाभांश दिएका छौं । आर्थिक बर्ष २०७८÷७९ को असार मसान्त सम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब १७ अर्ब ३२ करोड २२ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा हामीले १ खर्ब ९४ अर्ब ९२ करोड लगानी गरेका छौं । बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव भएको भन्दै ब्याजदर पनि परिवर्तन गरिरहेका छन्,यसले तपाईंहरुलाई के कस्तो प्रभाव पर्छ ? हामीले अन्य क्षेत्रभन्दा पनि बैंकको निक्षेप, सेयर र डिभेन्चरमा लगानी गरेको हुनाले पोर्टफोलियोमा सामान्य असर पर्छ । तर, त्यति धेरै असर गर्दैन । हामीले अहिले १.३० प्रतिशतको स्प्रेडमा काम गरेका छौं । गत वर्ष १.२९ प्रतिसत स्प्रेडमा काम गरेका थियौं । सोही तथ्याङ्कलाई हेर्दा हामीले थोरै स्प्रेडमा काम गरिरहेका हुन्छौं । त्यही भएर हामी धेरै नाफाको आशा गर्दैनौं । हाम्रा सहभागीलाई दिने प्रतिफल र हामीले पाउने नाफाको बिचमा त्यति धेरै अन्तर नभएको हामीले धेरै नाफा आर्जन गर्दैनौं । हाम्रो ट्रष्टी मोडल हो । जुन ट्रष्टीमा नाफा भयो त्यही ट्रष्टीको सहभागीले प्रतिफल पाउने हो । हामीले त्यहाँबाट सञ्चालन खर्च मात्र लिने हो । त्यसैले, हाम्रो आम्दानीमा त्यति धेरै असर गर्ने कुरा भएन । नेपाल राष्ट्र बैैंकले संस्थागत निक्षेपकर्ताको ब्याजदर घटाएको छ, यसले संस्थागत निक्षेपकर्ताको ब्याज आम्दानी त घट्ने भयो नी ? यसले हामीलाई धेरै प्रभाव पार्ने देखियो । बैंकहरुको मुद्धति निक्षेपमा हाम्रो धेरै ठूलो लगानी छ । राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने बेलामा यो विषय उल्लेख गरेको थिएन । तर, पछि एकिकृत निर्देशनमार्फत् यो विषय आयो । कहाँबाट उहाँहरुले यो विषयलाई समेट्नु भयो ? अथवा कसको सिफारिसमा गर्नु भयो ? त्यो चाहि मलाइ थाहा भएन । राष्ट्र बैंकले नीति ल्याउँदा कुनै पनि सिद्धान्तमा आधारित भएर ल्याउनु पर्छ ।अर्थशास्त्रमा कुनै पनि सिद्धान्तले पैसाको भ्यालुलाई दुई किसिमले तय तथा निर्धारण गर्दैन । एउटै देशमा २ किसिमको करेन्सी नीति पनि हुँदैन । यहाँ त नागरिक लगानी कोषसँग भएको पैसाको एउटा मूल्यांकन र व्यक्तिको खातामा भएको पैसाको अर्कै मुल्यांकन गरियो । पैसाको अलग–अलग भ्यालू हुनु हुँदैन । पैसाको क्वालिटी पनि हुँदैन । क्वालिटी छुट्याउन सक्ने वस्तु भइदिएको भए भ्यालू फरक पर्न सक्छ । जस्तै, मोबाइलहरु भए पनि यो ब्रान्डको मूल्य यति भन्ने हुन्न सक्छ । मुद्राको मूल्य भनेको विश्वव्यापी रुपमा एउटै हुन्छ । एक ठाउँमा भएको पैसाको मूल्य एउटा र अर्कै ठाउँको पैसाको भ्यालू अर्कै भन्ने कुनै पनि देशमा हुँदैन । राष्ट्र बैंकको यो नीति न्यायोचित छैैन । यस्तो भेदभाव हुनु हुँदैन । पैसाको भ्यालु एउटै हुन्छ भन्ने कुरा बुझ्न सकेन । नागरिक लगानी कोष, कर्मचारी संचय कोष र सामाजीक सुरक्षा कोष नै अहिले संस्थागत निक्षेपकर्ताका रुपमा छन् । यी संस्थालाई यस्तो नीति ल्याउनु भनेको तल्लो तहका कर्मचारी तथा मजदुरहरुको गास खोस्नु हो । राष्ट्र बैंकको उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुहोस् भन्ने चाहना होला । हामीले त्यसमा पनि लगानी गरिरहेका छौं । तर, हामी बैंक जस्तो लगानी गर्न सक्दैनौं । राष्ट्र बैंकको व्याजदर निर्धारणको निर्णय न्यायोचित छैन । बैंक तथा वित्तीय संस्था ऐनमा कुनै बैंक तथा वित्तीय संस्थामा समस्या आयो भने पहिला सर्वसाधारणको निक्षेप फिर्ता गर्नु पर्ने व्यवस्था छ । त्यसपछि मात्र संथागत निक्षेपकर्ताको निक्षेप फिर्ता हुन्छ । जसको पहिला फिर्ता हुन्छ उसको कम र जसको पछि फिर्ता हुन्छ उसलाई बढी जोखिम देखिन्छ । जोखिम जसले बढी बहन गर्छ, उसको मुनाफा र ब्याजदर पनि बढी हुनु पर्ने हो । तर, यहाँ त्यस्तो छैन । ऐनले एउटा भन्छ, राष्ट्र बैंकले अर्कै काम गर्छ । यो बैंक तथा वित्तीय संस्था ऐन विपरितको व्यवस्था हो । यस्तो गर्नु ठीक होइन । गास काटेर रकम जम्मा गरेका बचतकर्ताको एउटा र सर्वसाधारणको ब्याजदर अर्कै हुनु राम्रो होइन । हामी उदारवादी अर्थतन्त्र अपनाउने हो भने ब्याजदरमा कार्टेलिङ गर्ने, यस्तो गर, उस्तो गर भन्नु राम्रो होइन । माग र आपुर्तिको आधारमा ब्याजदर तय हुनु पर्छ । राष्ट्र बैंकले हामीलाई अन्याय गरेको छ । यो विषयमा सम्बन्धित निकायसँग केही कुरा गर्नु भयो ? हामीले यस विषयमा अर्थ सचिवसँग पनि कुरा गरेका छौं । तर, राष्ट्र बैंकमा कुरा गरेका छैनौं । यो राष्ट्र बैंक आफैले बुझ्नु पर्ने कुरा हो । हामीले उसलाई पत्राचार गर्ने कुरा पनि भएन । राष्ट्र बैंकको यो नीतिले लगानी कोष मात्रै नभएर धेरै वटा संस्था मर्कामा परेका छन् । तर, संस्थागत निक्षेपकर्ताको आवाज नसुनिने रहेछ भन्ने मलाई महसुस भयो । अर्थ सचिवले पनि यस विषयमा बुझछ, कुरा गर्छु भन्नु भएको छ । राष्ट्र बैंकको यो व्यवस्थाले नागरिक लगानी कोषको कति जति आम्दानी गुम्छ ? व्याजदर महिनैपिच्छे परिवर्तन हुन्छ । कतिपय निजि क्षेत्रका संस्थागत निक्षेपहरुकर्ताहरुले नेगोसियसनमा बढी ब्याजदरमा पनि लगानी गरिरहेका छन् । समस्या पर्ने भनेको हामी जस्तो नियम पालना गरेर बस्ने सस्थाहरुलाई मात्रै हो । अहिले नारिग लगानी कोषले निक्षेपमै १ खर्ब ३ अर्ब रुपैयाँको हाराहारीमा लगानी गरेको छ । अब १०.०३ प्रतिशत ब्याजदरबाट दुई प्रतिशतको बिन्दुले ब्याजदर घटेपछि धेरै घाटा हुन्छ । अहिले बैंकिङ बजारमा तरलताको समस्याको मौका पारेर तपाईंहरु संस्थागत निक्षेपकर्ताहरु विभिन्न बैंकमा गएर ब्याजदरको विषयमा बार्गेनिङ गरिरहेको विषय पनि सुनिन्छ, तपाईंहरु जस्तो संस्थाले यस्तो खालको अनफेयर अभ्यास काम गर्न मिल्छ ? यो विषय कि बैंकलाई थाहा होला कि जाने संस्थालाई थाहा होला । नागरिक लगानी कोष यस्तो काम गर्दैन । हाम्रो लगानीको नीति हुन्छ । सोही नीतिभित्र बसेर हामीले कोटेशन अनुसार जसले बढी ब्याज दिन्छन् सोही बैंकमा राख्ने हो । बैंकहरुको पनि आ–आफ्नै नियम छ बुझ्न गाह्रो छ । ब्याजदर पनि दैनिक फरक–फरक गर्छन् । मैले कुनै पनि बैंकका कर्मचारी अथवा सीईओ नागरिक लगानी कोषमा आउनु पर्दैन भनेको छु । गलत अभ्यास हामीले गरेका छैनौं । अवकाशमा आधारित कोषहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गरेनन्, बैंकमा पैसा जम्मा गरेर ब्याज मात्रै खाए भन्ने गुनासो पनि सुनिन्छ, यसप्रति तपाईंहरुको ध्यान किन नगएको ? उत्पादनमुलक कस्तो क्षेत्रलाई भन्ने ? हामीले त्यस्ता सेक्टरमा प्रत्यक्ष लगानी गर्ने होइन । हाम्रो जस्तो संस्थाले थोक कर्जा लगानी गर्ने हो । किनभने हामी कर्जाको नियमित मनिटरिङ गर्न सक्दैनौं । मनि मप्लाई रेगुलर बढ्यो भने फेरि अर्को समस्या उत्पन्न हुन्छ । हामीले प्रत्यक्ष रुपमा कर्जा लगानी गर्यौं वा कुनै क्षेत्रमा लगानी गर्यौं भने कर्जाको भोलुम बढेर अर्थतन्त्रमा फेरि अर्को समस्या पनि आउन सक्छ, अर्थात् अर्थतन्त्रमा स्थीरता नआउन सक्ने सम्भावना पनि रहन सक्छ । हामीले राष्ट्र बैंकले दिएका नितीहरुलाई पनि बिचार गर्नु पर्ने हुन्छ । हामीले प्रत्यक्ष लगानी गर्नु हुँदैन । हामीसँग बैंक तथा वित्तीय सस्था जस्तो लगानी गर्ने कर्जा दिने प्रवधान पनि छैन । हामीले कर्जा दिँदा हाम्रो मनिटरिङ त्यो लेबलको पुग्दैन । तर, हामीले कोषमा सहभागीहरुलाई घर बनाउन र जग्गा किन्नसम्म स–सानो कर्जा दिन मिल्छ । नागरिक लगानी कोषको प्रत्यक्ष लगानी कुन–कुन परियोजनामा छ ? हामीले अपरतामाकोसीमा लगानी गरेका छौं । वाइड बढीमा पनि हाम्रो लगानी छ । हामीसँग सहभागी हुनका लागि पनि अनिवार्य नभएर ऐच्छिक हो । अहिले वाइडवडीको पैसा पनि आउन थालेको छ । कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरु, पूर्वाधार विकास तथा उत्पादनमुलक क्षेत्रहरु, सहभागीहलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटीहरु एवं पुँजीबजारका विकास गरी लगान गरिरहेका छौं । हामी सहभागीहरुको प्रतिफल बढाउने प्रयास पनि गरिरहेका छौं । लगानीको विविधीकरण गर्दे उत्पादनशील क्षेत्रमा लगानी गर्ने प्रयास पनि हामी गरिरहेका छौं । कोषमा सहभागी भएका व्यक्तिलाई सरल ब्याजदरमा सरल कर्जा, सहभागी सापटी तथा आवास कर्जा, शैक्षिक कर्जालगायतका समयकालीन कर्जा प्रवाह गरिरहेको छ । भविष्यमा सरकारका ठूला विकास आयोजना, पूर्वाधारको क्षेत्र, विद्युत् प्राधिकरणले निर्माण गर्ने ठूला परियोजनामा लगानी गर्न मनसाय पनि हामीले बनाएका छौं । हामी कम जोखिमयुक्त र सुरक्षित क्षेत्र छनोट गरिरहेका छौं । पछिल्लो समय नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबीच बचतकर्ता तान्नका लागि अस्वस्थ प्रतिस्पर्धा भएको पनि सुनिन्छ नी ? त्यस्तो खालको अस्वस्थ प्रतिस्पर्धा गर्नु पर्ने कारण नागरिक लगानी कोषलाई छैन । हाम्रो सबै कार्यक्रमहरु स्वेच्छिक छन् । हामीसँग यो–यो सुविधा छ भनेर वेवसाइटमा राखेका छौं । बाहिर–बाहिर त्यस्तो छ भने सबै कुराको ठेक्का पनि लिन सकिँदैन । अवकाश कोषहरुबीच मर्जरको आवाज पनि कहिलेकाहीँ उठ्छ, तपाईंहरुलाई मर्जर आवश्यक लाग्छ कि लाग्दैन ? मर्जरको विषय हाम्रो हातमा छैन । यो सरकारले गर्ने निर्णय हो । कर्मचारी सञ्चय कोषमा सरकारको शतप्रतिशत स्वामित्व छ । नागरिक लगानी कोषमा प्रतयक्ष अप्रत्यक्ष गरेर ६५ प्रतिशत छ । हामी कहाँ सर्वसाधारण सेयरधनी पनि छन् । बैंक तथा वित्तीय संस्थाको पनि छ । सामाजिक सुरक्षा कोष पनि फरक उद्धेश्यका साथ स्थापना भएको संस्था हो । त्यो गैरनाफामुलक संस्था हो । हामीले सर्भिस र प्रतिफलमा पनि ध्यान दिनु पर्छ । सरकारले गर्न खोज्यो भने त हुन्छ नै तर मेरो व्यक्तिगत विचारमा मर्जर गर्नु हुन्न भन्ने हो । यि तिनै संस्थाहरुबीच मोडालिटी नै मिल्दैन । तपाईंहरुलाई अभिभावक (नियामक) चाहिन्छ भन्ने महसुस हुँदैन ? हाम्रो नियामक अर्थमन्त्रालय छदैछनी । तर, सरकारले चाह्यो भने त्यो पनि सम्भव छ । यसअघि पनि यस विषयमा चर्चा नभएको होइन । तर, अहिलेसम्म खासै प्रगति भएको छैन ।
गोल्ड मेडलिस्ट अनु : खेलकुदसँगै बैंकिङमा पनि जम्दै
काठमाडौं । ‘मैले लगाएको जर्सी नम्बर ४ हो, त्यसैले मैले ४ गोल मात्रै गरेँ, बढी नम्बरको जर्सी लगाएको भएर बढी नै गोल गर्थेँ,’ खेल सकिएपछि ४ नम्बर जर्सी लगाएकी खेलाडीले ठट्टा गर्दै पत्रकारसँग भनिन् । शुक्रबार विकासन्युजले हरितालिका तीजको अवसरमा आयोजना गरेको बैंकर्स र बीमकबीच गरेको मैत्रीपूर्ण फुटसल खेल अवधिभर चर्चाको विषय बनिन् जर्सी नम्बर ४ अर्थात् अनु अधिकारी । हिमालयन बैंकको रेमिट्यान्स विभागमा कार्यरत अनुले शुक्रबारको फुटसल प्रतियोगितामामै सर्वाधिक चार गोल गरेर २५ हजार रुपैयाँ पुरस्कार हात पारिन् । काठमाडौंको लैनचौरस्थित हरियो र सुन्दर खेल मैदान । घर्कदो दिन, नजिकिदो साँझको समय । न घाम न पानी । खुल्ला आकाश । त्यही सुन्दर मैदानमा बैंकर्स र बीमकबीच घमसान फुटसल भइरहेको थियो । अनुको खुट्टामा बल पर्ने वित्तिकै दर्शक दीर्घाबाट हुटिङ भैहाल्थ्यो । रातो रङ्ग भएको जर्सी बैंकर्स र निलो रङ्ग भएको जर्सी बीमकको थियो । जर्सी नम्बर १ देखि १४ नम्बरसम्मका खेलाडी खेल मैदानमा रातो र नीलो गरी उत्रिएका थिए । शुक्रबारका दिन लैनचौरको मैदानमा बैंकर्स महिला र बीमक महिलाबीच मैत्रीपूर्ण फुटसल खेलमा पहिलो गोल ४ नम्बर जर्सीले गरिन् । त्यसपछि सबैको नजर रातो रङ्गको जर्सी नम्बर ४ लेखिएको खेलाडीमा थियो । दोस्रो गोल भने रातो रङ्गमा १४ नम्बर लेखिएकी सिभिल बैंककी समिक्षा खड्काले गरिन् । ४० मिनेटसम्म भएको मैत्रीपूर्ण खेलमा बीमक विरुद्ध बैंकर्सले ५–० को अग्रता कायम गर्याे । ५ गोल भएकोमा ४ वटा गोल ४ नम्बर लेखिएको हिमालयन बैंककी अनु अधिकारीले गरिन् । खेल शुरु भएको ५ मिनेटको समयमा नै उनले पहिलो गोल गरेकी थिइन् । त्यसपछि पहिलो गोल गरेको ८ मिनेटमा दोस्रो गोल गरेकी अनुले पहिलो हाफ अर्थात् २० मिनेटमा ३ वटा गोल गरिन् । उनले खेल सकिनु एक मिनेट अघि मात्रै चौंथो गोल गरिन् । त्यो गोल उनका लागि सम्झन लायक बन्यो । किनभने अन्तिम गोल बाँया खुट्टाले गरेकी थिइन् । दायाँ खुट्टाले ३ वटा गोल गरेकी अनुले अन्तिम समयमा बाँया खुट्टाले गोल गर्दा स्मरण भइरहेको बताउँछिन् । ‘अहिले पनि स्मरणमा छ, अन्तिम पटकको गोल हान्दा रमाइलो लागिरहेको छ, मेरो दायाँ खुट्टा बढी चल्छ, रेफ्रिले समय सकियो भन्दै थियो गोल गर्दा बायाँले हाने, अन्तिम १ मिनेट बाँकी हुँदा चौथौं गोल गरेकी हुँ, आफूलाई पनि खत्रा नै हाने जस्तो लाग्यो,’ उनले भनिन् । पहिलो हाफमा उनको खुट्टा अनुसारको पोस्ट परेको थियो । २० मिनेटको समय सकिएर पोस्ट परिवर्तन भएपछि भने गोल हान्नलाई गाह्रो भएको उनले बताइन् । तैपनि दोस्रो हाफमा एक गोल हानेर आफ्नो भागमा ४ गोल पुर्याइन् । फुटसल अवधिभर जर्सी नम्बर १० र जर्सी नम्बर ७ का कारण गोल गर्न सहज भएको उनको भनाइ छ । ‘उहाँहरुले मिक्सिङमा खेल्नु भयो, पास राम्रो गर्नुभयो, फुटबलमा एक्लै खेल्ने भन्ने हुँदैन, टीममा खेल्ने हो, त्यसैले टीमको सहायता लिएर गोल गर्न सफल भए,’ अनुले भनिन् । खेल मैदानमा उनी कयौं पटक लडिन् । उनी खेलमैदानमा लडेपनि साहस झन् थपिदै गएको थियो । खेलको मध्यतिर गोल पोस्ट नजिकै बल लगेर जाँदा विपक्षिले छेक्न खोज्दा उनी लडिन् । उनको खुट्टामा चोट लाग्यो तर उनी तुरुन्तै उठेर शारीरिक पीडा भन्दा पनि गोल गर्ने लक्ष पुरा गर्न तर्फ लम्किरहिन् । खेल सुरु हुनुभन्दा अघि सबै जना खेलाडी अभ्यास गरिरहेका थिए । खेलाडी अनु अधिकारी भने शारीरिक व्यायाम गरिरहेकी थिइन् । उनको यो दृश्यले खासै फुटबलमा चासो नरहेको भन्ने देखाउँथ्यो । शारीरिक अभ्यासले फुटबल खेलाडी भन्दा पनि अन्य खेलाडी रहेको उनको अभ्यासले बताइरहेको थियो । पेशाले बैंकर र खेलाडी दुवै हुन् । २ वर्षदेखि उनी हिमालयन बैंकमा काम गर्दै आइरहेकी उनी १३ औंसाउथ एशियन गेम (साग) को ‘गोल्ड मेडलिस्ट’ हुन् । यसअघि बङ्गलादेशमा भएको ११ औं सागमा ‘सिल्भर मेडलिस्ट’ बनेकी थिईन् । २ पटक राष्ट्रिय खेल खेलिसकेकी उनी १६ वर्षदेखि कराँतेमा सक्रिय छिन् । २०१३ मा जापानमा भएको वल्र्ड च्याम्पियनसिप खेलिसकेकी उनले त्यो बेला भने मेडल जित्न सकिनन् । थर्ड प्लेसको लागि खेलेकी उनले २ वटा फाइट जितेकी थिइन् । तर मेडल भने हात पार्न सकिनन् । १२ वर्षदेखि कराँतेको राष्ट्रिय टीममा राष्ट्रिय खेलाडीका रुपमा सक्रिय छिन् । ३–४ वर्षदेखि कोरोना महामारीका कारण निस्क्रिय जस्तै बनिन् । तैपनि उनले खेल्न भने छाडेकी छैनन् । कराँतेमा हुँदा कहिलेकाँही फुटबल खेल्ने गरेको उनको अनुभव छ । लामो समयपछि खेल्दा रमाईलो लागेको उनले बताइन् । ‘धेरै समयपछि सबैसँग भेटघाट भएर खेल्दा रमाइलो भयो, छोटो समयमा टीम पनि सेट भयो,’ उनले भनिन् । लैनचौरको मैदानमा पाइला टेक्नुभन्दा अघि एक खेलाडीले अर्काे खेलाडीलाई चिनेका पनि थिएनन् । यहि कारणले सबै खेलाडीको मनमा एक किसिमको चिसोपना महसुस भएको थियो । उनीहरुले छोटो समयमा नै टीम भित्र समन्वय गरेर आफ्नो टीमलाई बलियो बनाए । खेल खेल्दा उनीहरु यसअघि पनि टीम बनाएर खेलेको जस्तो देखिन्थ्यो । ‘एकदिनमा यति धेरै खेल्न सक्छन् भने सधैं अभ्यास गर्ने हो भने राम्रो खेल्न सकिन्छ, यो अवसर मिलाएकोमा विकासन्युजलाई धन्यवाद छ,’ बैंकर्स अधिकारीले भनिन्, ‘राष्ट्रिय खेलमा पनि जित्नेलाई यति धेरै पुरस्कार हुँदैन, यो एउटा सुरुवात हो, २५ हजार धेरै हो, यो सरकारलाई पनि घोच्ने टाइपको छ ।’ उक्त पुरस्कार राशी एलएलजी इन्स्योरेन्सले उपलब्ध गराएको थियो । यसअघि कुनै पनि फुटसल वा फुटबल प्रतियोगीमा सहभागी नभएपनि फुटबलमा रुची भएको बैंकर्स अधिकारी बताउँछिन् । ‘म कराँतेको खेलाडी भएको हुनाले पनि गोल गर्न सहज भएको हो, कराँतेमा हुँदा समूहमा कहिलेकाँही फुटबल खेल्थे, मलाई फुटबल राम्रो लाग्छ,’ उनले भनिन् । शंकरदेव क्याम्पसबाट एमबिएस गरेकी अनुले बैंकिङ्ग पेशा अंगाले पनि कराँते भने छोडेकी छैनन् । बैंकले कराँतेको अभ्यास गर्न समय दिने गरेको उनको भनाई छ । ‘खेलाडीका लागि सबैभन्दा ठूलो गोल्ड मेडल हो, गोल्ड मेडल पाइसकेँ, अहिले ट्रेनिङ गरिरहेकी हुन्छु, कराँतेको अभ्यासका लागि बैंकले पनि सहज वातावरण बनाएको छ, बिहान केही समय ढिला आएपनि बैंकले समय दिएको छ, अहिले पनि कराँतेमा सक्रिय नै छुँ,’ उनले भनिन् । बैंकिङ्ग क्षेत्रका लागि शैक्षिक योग्यता पनि रहेकाले बैंकमा जागिर गरेको उनले बताइन् । बैंकमा काम गर्ने इच्छा भएकाले फाइनान्स पढेको उनको भनाइ छ । नवविवाहित भएपनि घरपरिवारबाट सबै सहयोग रहेको उनले बताइन् । समय मिलेसम्म अझै पनि कराँते खेल्ने रहर उनीमा छ । विकासन्युजले महिलाहरुको विशेष पर्व हरितालिका तीजका अवसरमा भदौ १० गते बैंक भर्सेस बीमा मैत्रीपूर्ण फुटसल आयोजना गरेको थियो । विभिन्न वाणिज्य बैंकमा कार्यरत १४ जना महिला र विभिन्न बीमा कम्पनीमा कार्यरत १४ जना गरी २८ जनाले सहभागीता जनाएका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना प्रमुख अथितिको रुपमा उपस्थित भएकी थिईन् । प्रतियोगीतामा भाग लिएका खेलाडीसँग थुप्रै प्रतिभा रहेको बैंकर्स अधिकारी बुझाइ छ । बैंक तथा बीमा क्षेत्रमा यस्ता गतिविधि कम हुने गरेकाले अवसरका लागि आभार प्रकट गरिन् ।
सेयर बजारमा निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब बढी लगानी, कसले कति बढाए ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीले एक वर्षमा २ अर्ब ६२ करोड रुपैयाँ सूचीकृत कम्पनीको साधारण सेयरमा लगानी गरेका छन् । बीमा समितिका अनुसार २० वटा कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ मा सो मात्राको लगानी गरेका हुन् । जुन अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा औषतमा ८.८१ प्रतिशतले बढी हो । कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेका थिए । १९ कम्पनीमध्ये १२ कम्पनीले सेयर लगानी बढाएका छन् भने ५ कम्पनीले सेयर लगानी घटाएका छन् । त्यस्तै, बाँकी रहेका तीन कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनीको स्थिर छ भने अन्य दुईको शून्य लगानी छ । सेयर लगानी बढाउने कम्पनीमध्ये हिमालयन जनरल इन्स्योरेन्स बढी आक्रामक देखिएको छ । इन्स्योरेन्सले अघिल्लो वर्षको तुलनामा गत वर्षमा ४३४.१४ प्रतिशतले सेयरमा लगानी बढाएको हो । अघिल्लो आवमा २ करोड ८८ लाख रुपैयाँ बराबरको लगानी गरेको कम्पनीले गत आवमा १५ करोड ४२ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । त्यस्तै, रकमको आधारमा सबैभन्दा बढी लगानी गर्नेमा राष्ट्रिय बीमा कम्पनी देखिएको छ । कम्पनीले अघिल्लो वर्षझै गत वर्षमा पनि बराबर अर्थात ८५ करोड ९५ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । त्यस्तै, अघिल्लो वर्ष शून्य लगानी गरेको एभरेष्ट इन्स्योरेन्सले गत आवमा ६ करोड २६ लाख रुपैयाँ बराबरको लगानी सूचीकृत कम्पनीको सेयरमा गरेको छ । सूचीकृत कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । सोहि अनुरुप नै कम्पनीहरुले दोश्रो बजारमा लगानी गर्दै आएका छन् । कसले बढाए ? कसले घटाए ?